गेथाती

कविता : जनयुद्ध दिवस

कमल विवश मगर
१ फाल्गुन २०८०, मंगलवार

पहिलोचोटी सँगै मनाएका थियौँ
म, तिमी र तपाईहरूले
फाल्गुन एकको साइत पारेर
तिम्रो जन्मदिन
आन्दोलनको मिठाई खुवाएका थियौ सप्पै-सप्पैलाई
र बाँडेका थियौँ युद्धको सुपारी ।

प्रिय जनयुद्ध मलाई माफ गर्नू
यसपालि तिम्रो जन्मदिन
मैले मनाउन सक्तै सकिनँ ।

तिम्रो बुई चढेर अग्लिएकाहरू
खरानी दलेर मनाऔँ भन्छन्
छातीमा बन्दुक तेर्साएर
साम्यवादी नारा लगाऔँ भन्छन्
यो समय पटकै ठीक लागेनँ मलाई
र मैले तिम्रो जन्मदिन मनाउन सकिनँ ।

रगतले निधार पोटेर
सिहदरबारको भित्तामा टाँगिएको छ
समानताको नारा लगाउने सिपाही
र भन्छ ! जनयुद्ध दिवसको लाखौँलाख शुभकामना
म कसरी तिम्रो जन्मदिन मनाऊँ ।

बाबाले बलि चढाएदेखि
आमालाई सति पठाएर
चाख्न पल्केको हो राज्यको तिहुन
हिजो आज
घाम उतै फर्केको छ, जुन उतै फर्केको छ
निमुखाहरूको बस्तीमा
अँध्यारोको जालो फिजाएर
म कसरी दिऊँ शुभकामना तिमीलाई ।

कम्युनिष्टको मुर्चुङ्गा बजाउँदै
समाजवादको ढोल पिटेर
कहाँ हरायो माओवाद ?
कहाँ हरायो लेलिनवाद ?
हरेक रात सिरानीमा आएर
राता मान्छेहरू सोध्छन्–
‘कहाँ बिलायो माक्सवाद ?’
अनि म कसरी शुभकामना दिऊँ ?

०००

पाछाबाङ, रोल्पा

TAGS: कमल विवश मगर कविता नेपाली कविता