गेथाती

आदिवासी जनजाति (उत्कृष्ट १० मा छनौट भएको कविता)

(माटोको गुँजः आदिवासी अस्तित्वको गाथा)

एउटा कथा, जसलाई ६० पानामा सीमित राखेर कोरियो
एउटा गाथा, जसले सुरु गर्‍यो सृष्टिको अनि इतिहासको पाना भोरियो
एकदिन कुनै जङ्गबहादुर आए र नाम दिए यही कथालाई जात भनेर
जसले भूमिलाई जन्म दियो¸ हरायो उसैको अस्तित्व¸ मसानघाट बनेर
डुबेकी थिइन् भूमि आँसुको तालमा, आफ्नो रिक्त कोखको ख्यालमा
त्यतिबेलै कोही आइदियो र भूमिमा गर्भ रोपिदियो
उनको आँखाको डिलमा रहेको आँसु बगाएर दूर टाढा पठाउन- चोभारको कोख खोपिदियो
उही भूमिको आँसु पुछेर जसले रिक्त कोख भरिदियो
कसैले उसैलाई नै बटुवा नामाकरण गरी पर गरिदियो ।

जन्मिन् अन्नपूर्ण, भूमिको कोखबाट अनि चल्ल लागे बतासहरू
उत्पति भयो फरक ध्वनि अनि भाषाको, गुन्जिन लागे चराका सासहरू
हावाहरू साइनो गाँस्दै रम्दै थिए एक अर्कामा, हाकपारे भनेर
तिनै गीतको ध्वनि गुञ्जिँदै थियो बेग्लै तालमा, च्याब्रुङ बनेर ।

भूमिमा पाइला राखेर
वृक्षलाई पुष्पले ढाकेर,
पहाडलाई देउता मानी भाकेर
जसले सृष्टिको अस्तित्त्व खोज्दै थियो
कसैले उनीहरूलाई नै तिमीहरू कहाँबाट आएका हौ ? भनेर सोध्दै थियो
थाहा छैन अर्थ को अनर्थ लगाएर हेप्छौ, वा नबुझेर
हामी आदि हौँ, आधी होइनौँ, पुरो हौँ, अपुरो होइनौँ, हामी जानी हौँ¸ अञ्जानी होइनौँ
हाम्रा पानामा हामीले सजाएको थियौँ, माटोमा उत्रिएका पाइला जोकोहीले थाहा पाएका छैनन्
कोरेका थियौँ- कुमाल¸ कुसुन्डा¸ ताजपुरियाको गीत जुन भाका आज कोहीले गाएका छैनन्
यदि कसैले प्रश्न गरे तिमीहरू को हौ भनेर, हामी भन्छौँ
हामी ती हौँ- जसले माटोमा जीवन देख्यो
हामी ती हौँ- जसले सृष्टिको रचना लेख्यो
हामी ती हौँ- जसले हावालाई स्वर दियो
हामी ती हौँ- जसले भूमिको कोख भोर्दियो ।

जबसम्म च्याब्रुङका भाका ३१ ताल बनी कुन्जिन्छन्
जबसम्म हाकपारेका स्वर मिठो ध्वनि बनी जङ्गलमा गुन्जिन्छन्
हाम्रो अस्तित्व रहिरहनेछ
हाम्रा पहाडले हाम्रा भाका कही रहनेछ ।
०००
गल्याङ ११, स्याङ्जा

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि जमुनाको यो कविता उत्कृष्ट १० कविताभित्र पर्न सफल भएको थियो ।