विभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै उनीहरुको पहिचान हो । नेपालका आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरू हुन्। मगरहरुले ‘माघे संक्रान्ति’लाई विशेष राष्ट्रिय पर्वको रूपमा मनाउँछन्। थारु, मैथली, नेवार र किराँत सम्प्रदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । त्यत्तिमात्र होइन, नेपालका आर्यमूलका सम्प्रदायले पनि माघे संक्रान्ति मनाउँछन् । थारुले माघे संक्रान्तिलाई “माघि पर्व” को रूपमा मनाउँछन् ।
मगरहरूको यो पर्व माइतीचेली तथा माइती भान्जा समधुर समन्ध, प्राकृति मौसम अनुरुपको खाद्यान्नको अनुकुलन उपयोग, रक्षात्मक सिप कला विकाश, आपसी सहयोग, भाइचारा तथा प्रेमको पूर्ण संयोजन गरी मानिने महत्त्वपूर्ण प्रमुख पर्व हो। भाषाको तथा भूगोलको हिसाबले बाह्र मगरात, अठार मगरात र काइके तीन विशेष क्षेत्र छन्। यी तीन क्षेत्रमा पनि आफ्नै विशिष्ट विविधता जल्काउने भेष, भाषा, संस्कृति, संस्कार र इतिहास छ । तथापि मूलतः सारमा ती एकै जराबाट फैलिएका पहिचान हुन्। मगरहरू प्रकृति निकट रही माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रुपमा लिन्छन् ।
वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय माघे संक्रान्ति पर्छ। माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि सुरु हुने यो पर्व करिव ५ दिन मनाइन्छ। तथापि यो ठाउँअनुसार फरक हुन्छ। गण्डकी पूर्व र गण्डकी पश्चिमका मगरहरू पुर्खौदेखिको सम्बन्ध नवीकरण गर्न पानीलाई री र डी भन्ने दुवै मगरहरू रिडी गण्डकीको किनारमा हरेक वर्ष भेला भई पुजाआजा, भेटगात तथा व्यापार गर्छन्। यो मगरहरुको निकै एतिहासिक जमगत हुने थलो हो।
मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने (डि डाँके) मगर भाषामा पानी चढाउने पर्वको रूपमा मानेका छन् । विशेष गरेर गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरूले यसरी मनाएको पाइन्छ । माघे संक्रान्ति आउनुभन्दा अगाडि नै मगरहरूले घरघरमा जाँड राख्ने गर्दछन् । संक्रान्तिको केही दिनअगाडि मगर महिलाहरू नजिकको पधेंरो, खोलामा गएर रक्सी पार्ने गर्दछन् भने पुरुषहरू वनमा गएर वनतरुल, बारीको सखरखण्ड, घरतरुल आलु तथा फलफूल जम्मा गर्छन् ।
पुस मसान्तको बेलुकी घरघरमा सेलरोटी, बारा (बटुक) बनाएर भोलिपल्टको खाने परिकारहरूको लागि तयारी गरिन्छ । सखरखण्ड तरुलहरू पनि पुसमा पकाए माघमा खाने भनी बेलुकी नै उसिनिन्छ । भोलिपल्ट अर्थात् माघ १ गते सबै चोखोनितो हुने भनेर घर लिपपोत गरिन्छ । सबेरै पुरुष महिला नजिकको खोला, पधेंरोमा गएर स्नान गर्ने गर्छन् । गण्डकी क्षेत्रका मगरहरू गुल्मीको रिडी, पाल्पाको राम्दी, त्रिवेणी, कास्कीको सेतीलगायत नदी किनारमा गएर नुहाएर पवित्र बनेर मरेका पुर्खालाई जल चढाउने गर्छन् ।
पवित्र नदी किनारमा तीर्थस्थलमा पूजा गरेपछि घरमा गएर निम्तालु चेलीबेटीलाई बेसारले रंगाएको चालमको टीका लगाई लगाई दिएर गच्छेअनुसार दानदिने चलन छ । चेलीबेटीले माइती आउँदा रक्सी सेलरोटी ल्याउने चलन छ । बिहानको यी प्रक्रिया सकेपछि खाली पेटमा सखरखण्ड, तरुल र खिचडी (चाल, दाल, घिउ राखेर पकाएको विशेष परिकार) खाने गरिन्छ । त्यसपछि दिउँसो सुँगुर, कुखुराको मासुसँग रक्सी पकाएर नाचगान गर्ने गरिन्छ । कतिपय मगरबस्तीहरुमा हाट बस्छन् ।
नदीमा नुहाएपछि खोला किनारमा केराको पातमा एकमाना चामलमा एकमाना मासको दाल भिजाएर मुछि नौवटा डल्ला बनाएर पुर्खाको प्रतीक बनाइन्छ । त्यसपछि त्यस डल्लालाई पितृ सम्झी अदुवा, बेसार र मर्चा (रक्सी बनाउने मुल औषधी) राखेर आफ्ना दिवंगत पुर्खाको मुहार सम्झेर घ्यूको धुप हालेर पूजा गरिन्छ । यसरी हेर्दा माघे संक्रान्ति मगर समुदायको पितृ पूजा गर्ने पवित्र दिन पनि हो ।
रोल्पा, रुकुमलगायत अठार मगरातका मगरहरूले माघे संक्रान्ति पर्वलाई अझ मौलिक रूपमा मनाउने गर्छन् । पुस मसान्तको दिन आफ्नो भाइखलकमा सुँगुर काटेर माघे संक्रान्तिको तयारी गरिन्छ । मसान्तकै बेलुकी सुँगुरको मासु, तरुल पकाएर टपरीमा राखी अगेनामाथिको भारमा मरेका पुर्खाको नाउमा चढाउने गरिन्छ यसैगरी घरघरमा गई आफ्नो चेलीबेटीलाई मिसरा (टपरीमा चामल तरुल, फलफूल दान) दिने चलन छ। यसरी चेलीबेटी पुजी खानपानगरी गाउँलेहरू सबै जम्मा भएर १ गते स्याम्बो गीत गाउँदै काठको फ्लेकमा निशाना साधेर धनुषवाण र बन्दुकले तारो हानी ग्रह दशा जाँच गरिन्छ। यसरी तारो हान्दा फलेकमा गाउँका युवतीहरूले अँगार अथवा अन्य चिजले निशाना बनाई निसानावाज हुन युवाहरूलाई प्रेरित गरिन्छ । सही निसना लगाउनेहरूलाई भान्जाहरूले बोकी थर्की लैजानछन् अनि बुढापाका फुलपाती लगाई आशीष दिन्छन् भने निशानेवाजहरू रक्सी र रोटि ल्याउँछन् ।
युवाहरूलाई युवतीहरूले फ्लेक तारोमा बासा (थैली) भित्र इनाम रकम राखिदिन्छन् । गाउँका तन्नेरीहरूले राखेको तारोमा निशाना लाउनसके भने थैलीभित्र राखेको रकम इनामस्वरुप लिन पाइन्छन् । निशाना फेल भयो भने थैलीभित्र राखिएको रकमको दोब्बर रुपैयाँ दण्ड जरिवाना सरह युवतीलाई दिनुपर्छ । कतिपय बेलामा तन्तेरीलाई जिस्क्याउन् तरुनीले निशानामा तारो हान्नेसँग विवाह गर्न सर्त राखेर तारा खेल रोमाञ्चक बनाउँछन् । यसैगरी माघे संक्रान्तिकै दिन युवायुवतीबीच पारसी (गाँठो फुकाउने) खेल खेल्ने गरिन्छ ।

पुतला दहन गर्न दालचामल, तरुल लिएर गाउँका युवतीहरु पधेंराखोलामा गएर पकाउन जाने गर्दछन् । यसरी खोला पधेंरा जाँदा कपडाको पुतली बनाएर सँगै लैजाने गरिन्छ । खोलामा युवतीहरूले पकाएको भात जाँड गाउँका युवाहरू गएर खोसेर खाने चलनसमेत छ । खाना खाएपछि पुतलीलाई मरिन् भनेर जलाई रुँदै खोलामा बगाइदिने र रुने गर्दछन् । नदी किनारको काम सकेपछि गाउँका युवायुवतीलाई गाउँको पायक पर्ने ठाउँमा जम्मा हुन्छन् । सम्झनाको लागी चिनो बिसाउनी निर्मान गर्छन् । कतिपय ठाउँमा गाउँका युवतीहरू टीका लगाइदिन गाउँ डुल्ने गर्दछन् । यसरी डुल्दा उनीहरुले दक्षिण पाउँछन् ।
यसैगरी धौलागिरीतिरका मगरहरूले यो पर्वलाई धनुषवाण हानेर भव्यताका साथ मनाउने चलन छ । म्याग्दीका पुनमगरहरूले काठमाडौँमा विशेष प्रतियोगिताका साथ धनुषवाण हानेर माघे संक्रान्तिको रौनक बढाउने गरेका छन् । मगर समुदायको छाता संगठन नेपाल मगर सङ्घले यो पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्छ भनेर दबाब दिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकाल २०६५ सालदेखि माघ १ गतेलाई सार्वजनिक बिदा दिने चलन चलेको छ । त्यसबेलादेखि प्रत्येक वर्षको माघ १ गते नेपाल मगर सङ्घको आयोजनामा काठमाडौंको टुँडिखेलमा नेपाल सरकारका प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा माघे संक्रान्ति पर्व मनाउने प्रचलन चलिआएको छ ।
मगरहरू पश्चिम महाकालीभन्दा पर दोधार चाँदनीदेखि पूर्व मेचीसम्म हिमालयदेखि दक्षिणी किनारासम्म फैलिएर बसे तापनि सबैतिर माघे संक्रान्तिलाई मनाउने चलन छ । क्षेत्रअनुसार मगरहरूको संस्कार, संस्कृति र जीवनशैली केही फरक भए पनि माघे संक्रान्ति पर्व मनाउने सम्बन्धमा त्यत्ति भिन्नता छैन । दिवंगत आत्मालाई सम्झेर श्रद्धा गर्ने परम्परा सबै भेगको मगरहरूबीच सामञ्जस्ता भेटिन्छ । त्यसैगरी माघे संक्रान्तिको दिन आफ्ना चेलीबेटी कुटुम्बलाई निम्तो गरेर घरमा बोलाई मीठा मीठा परिकार खुवाउने चलन सबै मगर समुदायमा चलिआएको छ । यसैगरी आफ्नो परम्परागत नाचगान गरेर त्यसदिन रमाइलो गर्ने गरिन्छ ।
मगरहरू प्रकृतिपूजक मात्र होइनन्, उनीहरू मृतआत्मा र अलौकिक शक्तिका उपासक पनि देखिन्छ । माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्दतिसँग मेल खाने गरेर मनाउनुपर्छ । हाम्रा पुराना संस्कार र संस्कृतिहरू इतिहासको विरासत हो । सम्पूर्ण मानव समुदायभित्रको एउटा भुल्नै नहुने सांस्कृतिक सम्पदा मगरहरूको माघे संक्रान्ति पर्व हो । माघे संक्रान्ति मगरहरूको पहिचानको पर्व हो । यो पर्वलाई तडकभडक गरेर मनाउनुभन्दा यसको परम्परागत सामाजिक संस्कारलाई बुझेर मनाउनु जाति हुन्छ ।
०००
लेखक : मगर संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
