गेथाती

गजल : लजिम पुन

लजिम पुन
१४ माघ २०८०, आईतवार

सानीभेरीको शिरमा छ मेरो लुगुम
चुङरीलेकको तीरमा छ मेरो लुगुम ।

पल्टाई हेर्दा विश्वमानचित्रको अभिलेख
सुन्दरताको पहिलो तस्वीरमा छ मेरो लुगुम ।

धुपी र सल्ला काखी राखी आरामदायी चेहरा
शालीनताको नजिरमा छ मेरो लुगुम ।

पलभरको छहरीले पनि स्वर्गको अनुभव दिने
माया र ममता त तिम्रो शरीरमा छ मेरो लुगुम ।

समय र परिस्थितिसँगै बदलिए पनि हरचिज
स्वाभिमानको खातिर स्थिरमा छ मेरो लुगुम ।

मेटेर मेट्न सक्दैन कसैले निधारको रेखा
जन्मौँजन्म यही तकदिरमा छ मेरो लुगुम ।
०००
भुमे-१ लुगुम, रुकुमपूर्व