गेथाती

चतुर्गुणको चखिलो संस्मृति

प्रेमप्रकाश
२० पुष २०८०, शुक्रबार

बडादसैँ आगमनको समय छ । मुक्तकको पाण्डुलिपि हातमा आएको छ । मचाहिँ बिरामी छु ठ्याक्कै देशजस्तो । स्मृतिपटलमा देश घुमिरहेछ र देशलाई काँधमा बोकिहिँड्ने सचेत युवाहरूको खोजी भइरहेछ । कत्ति अव्यवस्थित रहेछु देशजस्तो, कि मेरो कुनै रुटिन छैन । हप्ता दिनपछि धौधौ पाण्डुलिपिमा दृष्टि पुर्‍याउँछु । र, देशका तमाम युवाहरूलाई सम्झन्छु सङ्ग्रहका मुक्तककारलाई जस्तो । खासमा लेखकहरू सचेत वर्ग हुन् । जो गम्भीर छन् । जसले देश, समय र जीवन बुझ्ने ल्याकत राख्छन् ।
अहो, मूल बाटो छोडेर कतै अल्मलिएँ कि ? अबचाहिँ सरासर ‘चिरस्मृति’को घना घचारोमा पस्छु । यदि हराइगएछु भने ‘ऊ देश निर्माणको यात्रामा थियो’ भनेर सम्झिदिनू । सम्झिनैपर्ने कुराहरू इतिहासका पानामा लेखिन्छन् —
बाढी पहिरोले लगिदियो गरिबको घर पनि
झन् झन् थपिँदै गयो साहुको ब्याजदर पनि ।

एकातिर मानिसभन्दा शक्तिशाली छ यो प्रकृति । जसले ल्याउने बिपत्ति भयानक हुन्छ । जसको महामारीले कमजोरहरूलाई नै बढी असर पुर्‍याउँछ । अर्कोतिर राष्ट्रको अर्थतन्त्रबारे के बोल्नु ? परनिर्भरताको शिखर चढाइ छ । प्रत्येक नागरिकको टाउकोमा ऋणको चाप थपिँदै गइरहेको छ ।
उकाली चढ्नुपर्छ, ओराली झर्नुपर्छ
एकदिन हामी अवश्य पनि मर्नुपर्छ ।

स्मृतिहरू जीवित रहन्छन् । घामछाया चलिरहन्छ । कहिले पहाड उक्लिनु र कहिले बेँसी झर्नु यात्राका रीति हुन् । चुमिएका उचाई र स्विकारिएका गहिराईहरू याद बन्छन् । शाश्वत मृत्युलाई कसैले नकार्न सक्दैन । जीवन त एकएक पलामा सरिजान्छ ।
माग्छौ भने मुटु झिकी उपहार दिऊँला सानु
भन्छौ भने म हाँसीहाँसी विष पिऊँला सानु ।

प्रेम पवित्र र शुद्ध होस् । सम्बन्ध अझ गाढा रहोस् । त्यसपछि त सम्झना गहिरो हुने हो । एकअर्कामा विश्वास बढ्ने हो र मिलनमा लगाव वृद्धि हुने हो । प्रेममा जे पनि गर्न सकिने उच्च तागत कसरी आउँछ ? सायद प्रेम नै जीवन हो, शक्ति हो र समर्पण हो । प्रेममा सिंगो ब्रह्माण्ड अटाउँछ ।
भौतारिँदै छन् स्वदेशमा काम खोज्नेहरू
काम नपाएर परदेश गए दाम खोज्नेहरू ।

पुँजीवादी दुनियाँमा जनजीवन कष्टदायी छ । देशको आर्थिक प्रणाली कमजोर छ । जनजीविकाका सवाल ओझेलमा छन् । रोजगारको अभाव छ । युवाशक्ति विदेश पलायनको लस्करमा छन् । निराशावादी मनोविज्ञान व्याप्त छ । यस्तोमा देश कसले बनाउँछ ? सचेत वर्गले सोच्नैपर्ने देखिन्छ ।
तथोक्त मुक्तकांशहरू क्रमशः दीपक, शर्मिला, दीपेश र रियाका हुन् । जसका मुक्तकहरूमा लामो यात्राका सम्झना र हिजोदेखि आजसम्मका यादको स्तुतिगान छ । केही प्रिय आफन्त र पराइ मानिसहरूको स्मरण छ । देश र परिस्थितिको विगत एवम् वर्तमानको टिपोट छ । आगत समयको पूर्वानुमान छ । राष्ट्रभक्ति भाव र सहिदहरूका सपनाको अभिव्यक्ति छ । पृथ्वीलोकको एक महादेवीका रूपमा आमा चित्रित छन् । देशलाई हृदयमा टाँस्ने असल युवाहरूको सचेतना प्रस्फुटित छ ।
र, पुनः अर्काेपटक मुक्तककारहरूलाई सम्झन्छु । जो विद्यार्थी हुन् र अध्ययनमा लागेका छन् । ती अहिले लेखनको यात्रामा छन् र उत्साहित छन् । तर सिर्जना कर्म सबैसबैले गर्न सक्दैनन् । यसर्थ सिर्जना र चेतनाको प्रशंसा किन नगर्नु ? अझ्झै सिलसिलाबद्ध जसका मुक्तकहरू पढिरहेको छु —
कतै भोलि देश नै रहँदैन कि डर लाग्छ
देशको लागि मर्छु तर झुक्ने छैन आमा ।

रियाले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्छन् । देशको डरलाग्दो परिस्थितिप्रति सङ्केत गर्छन् । उनले राष्ट्रका लागि मृत्युवरण गर्नसमेत नहिच्किचाउने साहसिक अभिव्यक्ति दिन्छन् । उनी नेपाल आमासँग मातृभूमिको विकासमा योगदान पुर्‍याउने प्रतिज्ञा पनि गर्छन् । उनी देशभक्त नागरिकका रूपमा आफूलाई उभ्याउँछन् ।
मलाई मन परेकी मान्छे हौ प्यारी तिमी त
कसरी बाँचूँला तिमी अर्कैको खास भैदिए ?

मुक्तकांशमा दीपेशको असीमित प्रेम व्यक्त छ । उनी आफ्नो प्रिय मान्छेलाई हृदयमा लुकाउँछन् । प्रेमको मामिलामा आफ्नो एउटा मात्रै मन परेको मान्छे भनेर विश्वास दिलाउँछन् । त्यो प्रिय मान्छे अर्कैको भैदिए आफू जिउन नसक्ने कुरा पनि दीपेशले मुक्तकमा कथेका छन् । उनी आफ्नो प्रेमलाई मजबुत बनाउन चाहन्छन् ।
जुन जोगीहरू आए पनि कानै चिरिएका
भ्रष्टाचार मात्र गर्ने राजनीतिक दल छन् ।

शर्मिला राजनीतिक दलहरूसँग आजित छन् । यो नेपालीहरूको यथार्थ मनोविज्ञान हो । आजपर्यन्त दल र त्यसमा आवद्ध रहेका नेतृत्वहरू जोगीसाबित भइसकेका छन् । जो दलीय स्वार्थमा मात्रै केन्द्रित छन् । तिनीहरूको कार्यशैली पूरानै छ । कुनै नयाँ कुराको आश छैन । सचेत र देशभक्त नागरिकहरू कुन दलसँग सन्तुष्ट छन् ? कुनैसित छैनन् ।
मबाट धेरै टाढा गएर तिमीलाई खुसी मिल्छ भने
स्वार्थी र धनी मान्छेसँग रमाऊ अनुमति माग्नुपर्दैन ।

दीपकको प्रेमिका टाढा हुन खोजिरहेका छन् । प्रेममा सान्साना कुराले सम्बन्ध बन्छ र बिग्रन्छ । हर सम्बन्धहरू बिगारिनुभन्दा सुधारिनुपर्छ । दीपकले आफ्नोभन्दा प्रेमिकाको खुसी चाहन्छन् । उनी प्रेमको सागरमा डुबेर मोती ल्याउने प्रेमीझैँ लाग्छन् । उनले आफूबाट टाढिँदा खुसी मिल्नेभए आफ्नो प्रेमिकालाई अनुमति नमागेरै जाने स्वतन्त्रता दिन्छन् । उनी प्रेममा त्यागको उदाहरण पेश गर्छन् ।

अब यसो भनौँ, हरेक सुन्दर कार्य जोसुकैबाट सम्भव छैन । सचेत र सकारात्मक सोचबाट मात्रै देशले गति लिन्छ । सर्जकहरूले सुन्दर कृति तयार पारेका छन् । प्रस्तुत मुक्तककृति एक चतुर्दाेल हो र अर्काे अद्भुत संस्मृति हो । म सर्जकहरूको अभ्यास र प्रयासको मुक्तकण्ठले प्रशंसा गर्छु । यात्रा के हो ? त्यो त लामो जिन्दगी हिँडेका यात्रीको अनुभवबाट बढी ज्ञात होला । त्यसैले हिँडिरहनु प्रमुख कुरा हो ।
मुक्तककारहरूको भविष्य सुनौलो देख्छु । यत्ति हतारो समयको पठनमा यत्रोविधि पाण्डुलिपिलाई अंशतः बुझेको हुँला । विज्ञ पाठक र समीक्षकको जिम्मा प्राथमिकतामा छन् । बरू सिर्जनामा सर्जकका कलम चलिरहून् । उनका लेखनले अग्रस्थान पाइरहून् ।
मुक्तकीय महासागरको किनारामा सर्जकहरूको वर्तमानलाई बहुल बधाई र भविष्यलाई अझकिलो शुभकामना ।
०००
उवा, रोल्पा

कृतिः चिरस्मृति1 (संयुक्त मुक्तकसङ्ग्रह)
मुक्तककारहरूः दीपक बुढामगर, शर्मिला पुनमगर, दीपेश अपरिचित मगर र रिया पुनमगर
प्रकाशकः ललित साहित्य परिषद्, रोल्पा
प्रकाशन वर्षः प्रथम (२०८०)
आवरणः कुमार रोकामगर
मूल्यः रु.१७५/–

मुक्तकसङ्ग्रहको भूमिकाबाट

  1. उल्लेखित कृति २०८० पौष १४ गते शनिबार लिबाङमा जिल्ला समन्वय समिति, रोल्पाकी प्रमुख सीता आचार्यज्यूबाट विमोचन गरिएको थियो । ↩︎