गेथाती

कविता : भूतपूर्व प्रेमिकाको नाउमा

क्षितिज मगर
१ बैशाख २०८१, शनिबार

मेरी भूतपूर्व प्रिय मान्छे !
आज तिम्रो विजयोत्सवको धूनले
मेरा सामान्य जीवनको लय तरङ्गित बनेको छ ।

टेकेर मेरा छातीमाथि
कुनै नाबालकझैँ उभिन सिक्यौ
र, पो आज बेरोकटोक
पाइला चाल्न पाइरहेकी छौ– निन्तर
तोडेर मसितको सम्बन्ध
गुँड छाडेकी चरीलेझैँ उड्न जान्यौ
र, पो आज निश्चिन्त
शिखरमाथि मुस्कुराउन पाएकी छौ– मुसुक्क ।

म त एक भुईँ न हुँ
यही भुईँमाथि उभिएर
सपना देखेथ्यौ कुनैबेला
त्यही सपनाको पखेटाले
उडाएर तिमीलाई लग्यो कताकता
यसरी हामी नछुट्टिएको भए
तिमी यतै कतै डुल्थ्यौ होला सायद
तिमी यतै कतै भुल्थ्यौ होला सायद
फुल्थ्यौ होला मेरै हाँसोमा
बोल्थ्यौ होला मेरै चासोमा
आँधी पछिको साँझ जसरी मन बिथोलिएको छ सम्झेर
भूकम्पपछिको घर जसरी छाती हल्लिएको छ बेस्सरी
मेरी भूतपूर्व प्रिय मान्छे !
आज तिम्रो विजयोत्सवको धूनले
मेरा सामान्य जीवनको लय तरङ्गित बनेको छ ।

हो, म त एक भुईँको माटो न हुँ
मेरा अङ्ग प्रत्यङ्गमाथि टेकेर
उभिएका तिम्रा पाइला छुटाएर जब
मजस्तो एकपछि अर्को ‘भुइँ’हरूको
माटोलाई सिडी बनाएर उक्लियौ
त्यसपछि मभन्दा अझ अग्ला माटोहरुका
झनै अग्ला सिडी बनाएर सर्वोच्च शिखर पुग्यौ
लाग्छ, शिखरबाट धेरै धेरै चिजहरू देखिन्छन्
पर परसम्म देखिन्छन् होला– पहाडहरू, हिमालहरू, क्षितिजहरू
तल तलसम्म देखिन्छन् होला– खोलाहरू, खेतहरू, फाँटहरू
तर तिम्रो मुन्तिरका थुम्कामुनि
म र मजस्तै भुईँहरू देखिन्नन्
सम्झ– तिम्रा पाइतला बोकेका
सर्वोच्च शिखरलाई काँधमाथि थाम्नेहरू
म र मजस्तै भुईहरू नै हुन्
ए शिखरप्रेमी मेरी भूतपूर्व प्रिय मान्छे !
आज तिम्रो विजयोत्सवको धूनले
मेरा सामान्य जीवनको लय तरङ्गित बनेको छ ।
०००
रोल्पा (हालः घोराही, दाङ)