गेथाती

स्कुल जान नपाएका दिनहरू

याम मगर
८ आश्विन २०८१, मंगलवार

मेरा कलिला आँखामा देख्नु छ
स्कुलमा मुस्कुराइरहने एउटा सपनाहरू
सुन्नु छ एक जोर कानहरूले
मिसका मृदुल आवाजमा अक्षरको लय

मेरो भर्खरको झोला टिपेर
बाटो खोज्नै लाग्दा आउँछन् अघिल्तिर
निर्दोष आँखाहरू पर्खाल लाउन
र सुनाइदिन्छन् कुरुप डरलाग्दो घटना

भेट्नु थियो मेरा बालसखाहरूलाई
सुनाउनु थियो भर्खरै सिकेको एउटा गीत
देखाउनु छ मम्मीले ल्याइदिएको नयाँ झोला
स्कुलको आँगन टेकेर छातीमा हात राखी
गाउनु थियो राष्ट्रिय गीत

नपाए पछि स्कुलका रङ्गशाला
बिर्सिदै छ मिसको मुस्कुराउने अनुहार
हराउँदै गएको छ आफैबाट
उन्मुक्त खुशीहरू
छुटेको छ स्कुलबाट एउटा बाल कथा

घरको टिभीमा आउने
कार्टुन संसार कर्कस लाग्न थालेपछि
त्यहाँबाट भत्किएर आउँछन्
म सानो दिमागले सोच्नै नसकिने हिरोहिरोनीका प्रेम दृश्य

अझै भत्किए देख्छु दुर्घटनामा परेर
निदाइसकेका जीवनहरू
कहिले देख्छु मजस्तै जीवनहरू
शहरका गल्लिहरूमा सपना खोजिरहेको
एक कथा ।
०००
रोल्पा

TAGS: कविता नेपाली कविता याम मगर