गेथाती

समर्पण

याङो श्रो मगर
५ आश्विन २०८०, शुक्रबार

मालीको बगैँचा हुन्छ

कैची कोदालो चलाउँछ तर फूल उसको हुँदैन

किनकि उसको जागिर हुन्छ

मालिकको जमीन हुन्छ

हकवाला रवाफ देखाउँछ तर फूल उसको हुँदैन

किनकि उसको लालपुर्जा हुन्छ

व्यापारीको फूलैफूलको कारोबार हुन्छ

नाफा नोक्सानको हिसाब केलाउँछ तर फूल उसको हुँदैन

किनकि व्यापारीको पसल हुन्छ

पुतलीको बगैँचा हुँदैन

जमीन हुँदैन

पुतलीको कारोबार हुँदैन र पनि सारा फूल उसकै हुन्छ

किनकि पुतलीको फूलबाहेक अरु केही हुँदैन ।

०००