गेथाती

कविता : म बोक्सी


२१ चैत्र २०८०, बुधबार

आहा !
म बोक्सीको
एक फुमन्त्रमा
मोहनी लाग्नेभए
तिम्रा प्रियसीहरू
मेरो इसारामा
जहाँतहीँ
हरिया भिङ्गाझैँ भन्किन्थे
पागल कुकुरझैँ सन्किन्थे
यो संसार दास
अनि म प्यास हुन्थेँ ।

आहा !
मेरो एक फुमन्त्रमा
एक बोक्सो नजरमा
कोही बिरामी हुने भए
श्रीमान्‌हरू हरामी भई
रछ्यानमा पल्किएका हुन्थे
श्रीमतीहरू बिरामी भई
ओछ्‌यानमा पल्टिएका हुन्थे
सन्तानहरू सराबी भई
खराबीमा सल्किएका हुन्थे
यो संसार दशा
म नशा हुन्थेँ ।

आहा !
म बोक्सी
एक फुमन्त्रमा
प्राणहरू परलोक हुने भए
संसारमा मेसिनविज्ञान किन आउँथे ?
मृत्युको व्यापार विज्ञापन किन छाउँथे ?
छि ! छि !
तिम्रा निमुखा
गर्भेनी गाई किन तुहाउँथे ?
तिम्रा निर्दोष दूधेबालक किन रुवाउँथे ?
तिम्रा दुईकौडीको प्रगतिमा
किन बोक्सी आँखा लगाउँथे ।
संसार गुलामी सालिक
म सलामी मालिक हुन्थेँ ।

उफ् !
जसका खलामा,
रोग, भोग र विभेद‌को गलपासो छ
जसका गलामा
कुरुपता र अपाङ्गका दाम्ला छन्
जसका थाप्लोमा
बेरोजगारी र अशिक्षाका नाम्ला छन्
जसका भाग्यमा
नियतिले निर्मम भई लुटेको छ
जसका दूरावस्था देखेर
आस्थाको ईश्वर लुकेको छ
जसका तनमन
हतासा र निरासाले सुकेको छ
त्यसैको सर्वस्व
बोक्सी आरोपले लुटेको छ ।
जहाँ गहिरो त्यहीँ पहिरो भई
जिन्दगीको बाँच्ने आधार छुटेको छ ।

याद छ ?
बोक्सीहरू झुपडीमै जन्माइनु
काला जादुमा स्त्रीहरू अन्माइनु
सपाङ्ग देवता बिकलाङ्ग दानव बनाइनु
सेता भगवान् काला सैतान देखाइनु
शासकहरूको
अशक्तहरूमाथिको
उन्मादिलो बर्वरता होइन र ?
नत्र
ए मान्छे
म साँच्चिकै बोक्सी भएको भए
तिम्रा बेलगाम थुतुनो
बिना प्वालको हुन्थ्यो ।
तिम्रा निर्मम हातखुट्टा
बिना हड्डीको हुन्थ्यो ।
तिमी मेरोअधि
तातो घामको सुख्खा माटोमाथिको
गड्‌यौलाझैँ फुटफुटी खेल्थ्यौ
तर के गर्नु
म केवल
आरोपित झुट बोक्सी सैतान भएँ
०००