गेथाती

कविता : यदाकदा ठोक्किने तरङ्ग

हिँड्दा हिँड्दै
छोड्न नसकेका अतीत्–
खाली खुट्टाले चुमेको त्यो गग्रेटो बाटो
नाक ठोकिने उकालो
पहिरोमा झुन्डेर गएका एकहुल मेरा बाका पाइलाहरू
बाजेले मधेसबाट बोकेर उकालै ल्या’को
नुनिलो जिन्दगी
बिहानै दम रोगी आमाले उकालै
बोकेको तिर्खा मेट्ने उच्छ्वास
आधाराततिर
एक हुल तिर्खाएका यात्रा
स्मृतिबोर्डबाट समयको डस्टरले
मेट्न नसकेको सम्झना
दिदीले मस्काको खर्कुडा

एक पोका बारुद लुकाउन हम्य परेको बुबाको आतेस ।

दुःख पनि उम्लिन्थ्यो
परदेशबाट आएको धनेले
मोटै रकमको चन्दा दिनुपरेको कथा ।

खुशी उस्तै झ्याङ्गिन्थे
गाउँ पिराहा दोक्चेलाई जनकार्यवाही हुँदा ।

हेर्दाहेर्दै
मक्किन नसकेको अतीत्
सत्ता परिवर्तन भएर पनि
अवस्था नफेरिएको गाउँ
स्खलन भएका सपनाका चुचुराहरू ।

गाउँमा साँघुरो सही बाटो पुगेका छन्
गाडिदै, टाउको ठड्याउँदै ट्याक्टर पुगेका छन्
घरघर चामलका बोरा पुगेका छन्
खेतबारी बाँझै भएर
धाजो छैनन् कर्मी खुट्टाहरूका
मोबाइलमै व्यस्त देखिन्छन् परिश्रमी हातहरू ।

गर्दागर्दै छोडिएका संस्कृतिहरू
बुबाआमाका, बाजेबजुका खुट्टाहरूले
देख्न छोडे सन्तानको निधार
आशिष् चाहिएन
आमाको मारवाडीसँग
साट्न चाहन्छ कुनै परदेश
गाउँमा
सुविधा फेरियो
सँगै रोजगारी ओढेको जोडी नभए पछि
आमाको माटो एक्लिँदो रहेछ
हेर्दा हेर्दै साष्टाङ्ग डण्डवत् त उहिल्यै गएको
सेवाढोग, ढोग नमस्ते, प्रणाम छैनन् ।

अचेल शून्य छ देउराली
पत्करले भरिएको देखिन्छन् देवीथानका एक मुठो त्रिशुल
रोएजस्तै रङ्ग उग्लेका ध्वाजाहरू ।

सोच्दासोच्दै फुरेका कुरा
मर्नुअघि भन्नुछ छोराछोरीलाई
शहरमा बसे पनि
गाउँ कहिल्यै नबिर्सनू
कमायौ भने चेतनाका फूल
बेलाबेला चढाउन आउनू
बाजेको विरासतमाथि ।

यो स्वर्थको हुलभित्र
त्यही भेट्ने छौ
आफू हुनुको शिरफूल ।
०००
त्रियुगा न.पा.–११ उदयपुर, नेपाल