गेथाती

कविता : तिम्रो नै हुँ म

सिर्जना तुलाधर
२ फाल्गुन २०८०, बुधबार

पराइ हैन म
अलिपर मात्र पुगेको हुँ
बिर्सेको छैन मैले तिमीलाई
बसेको छु तिम्रो यादहरू सङ्गालेर
बाँचेको छु तिम्रो माया सम्झेर
सास बाँकी छउञ्जेल
मेरो आशा रहनेछ
मलाई तिम्रो याद रहनेछ
पराइ हैन म
अलिपर मात्र पुगेको हुँ ।

बिहान सम्झना
बेलुकी सपना
समयको फरक हो
निद्रामा सधैँ ती गुन्यूचोली
तिमी अनि म
हुर्केको थातथलो
सन्तानको उही तोतेबोली
शिरदेखि पाउ
उही भोटो कछाड
हरदिन दोहोरिरहने
पलपलको याद हो ।

झिसमिसेमा भाले बास्यो होला भनी
कान ठाडो हुन्छ अझै मेरो
पराइ हैन म
अलिपर मात्र पुगेको हुँ ।

आँगनको बगैँचा लहलह खेतबारी राम्रो
सँगै डुलेको त्यो रमाइलो पलहरू हाम्रो
उकाली ओराली वनपाखा पँधेरी
सधैँ हाम्रो भेट हुने त्यो रमाइलो चौतारी ।

पराइ हैन म
अलिपर मात्र पुगेको हुँ ।
यसपालि बिदामा
पहिलै टिकट काटुँला
यसपालि टीकामा
सँगसँगै टीका थापौँला
अब पर… पर… हैन माया
साथसाथै बसौँला साथसाथै बसौँला
अन्तमा साथसाथै बसौँला
तिम्रो नै हुँ म, तिम्रो नै हुँ म ।

०००

न्यूयोर्क, अमेरिका