गेथाती

हत्यारा बाबा


२० मंसिर २०८०, बुधबार

खाडीमा
झाडीमा
गाडीमा यत्रतत्र सर्वत्र
मन डुलाउँदै सपना केलाउँदै
जिन्दगी गुजार्ने
केश फुलाउने सुनगाभा
आजका प्यारा बाबा
सिरानी श्रीमती मानी
अंकमालमा आफ्नै ठानी
भावनामा सपनामा
सानिमायाको गीत गुनगुनाउँदै
फेरि त्यही सपनामै
सिँगाने सन्तानलाई
बुँई चढाउँदै
हट घोडा .. हट .. भन्दै
चारपाउ टेकी अँध्यारोमा बर्बराउँदै
‘बाबा भो, घोडा ए हावा उडा’ गाउँदै
खुशीले लम्किँदा
निधार भित्तामा ठोक्किँदा
झस्किँदै व्युझन्छन्
र फेरि त्यही सपना खोज्न
ओल्टिँदै पल्टिँदै कोल्टिँदै गर्दा
सिरीरी …… आवाज सङ्गै
फत्रक्क गलेको ज्यान
आशाले सकी नसकी फक्राउँछ्न्
प्यारा पागल ! बाबा !!

किनकि
कहरका कर मात्र होइन
रगतका रहरका नाना चाचा फेर्नु छ ।

प्यारा बाबाका
यस्तै दिनचर्यामा
कहिले खबर आउँछ
कुर्दाकुर्दै चौरीले
निराशामा चौरीखर्क सारिन् रे
गुँड छोडेर चरीले
बचेरालाई माया मारिन् रे ।

उफ् ! स्वप्निल बाबा !
सपनाहरू पोल्दापोल्दै
जिन्दगी जलाएका स्वप्न हत्यारा बा !
घरतिर नानाचाचाका पोका मात्र होइन
प्लाष्टिकको खटियामा आफैलाई पठाउँछ्न् ।

नुनविनाको झोल
फलविनाको खोलझैँ
वेस्वादिला खाली खाली
प्यारा बाबाहरू घर फर्किँदा
आँगनीमा एक्लो सन्तान
घर न घातको भई
बाबाको बाटो
पछ्याउँदै जाने तयारी देख्दा,
वर्षौंअधिको आफू
त्यही अनुहारबाट घिज्याउँछ ।

बिदाइ गर्ने आमाबाको
मालावाला फोटो फ्रेममा
आफ्नो स्वरूप चिच्याउँछ !!

डराएका हराएका
निर्स्याला बाबा
बगैंचा पुलुक्क हेर्दा
झस्किँदै आँखा मिचीमिची हेर्दा
ढकमक्क जवानीमा छोडेकी सयपत्री
पहेलिँदै गएछ जवानी उतरी
अनि कच्याककुचुक पारेछ समयले निचोरी
हिजो, आज र भोलिको पुस्ता
उही चक्रमा
पुनरावृत्ति भएको देख्दा
गौरवपूर्ण बहादुर इतिहासको बिल्ला
लिलाम जिन्दगीको बलिदानको किल्ला
गर्ल्याम-गुर्लुम भत्किन्छ्न्
गर्ल्याम-गुर्लुम भत्किन्छ्न् ।
०००