गेथाती

भुईँफूलहरू (उत्कृष्ट १० मा छनौट भएको कविता)

किन फुल्न छोडे यी गुराँसहरू,
बेहुलासँगै मण्डपमा बसेकी बेहुलीको
सिउँदो फुलेजसरी ।

किन सजिन छोडे थरीथरीका फुलहरू
आँखाभरि भविष्यका
सपनाहरू सजिए जसरी ।

किन उम्रन छोडे अन्यायका विरुद्द
चेतनाका आवाजहरू ?

हुन त देशको इण्डा मुटुमा राख्नेहरूलाई
दिनहुँ बनाइदिन्छन् छुट्टाछु‌ट्टै इण्डाहरूको ।

र त भो फुल्दैनन्
लालिगुराँस र टाँकीहरू पहाडभरि
फेरि
देश बनाउँछु भन्दै कसम
खानेहरूको कर्तुत यसैबाट
फल्न थाल्यो भने ?

सायद बुझेछन् फूलहरूले
बरु नलागौ कोपिलाहरू, नदेखाऊ
झुटा आशहरू
फुल्नै सकिँदैन भने ।

पोहोर साल अब देश बन्छ
भनी हातमाथि उठाएर भीडबाट
अस्ताएको अनुहार देखिँदैन अचेल वरपर ।

लामोसमयपछि
बाटोहरूले पनि बाटो बिराएर
रमाउँदोरहेछन् आफ्नै संसारमा
जहाँबाट देखिँदैन गरिबका दुःखहरू
पीडितका आँसुहरू
परदेशिका बेदनाहरू
र बुढा बुवाआमाको चित्कारहरू ।

उदास समयको जगमा
मौनताको काखमा रहेर
तिमीहरू रहरकै खेलहरू खेलिरह्यौ ।

आऊ कसैले हालिदेऊ एक चिम्टी साहस
जहाँबाट पलाउन सकुन्
चेतनाका स्वरहरू ।

तर
समयको पदचापसँगै केही भुईँफूलहरू
जम्मा भई
सल्काउन खोजे पनि
असहमतिका ज्वालाहरू
चुडाइन्छ उनिहरूको आशा ।

या फुल्नै दिइन्न दबेका आवाजहरू
र त सत्ता र शक्तिको छायामा
आज पनि ओइलिरहेछन् फूलहरू
देशको भविष्य बेच्नेहरूको काँधमा
देशको भविष्य जसरी नै ।

ए देश बनाउने मालीहरू !
भनिदेऊ न यी आफ्ना अधिकार खोज्ने
भुईँफूललहरूलाई म कहाँ सजाइदिउ अब,
पार्टीको झण्डाभित्र कि देशको सिमाना बाहिर ?
०००
बिहादी-५ पर्वत (हालः बुटवल)

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि प्रकाशको यो कविता उत्कृष्ट १० कविताभित्र पर्न सफल भएको थियो ।