सपनाहरू उम्रेर हराभरा हुँदैनन्
मेरो देशको माटोमा
बर्षेनी सयौँ ट्रिप
देशभित्र कामकाज नपाएर
जान्छ बादलको जहाज चढेर
यो देशको तन्नेरी पसिना र रगत
अनि
सिंचाई गर्छ बिरानो माटो
सपनाहरू फुल्दैनन्/फल्दैनन्
मेरो देशको माटोमा
आफ्नो माटो बाँझो राखेर
जोतिन्छ पराईभूमि
रगतसँग साटेर
भित्रिन्छ रेमिट्यान्स
झोलाभरिको रेमिट्यान्सले
खरिद गर्छ
– जङ्कफुड अलिकति
खरिद गर्छ
– उतैको सस्तो बजार
स्वर्णिम सपना बन्न सक्दैनन्
मेरो देशभित्र सपना
सपनाहरू झोलाभरि कोचिएर
बाहिरिन्छन् जहाज चढेर
प्रियजनहरूमा
दुःखका अनुभूतिहरू छोडेर
जब बादलको जहाज उड्छ
बगिरहन्छन् अविरल
आँसुका नदीहरू
सङ्गिनीका आँखाबाट
आभास हुन्छ सङ्गिनीलाई
सदाको लागि
प्रेमिल वसन्त हराएजस्तो
चैते हुरीजस्तै
बहिरन्छन् निरन्तर
थकित सुस्केराहरू
बुढा बाआमाका निःश्वासबाट
लाग्छ,
बुढौली मनलाई
जीजिविषाको बैशाकी गुमाएजस्तो
फक्रिँदै गरेका
साना नानीका गालाभरि
आशाका राता गुराँसहरू
कोपिलामै ओइलिन थाल्छन्
परदेशी बाबाको रिक्ततामा
महसुस हुन्छ
सुन्दर भविष्यको झोला
च्यातिदै गएजस्तो
लाग्छ,
देशकै सुन्दर सपना
भत्किएजस्तो
तन्नेरी तन
र तन्नेरी मनको रिक्ततामा
मेरो देशमा
सपनाका घरहरू बन्न सकेका छैनन्
किनकि
देशभित्र
लाटोकेसेरो हुन बाध्य बनाइन्छ
तन्नेरी मनहरूलाई
काम, माम र दामको अभावमा
गौथली बनाउन
देशबाहिर पठाउनुपर्छ
जबर्जस्ती
बादको जहाज चढाउनुपर्छ
– यता हाम्रो सरकार
लाचारीपन देखाउँछ
‘देश रेमिट्यान्सबिना धान्न सकिदैन’
देशलाई
स्वीजरल्याण्ड बनाउने
गुलियो सपना बाँड्दै
सत्ताको भर्याङ
चढ्दै गरेको सरकारलाई
सोध्न मन लाग्छ
केवल रेमिट्यान्सले
देश स्वीजरल्याण्ड बन्छ कि बन्दैन ?
आफ्नै माटोमा नरोपेर सपना
हराभरा हुन्छ कि हुँदैन ?
०००
गैरीगाउँ, रोल्पा
