गेथाती

मुक्तक लेखन परम्पराको क्रमभङ्ग

डी. बी. टुहुरो
२१ मंसिर २०८०, बिहीबार

लाग्छ– जिन्दगी मोबाइलको घण्टीजस्तै चलेको छ । मोबाइलको घण्टी सधैँ बजिरहँदैन, जिन्दगी पनि सधैँ गतिशील हुँदैन । पल–पलमा बज्ने मोबाइलको घण्टीले जिन्दगीको अवरुद्ध गतिलाई झङ्कृत गराइरहन्छ । यस्तै झङ्कृत गराउने घण्टी मेरो मोबाइलको स्क्रीनले बतायो कि कुनै अञ्जान नम्बर थियो । थाहा पाएसम्म कुनै पनि कल मिस नगर्ने मेरो बानी नै हो । मैले कल रिसिभ गरेँ – “हेलो ।” आवाज आयो– “नमस्कार सर । म एल.बी. मगर, सिउरीबाट ।”
जसरी मोबाइलको स्क्रीनमा देखिएको नम्बर अञ्जान थियो, त्यसरी नै त्यो आवाज र नाम पनि मेरो लागि अञ्जान नै थियो । नाम अञ्जान भए पनि फोन गर्नुको उद्देश्य थाहा पाएपछि मलाई निकै तरङ्गित बनायो । कुनै समयमा वर्षमा २/३ दर्जन साहित्यिक पुस्तकहरू प्रकाशन हुने रोल्पा जिल्ला पछिल्लो समय सुनसान प्रायः भएको महसुस भइरहँदा मुक्तकसङ्ग्रह प्रकाशन गर्ने प्रसङ्गले म उत्साहित भएँ । कुराकानीकै दौरानमा लिबाङमा भेट हुने ठेगान रह्यो । अनुहार नयाँ थियो मेरो लागि । टाइप गरेको सङ्ग्रह पेनड्राइभमार्फत् मलाई प्राप्त भएको हो । सङ्ग्रहलाई छिट्टै प्रकाशन गर्ने र त्यसको लागि भाषा सम्पादन तथा सङ्ग्रहका बारेमा केही लेखिदिने लेखकको अनुरोध थियो ।
तिहार सकिएलगतै केही लेखिदिने सोच्दासोच्दै केहीछिन त्यसै बिते । बेफुर्सदीको लाममा बल्लतल्ल सङग्रहलाई हेर्ने अवसर मिल्यो । तर युनिककोडमा भएकाले प्रिटी फन्टमा बदल्न केही समय लाग्यो । केही लेखौ भन्ने सोचमै थिएँ । तर भारतले सीमा मिचेको कुराले देशै आन्दोलित भइरहेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण भएको विषयलाई लिएर हिमाल, पहाड, तराईले राष्ट्रिय स्वाभिमानको आवाज बुलन्द बनाइरहेको बेलामा लेख्नु त के पो लेख्नु ? यस्तै दोधार मनस्थितिमा केही दिन त्यसै त्यसै बिते । केही न केही त लेख्नु नै थियो मलाई । धेरै ढिलाउनु स्रष्टाप्रतिको अन्याय हो भन्ने लाग्यो । त्यसैले केही शब्दहरू कुद्ने प्रयन्न गरेको हुँ ।
निरन्तर सीमा अतिक्रमण हुनु हाम्रो राष्ट्रियता खतरा हुनु हो । एकातिर बेला बेलामा हाम्रो राष्ट्रियतामाथि बलात्कार गरिन्छ तर हामी सहेर बसिरहेका छौँ । त्यसो त बलियाका अगाडि कमजोर चुप लाग्नु कुनै अनौठो कुरो होइन तर अन्यायको पनि हद हुन्छ । कति सहने ? कति चुप लागेर बस्ने ? हामी राष्ट्रियता र स्वाभिमानको कुरा त गछौँ, तर सबै चिजमा छिमेकीकै आशा गर्नुपर्छ । हाम्रो आफ्नो उत्पादन केही छैन । हामी आफ्नो माटोमा खेल्नुभन्दा विदेशी माटोमा रमाउँछौँ । हामी आफ्नो देशमा परिश्रम गर्नुभन्दा विदेशी भूमिमा दलाली गर्न बढी उत्सुक हुन्छौँ । हामी इज्जतले कमाएको स्वदेशी कमाइभन्दा स्वाभिमान बेचेर कमाएको कमाइमा गर्र्व गछौँ । अनि राष्ट्रियता र स्वाभिमान विदेशी रेमिट्यान्ससँग लिलाम हुन्छन् । हामी पसिना, रगत र स्वाभिमानसँग साटेको दुई पैसामा रमाउन आनन्द मान्छौँ । अनि आफै हामी भन्दछौ– ‘‘देश बनेन, केही भएन, कसैले बनाएन, देशमा विकास भएन ।’’
पछिल्लो समय, खासगरी नेपाली युवा युवतीहरू दुई पैसा कमाउने आशमा बिदेसिने क्रम बढ्दो छ । ऊर्जाशील युवाशक्ति देशबाहिर हुँदा देश बालबालिका र ज्येष्ठ नागरिकको जिम्मा चलेको छ । देशलाई सिङ्गार्ने कर्मशील एवम् पौरखी हातहरू विदेशको भूमिमा रातदिन घोटिन्छन् । हाम्रो देश कसरी चल्छ ? ऊर्जाशील हातहरूले विदेश सिङ्गार्छन्, स्वदेश कमजोर र शिथिल हातहरूको भरमा चलेको छ ।
प्रश्न उठ्न सक्छ्, दोष कसको ? दोष सरकार र व्यक्ति दुबैको छ । पहिलो कुरा, सरकारले स्वदेशमै रोजगारीको प्रबन्ध मिलाई युवाशक्तिलाई देश विकासमा प्रयोग गर्न सक्नुपर्छ ? व्यक्तिले चाह्यो भने गाउँमै पनि रोजगारको वातावरण सिर्जना गर्न सक्छ । आखिर जहाँ पनि परिश्रम नै गर्ने हो । विदेश गएर पैसा फल्ने रुख भेटिदैनन् । न त विदेश पैसाको मूल नै छ । चाहें स्वदेश होओस्, जहाँ पनि हाडछाला घोट्नैपर्छ अनि पसिना बगाउनै पर्छ । त्यसैले त्यो पसिना स्वदेश दिन्छ, तर स्वदेशमा बगाउने पसिनाले दुई पैसाको साथ समाज र देशलाई पनि बनाउँछ ।
नवोदित मुक्तककार एल.बी. मगरको मुक्तकसङ्ग्रहलाई सरसर्ती रस्वादन गर्दा २ वटा महŒवपूर्ण पक्षलाई उद्घाटन गरिएको छ । ती २ वटा पक्ष हुन्– प्रेम र स्वदेशभक्ति । यिनै दुई विषय सन्दर्भ प्रस्तुत मुक्तकसङ्ग्रह छचल्किको छ । हाम्रो सामाजिक संस्कारको एउटा सानो पक्षलाई छुँदै समग्र मुक्तकसङ्ग्रह शुत्रात्मक ढङ्गले विकसित भएको छ । खास गरी बिहेवारी गर्दा हुने र देखिने स्वाभाविक, संस्कृति र परिदृश्यलाई मुक्तकसङ्ग्रह थोरै भए पनि झल्काइएको छ । उमेर पुगेका वयस्क युवायुवतीमा देखिने स्वाभाविक आकर्षणलाई सङ्ग्रहमा समेटिएको छ । सन्दर्भ मड्यौला र मड्यौलीको छ । विवाह गर्दा दुलाहाको साथी मड्यौला र दुलहीको साथी मड्यौली बस्ने चलन हुन्छ । जन्ती जाँदा मड्यौला र मड्यौलीबीच भएको आकर्षण र उनीहरूबीच ठट्यौली व्यवहारबाट उनीहरूको प्रेम अङ्कुराको सन्दर्भ प्रस्तुत मुक्तकले सङ्केत गर्दछ–
धार्नी बुट्कोमा जाँड लिनेवालीले
सितन भनी खाली टपरी दिनेवालीले
खै कसरी मन जितिन् मेरो आज,
मडौलाको माला भनी पहिरिनेवालीले ।

सुन्दर फूलमा आकर्षित किन हुन्छ होला मन
तीनै फूलका बासनाले किन छुन्छ होला मन
एकहोरो सोचाइ राखेर मात्र मनभित्र,
अनेक सपना मनभित्र किन बुन्छ होला मन ।

विवाहका बेला भएको देखभेट र दुवैबीच अङ्कुराएको कमलो प्रेमले दुवैलाई असह्य पीडा दिएको र अर्कालाई प्राप्त गर्ने तीव्र मनोकाङ्क्षालाई संवादात्मक शैलीमा यी मुक्तकहरूले अभिव्यक्त गरेका छन्–
कहिल्यै नभेटिने गरी हराएर गयौ
यता जूनलाई अलपत्र गराएर गयौ
कति बिलौना भयो होला मलाई यहाँ,
एकतर्फी प्रेमको नशा चढाएर गयौ ।

तन मन तिमीतिरै छैन यहाँ आत्मा
न त लाउँछ भोक न त निद्रा रातमा
असम्भव छ तिमीविना यहाँ मलाई,
सँगै मर्ने सँगै जिउने बाचा तिम्रै साथमा ।

जून (मड्यौली) र तथा तरा (मड्यौला) बिचको प्रेम सम्बन्धले वैवाहिक सम्बन्धको रुपधारण गर्देगर्दा विवाहलाई जतिसक्दो कम खर्चिलो र सामान्य बनाउने सुझाव जून (मड्यौली)को छः
फजुल खर्च क्षति धनको
मदिराले बेहाल आफन्तजनको
समाजको यो कुचलन हटाई,
बनाउनुपर्छ साधारण नेपालीपनको ।

विवाहपछि रहर, आवश्यकता र महत्त्वकाङ्‍क्षा बढ्दै जान्छन् । रोजगारविना यी सबै आवश्यकता र रहरहरू कहाँ पूरा हुन्छन् र ! न त रोजगारको अवसर नै छ । देशको हालत बेहाल छ । खाडीमुलुक वा मुग्लान नछिरेर धरै छैन । मर्नुभन्दा बौलाउनु जाती । मन रुवाई रुवाई अनि पीडा दबाई–दबाई आफ्ना श्रीमान्हरूलाई विदेश पठाउन बाध्य छन्, लाखौं नेपाली श्रीमतीहरू । यस्तै लाखौं श्रीमतीहरूको बाध्यात्मक प्रतिनिधि स्वर जूनमार्फत् व्यक्त गरिएको छ–
देशको आफ्नै बिजोग हाल छ
गिरोहहरूको डरलाग्दो जाल छ
मुग्लान पस्नु नै पर्छ तिमी किनकि,
देशको नेता धनी जनता कङ्गाल छ ।

घर व्यवहार चलाउनकै लागि बाध्यताले परदेश पुगेकाहरूले दुई पैसा कमाएको भए पनि त्यही घर व्यवहार लथालिङ्ग भएका प्रशस्त उदाहरणहरू छन् । लोग्ने खाडीमा हाडछाला घोटेर कमाएको पैसा पठाउने र श्रीमतीले त्यही पैसाले मोजमस्ती गर्ने कुरालाई जोड्दै आफू विदेश नजाने, बरु स्वदेशमै बसेर सभ्य, समृद्ध र सुखी समाज निर्माणका लागि केही गर्ने ताराको राष्ट्रभक्ति स्वर मुक्तककारले प्रस्तुत गरेका छन्–
श्रीमान् मुग्लानको चर्को घाममा हुन्छ
श्रीमती तन्नेरी बटुल्ने काममा हुन्छ
न त चल्छ घरबार, न त मनका कुरा,
घरमा आउँदा इज्जत सबै बदनाममा हुन्छ ।

कुरीति र कुसंस्कार हटाउन सिकाउँछु
भ्रष्टाचारको जालो घटाउन सिकाउँछु
सुखी नेपाली समृद्ध नेपाल बनाउन,
सबै नेपाली नेपालमै अटाउन सिकाउँछु ।

दुवैको छलफल र संवादबाट तारा विदेश नजाने निष्कर्षमा पुग्दछन् । विदेश गएर स्वाभिमानी शिर झुकाउनुभन्दा स्वदेशमै मातृभूमिको सेवा गर्ने र मातृभूमिकै काखमा रहेर सुखदुःख बाँडेर जिउने बाचा गरेका छन्–
मातृभूमि सेवा गर्ने बानी हुनुपर्छ
जनक र बुद्धजस्तै ज्ञानी हुनुपर्छ
कति झुकाउने शिरहरू कति जोड्ने हातहरू,
आफ्नै देशको काखमा राजा रानी हुनुपर्छ ।

प्रस्तुत ‘मडौलामडौली’ मुक्तकसङ्ग्रहभित्र ८१ वटा मुक्तकहरू रहेका छन् । मुक्तककार एल.बी. मगरको यो पहिलो प्रयास हो । पहिलो प्रयत्न भए पनि संरचनागत दृष्टिले प्रशंसा नै गर्नुपर्दछ । त्यति मात्र नभएर विषय प्रस्तुति र सन्देशको दृष्टिले झनै प्रशंसनीय छ । समग्र सङ्ग्रहको सार सन्देश देशभक्ति वा राष्ट्रप्रेम रहेको छ । यस मुक्तकसङ्ग्रहमा मुक्तककारले मुक्तक लेखनको परम्परालाई भङ्ग गरी केही नयाँ प्रयोगसमेत गरेका छन् । मुक्तकमा संवादको प्रयोग गरेर मुक्तक लेखन परम्पराको क्रमभङ्ग गरेका हुन्, मुक्तककार एल.बी. मगरले । मुक्तकमा संवादको प्रयोग कति सान्दर्भिक भविष्यमा हुने समीक्षाले फैसला गर्ला, तर अहिलेलाई यत्ति भन्न सकिन्छ कि मुक्तककारले मुक्तकमा संवादको प्रयोग गरेर काव्यको सुगन्ध दिएका छन् ।
मुक्तकसङ्ग्रहको नाम ‘मडौलामडौली’ राखिएको छ । विवाहमा जन्ती जाँदा दुलाहाको साथी(मडौला) र दुलहीको साथी(मडौली)को नजर जुधाइबाट प्रेम प्रारम्भ भएको प्रसङ्ग भएकाले सङ्ग्रहको नाम सान्दर्भिक नै छ, तर नेपाली शब्दकोशमा ‘मडौलामडौली’को लेख्य रुप छैन । लेख्य रुप नभए पनि कथ्य रुपमा ‘मडौलामडौली’ भन्दा फरक नपर्ने भएकाले यसलाई अन्यथा मान्न मिल्दैन । नेपाली शब्दकोशमा ‘मडेउली’ अर्थात् ‘मड्यौली’ मात्र उल्लेख गरिएको छ, ‘मडेउला’ अर्थात् ‘मड्यौला’ शब्द शब्दकोशमा उल्लेख छैन तर व्यवहारमा र जनजीवनमा चल्दै आएकोले सोही रुपमा बुझ्दा फरक नपर्ला ।
अन्तमा, यो प्रशंसनीय प्रयासका लागि नवोदित मुक्तककार एल.बी. मगरलाई हार्दिक बधाई दिँदै निरन्तर र सफल साहित्यिक यात्राका लागि समेत शुभकामना ।
०००

मडौलामडौली (मुक्तकसङ्ग्रह-२०७६) को भूमिकाबाट