गेथाती

घट्टले झैँ धुलोपिठो, दुःख केले पिस्छ यानीमाया…

अनिल बुढामगरको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ। यानीमाया गीत म्याग्दी, बाग्लुङ, रोल्पा र रुकुम पूर्व वरिपरि निकै प्रचलित मौलिक गीत हो । त्यही मौलिक गीतको रिदममा ‘घरज्वाइँ’ चलचित्र निर्माण गर्ने कोसिस गरेका छन् l शनिबार युट्युवमा सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्।

सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको सङ्गीत तथा स्वर रहेको छ। यही गीतको रिदममा सिनेमाको व्याकग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केही दिनअगाडि आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए। सिनेमाको दृश्य, भाषा र क्यारेक्टरको हिँडाइ र बोलाइलाई समेत सिनेमाको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो।

जीएम मूभिज र एबीएम सिनेमा प्रोडक्सनको व्यानर निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। रुकुम पूर्व आसपासमा छायाङ्कन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

सिनेमालाई जनक घर्तीमगरले निर्माण गरेका हुन्। सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगरको अभिनय छ। सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापामगरको शब्द तथा संगीत छ। कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो। एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ। नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ।