गेथाती

बालकथा : भ्यागुतोको मित सर्प

सर्पले खेद्‍दै ल्या’को भ्यागुतो कुवामा फुत्त हामफाल्यो । भोको  सर्पले पनि हामफाल्यो । कुवाको गहिरो पानीमा पुगेपछि थाहा भयो सर्पलाई, भ्यागुतोहरू ऊभन्दा कति शक्तिमान् रहेछन् ।

कति प्रयास गर्दा पनि कुवाबाहिर निस्कन नसकेपछि सर्पले सोच्यो अब भ्यागुतो नगुहारी अन्य विकल्प छैन । र डराएर भित्तोमा टाँसिएर बसेका भ्यागुतोहरूलाई डाक्यो । तर भ्यागुतोहरू डराएर परै बसे ।

फेरि सर्पले भन्यो, “म केही गर्दिनँ, बरु तपाईहरूसँग सामूहिक मित लिएर भ्यागुतो प्रजातिलाई नखाने पस्ट्याउन चाहन्छु ।”

“साँच्चै हो सर्प महाराज ?”, सर्पको मुखबाट बच्न सफल भ्यागुतोले डराउँदै सोध्यो ।

“मित लगाएपछि सबै भ्यागुतो मेरा मित पर्छन् । अनि मितलाई खानु त के नराम्रो सोच्दा मात्रै महापाप लाग्छ ।”

बुढो भ्यागुतोले सर्पको विश्वास नगर भन्दाभन्दै सर्पसँग सामूहिक मित लगाए  । त्यो रात सर्प र भ्यागुतोहरू सँगै बसेर रमाउँदै रात काटे ।

झिसमिसे उज्यालोको धरतीमा आगमन हुने बित्तिकै सर्पले भन्यो, “मितज्यू हो ! तपाईहरूकी मितिनी रुँदै होली । अब मलाई कुवाबाट बाहिर निकाल्ने प्रयास गरिदिनोस् ।”

सबै भ्यागुतोले सल्लाह गरे र एक अर्को माथि चढेर लिस्नु बने । अनि तिनै मित भ्यागुतोलाई टेकेर सर्प बाहिरियो ।

भ्यागुतोको मुखिया मितलाई ‘मेरो देश हेर्न जाऔँ’ भन्दै डाक्यो सर्पले ।

कुरभित्र बसेको बुढो भ्यागुतोले फेरि टरटराउँदै भन्यो, “सर्पको विश्‍वास नगर । नजा मुखिया नाति ।”

तर मुखियाले बुढो बाजेको कुरोलाई हेक्का नगरी कुवाबाट फुत्त निस्केर सर्प मितको पछि लाग्यो ।

अलिक पर पुगेपछि सर्पले भ्यागुतो मितलाई अघि लगायो ।

भ्यागुतो अगाडि पर्ने बित्तिकै क्वाप्प टोकेर भन्यो, “धेरै दिनको भोक आज मेटिने भयो ।”

‘मितज्यू ! आया आया मरेँ’ भन्दै भ्यागुतो करायो ।

सर्पले निल्दै गुनगुनायो, “मित न सित, भेटेपछि घिच ।”

साँझसम्म मुखिया नआएपछि भ्यागुतोहरू डराए ।

भोलिपल्ट एकजुवा घाम आउँदा कुवाको डिलमा आएर सर्पले  ‘नमस्ते, फ्याफुल्ला, झोर्ले, सेमीङ्गेपाउ, जेडऊ, हौवा, सेवारो, टासिदेवा, गोड लगैछी’ आदि के के भन्दै टाउको ठड्याएर ढोक्यो । सबै भ्यागुतो मख्ख परे र सोधे, “हाम्रो मुखिया कता हराउनुभयो ?”

“मितज्यू हाम्रो मित मनितोमा प्रफुल्ल हुनुहुन्छ । अनि मितिनी साहेबालाई सम्झिबक्सेको छ ।”

मनितोको शब्दले सबै भ्यागुतोका मुख रसाए ।

‘सबैलाई पालैलो मेरो देश घुमाउनेछु’ भन्ने मित सर्पको गुलियो वचनले झनै हर्षित बने ।

बुढो भ्यागुतोले फेरि करायो, ‘सर्पको महाचाल हो’ भन्दै । तर केही नसुनी फुत्त कुवाबाट बाहिरेर सर्पको पछिपछि उफ्रिदै हिँडी भ्यागुती ।

सर्पले खाँदा भ्यागुतो कराउँदा नसुन्ने ठाउँमा पुगेपछि मुखियालाई झैँ मुखिनी मितिनी भ्यागुतीलाई पनि क्वाप्प टोक्यो ।

दोजियाकी मीतिनी भ्यागुती कराइरही ।

‘मितिनीलाई छुन हुँदैन, खान हुन्छ’ भन्दै रमाउँदै सर्पले बिस्तारै निलिरह्यो ।

यसरी विविध प्रलोभनमा पारेर कुवाका सोझा निमुखा भ्यागुतोहरू खाएर सर्प मोटो र चिल्लो बन्यो ।

एकदिन एक्लै बचेको बुढो भ्यागुतोलाई पनि खाने विचारले कुवाको छेउमा गएर सर्पले ‘ढोक गरेँ है मित बाजे ।’ भन्दै टाउको निहुर्‍यायो ।

‘धन्य, बाबुको सधैँ जय जय होस् ।’ भन्दै दुःख र परिवार समाप्तीको पीडाले थिल्थिलिएको बुढो भ्यागतो, मनलाई थुमथुम्याउँदै कुरबाट बाहिर निस्कियो ।

“मित बाजे ! हजुरलाई हजुरका परिवारले बोलाइसेको छ । जाऔँ आउनोस् ।” सर्पले सिकारी शब्दबल्छीलाई फेरि हान्यो ।

“के भन्नु भो मित सर्प बाबु ?” अलिक कान नसुन्ने बुढो भ्यागुतोले फेरि सोध्यो ।

सर्पले ठूलो स्वरले त्यही आफन्तले डाकेको कुरो दोहोर्‍यायो ।

बुढो भ्यागुतो थरथरायो, “म उफ्रन सक्दिनँ । अलिक तल आएर मेरो हातलाई समातेर तान्नोस् न बाबु ।”

‘हुन्छ’ भन्दै सर्पले आधा जिउ झारेर बुढो भ्यागुतोको हात टोक्नासाथ बुढो भ्यागुतो तीरझैँ हाँकिएर कुवाको गहिराइमा पुग्यो ।

भ्यागुतोको झट्काले सर्प चिप्लेर कुवामा खस्यो । पानीमा आत्तिएपछि सर्पको मुखबाट भ्यागुतोको हात पनि फुत्कियो ।

बिजुलीझैँ बुढो भ्यागुतो कुवाबाहिर निस्केर डिलमा बस्दै भन्यो, “मेरो यो कुवाको सन्तानहरू त तुरिस् । अब यही कुवामा मर थुक्क अगति सर्प ।” यति भन्दै अर्को दहमा फुत्त हाम फाल्यो ।

सर्प भने गुहार माग्दै कराइरहेको थियो ।

०००

त्रियुगा-११, सङ्गमटोल, उदयपुर