गेथाती

म त्यही अनुहार हुँ (प्रथम कविता)

तिर्थराज विश्‍वकर्मा
१२ जेष्ठ २०८२, आईतवार

जिन्दगीको आकाशमा
इन्द्रेणीसँगै बाँचिरहनुपर्ने- च्याब्रुङहरू
तर किन चिहानमा छु भनेर चिच्याउँदै छ
सङग्रहालयको बस्तीबाट

हाक्पारे गाउँदै
समयसँगै बगिरहनुपर्ने- खोलाहरू
तर किन चुपचाप चुपचाप जमिरहेको छ
दह भएर हृदयको थुम्कीमा

पहाडको शीरमा
शीरफूल बनेर फुलिरहनुपर्ने- सेक्मुरीहरू
तर किन फुल्न नपाउँदै झरिरहेको छ
दुःखको अक्करे भीरहरूबाट

हुर्रा नाच्दै
जङ्गलमा उडिरहनुपर्ने- चराहरू
तर किन रिसको आगो ओकल्दै छ
भञ्ज्याङको चौतारीहरूमा

समयको क्यानभासमा
रङ्गजस्तै फैलिरहनुपर्ने – सपनाहरू
तर किन बाध्यताको डोरीले आत्महत्या गरिरहेका छन्
अभावले बाङ्गिएको दलिनहरूमा

पीडा बनेर
आँखामा लुकेर बस्नुपर्ने – आँसुहरू
तर किन नुनिलो भएर बगिरहेको छ
यादहरूको गल्छीमा

शरीरको नशामै
मौन भएर बगिरहनुपर्ने- रगत
तर किन आक्रोश भएर उम्लिरहेको छ
सडकहरूको छातीमा

इतिहासको सुन्दर
गीतहरू गाइरहनुपर्ने – शब्दहरूले
तर किन कोलाहल मचाइरहेको छ
पुस्तकको पानाहरूमा

देशको नक्सामा
सीमाना मात्रै हेरिरहने- म
तर किन आज देशको नक्सामा
आफ्नै अनुहार खोजिरहेको छु ?

यो खुल्ला आकाशमा
प्रश्नको ढाकर बोकेर, उड्दै-उड्दै
उत्तर खोज्न हजुरको शहर आइपुगेको छु

हजुरलाई लाग्नसक्छ !
यो को हो ?

तपाईले लेख्न बाँकी
र मैले देशको नक्सामा देख्न बाँकी
म त्यही अनुहार हुँ ।
०००
धरान, सुनसरी

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि तिर्थराजको यो कविता प्रथम हुन सफल भएको थियो ।