गेथाती

‘मगर खाम भाषा’को पाठ्यपुस्तक तयार गर्न प्रारम्भिक प्रक्रियाका लागि मस्यौदा लेखन कार्यदल गठन


१० माघ २०८०, बुधबार

थबाङ गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर ‘मगर खाम भाषा’को पाठ्यपुस्तक तयार गर्न प्रारम्भिक प्रक्रिया अघि बढाएको छ । थबाङ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक कार्यक्रम आयोजना गरी ‘मगर खाम भाषा’को पाठ्यपुस्तक तयार गर्न प्रारम्भिक प्रक्रियाका लागि मस्यौदा लेखन कार्यदल गठन गरेको छ ।

वीर बलभद्र मावि थबाङका विव्यस अध्यक्ष अजय घर्तीमगर, भानुभक्त मावि उवाका विव्यस अध्यक्ष डुकमन रोकामगर, हिमालय फूलबारी मावि मिरुलका विव्यस अध्यक्ष भीमबहादुर रोकामगर र हिमालय प्रावि उवाका प्रधानाध्यापक जीतपुरा पुनमगरको आतिथ्यता रहेको बैठकले उदय घर्तीमगरको संयोजकत्वमा ६ सदस्यीय पुस्तक मस्यौदा लेखन कार्यदल गठन गरेको छ । कार्यदलमा धनबहादुर रोकामगर, प्रेमप्रकाश घर्तीमगर, बोमबहादुर घर्तीमगर, बेलबहादुर बुढामगर र बालिका बुढामगर सदस्य रहनुभएको छ ।

कार्यदलले आगामी २०८० फागुन १५ गतेभित्र पुस्तकको मस्यौदा तयार गरी शिक्षा, युवा तथा खेलकुद शाखामा पेस गर्ने¸ विज्ञ तथा शैक्षिक सरोकारवालाहरूबाट थप रायप्रतिक्रिया लिई पुस्तकलाई अन्तिम रूप दिनेछ । पुस्तक तयार भएपछि आगामी शैक्षिक वर्ष २०८१ देखि थबाङ गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा कक्षा १¸ २ र ३ मा मगर खाम भाषाको नयाँ पाठ्यपुस्तक पठनपाठन हुनेछ ।

कार्यदलले मगर खामभाषी लेखकहरूबाट कक्षा १¸ २ र ३ मा उपयुक्त हुने मगर खाम भाषाका लेखरचनाहरू माग गर्नेछ । त्यसका लागि इमेल ठेगानासहित २०८० माघ १४ गते साँझसम्म विधागत रूपमा कार्यदलले थोरै र गुणात्मक लेखरचनाहरूको आह्वान गर्ने तयारी थालेको बताइएको छ ।