गेथाती

कथा : सपनाको पर्खाइ

दिलिप डाँगी
१७ आश्विन २०८१, बिहीबार

“साना म हिँडेको ल…!”

घोराहीको मनकाशी सिनेमाघरमा ‘खुश्मा’ चलचित्र हेर्दै गर्दा अचानक मेरो मोबाइलमा यस्तो खालको मेसेज आयो ।

“कहाँ हिँड्‌न लागेको बेबी ?”, मैले जवाफ मेसेजमै फर्काएँ ।

“म प्लेनमा छु अहिले, आफ्नो ख्याल गर्नू है ? अब दुई वर्षपछि भेटौँला ..!”¸ उताबाट जवाफ आयो ।

म झसङ्ग भएँ र अत्तालिँदै सोधेँ, “बेबी के भनेको ? मैले बुझिनँ ।”

“म परदेशतिर लागेँ साना, अहिले प्लेनमै छु¸ उता पुगेपछि खबर गर्छु निल बाई…!” उसले जवाफ फर्काई ।

यताबाट मैले थुप्रै मेसेज पठाएँ तर जवाफ आएन, सायद नेपालको सीमा कटर होला । नेपाल टेलिकमले काम गर्न छोड्यो ।

यसपछि मेरो मन‌मा छुट्टै खालको बेचैनी सुरु भयो । अस्ति भर्खर भेट हुँदा त त्यस्तो बाहिर जानेबारे केही पनि भनेकी थिइन । आखिर एकाएक किन यस्तो निर्णय गरी होली ?

पहिलोपटक बाहिर जान लागेकी, बाआमाको लाड प्यारमा हुर्केकी एक्ली सहरिया केटी आजसम्म दुःखको महसुस गर्न नपाएकी मेरी उनी उता पुगेर के पो गर्ली ? अपरिचित संसारमा कसरी आफूलाई परिचित बनाउली ? कुन अवस्थामा रहली ? यस्ता अनेकौँ सवालहरू मेरो मनमा खोजिरहेँ ।

म जतिखेर पनि मेसेन्जर अन गरेर बसिरहेँ– उसको मेसेज आउँछ कि भनेर । धेरै समयको छट्पटीपछि मेसेन्जरमा मेसेज आयो– “साना, म एयरपोर्ट आइपुगे….. कम्पनीको मान्छे लिन आउँछु भनेको छ । त्यसैको पर्खाइमा छु, म रुम पुगेर तिमीलाई खबर गर्छु नि है.. !” यति भनेर ऊ अफलाइन भई ।

फेरि अर्को औडाहा सुरु भो मेरो मनमा ।

नेपालको लगभग ९:३० बजेतिर उसको मेसेज आयो, “म रुममा आइपुगे साना…. अस्तव्यस्त छ रुमको हालत, एउटा रुममा छ जना राखेको छ¸ श्रीलङ्‌‌कन, इण्डियन, नेपाली । के सोचेर आकोथेँ, के भयो बेकार आएछु ।” यस्तै यस्तै पश्चातापीय पीडा सुनाउँदै थिई ऊ ।

“ल ल बेबी थकाई लाग्या होला भोलि बोलौला गुड नाइट… !”

त्यो रात जसोतसो छट्‌पटीमा बिताइ‌यो । म भने आँखा खुल्नासाथ मेसेञ्जर अब गरिहाल्थे– उसका केही मेसेजहरू आएका छन् कि भनेर ।

अर्को दिन बिहान उसले मेसेज गरी, “अब म कम्पनी जाँदैछु, एग्रीभेन्ट गर्न दिउँसो बोलौँला ।”

“शुभ यात्रा बेबी ।” मैले यहाँबाट जवाफ फर्काएँ ।

त्यही दिन दिउँसो फेरि मेसेज आयो, “२ वर्षे एग्रीभेट, १० घण्टा ड्युटी अनि ओ.टी. (ओभर टाइम) चल्यो भने १२ घण्टासम्म काम गर्नुपर्छ ।” यस्तै यस्तै !

त्यो दिन‌को राति ऊ उता पुगेदेखि बल्लतल्ल भिडियो कलमा बोल्न पाइयो । सुरुमै मैले प्रश्न तेर्स्याएँ, “तिम्ले यति ठूलो निर्णय लिइसक्या रैछौँ बाहिर जाने भनेर तर अस्ति भेट हुँदा किन भनेनौ मसँग ?” मैले अलि रुन्चेपारामा सोधेँ ।

“तिमी कति धेरै ‘इमोसशनल’ छौँ… सानोसानो कुरामा पनि ‘इमोसशनल’ भइहाल्छौ… सानोसानो कुराले पनि तिम्लाई छोइहाल्छ, रोइहाल्छौ… मैले यो सब कुरा तिम्लाई भनेको भए तिम्रो के हालत हुन्थ्यो होला भने त ?” उसले मायालुपारामा भनी ।

हुन पनि हो म त्यस्तै छु । सानोसानो कुराले पनि छोइहाल्छ मलाई, रुन मन लागिहाल्छ । अझ आँखामा आँसु पहिले तत्पर भएर बसेका हुन्छन् खस्नलाई ।

उसले पहिले नै यी सब कुरा भनेको भए सायद मेरो हालत अलि बढी नै खराब हुन्थ्यो होला । म उसलाई जाने दिदैनथेँ । नजाऊ भनेर कति रोईकराई गर्छु होला त्यो बेला । जसरी एउटा बालक आफ्नी आमासँग जुन रूपमा रोइकराई गर्छु त्यसरी नै मेरो पनि त्यही हालत हुन्थ्यो होला सायद ।

उसको भेट्नुभन्दा अधि त भनेकी थिई नि– जसरी भए नि भेटौँ… यदि अहिले भेट भएन भने हाम्रो भेट दुई वर्षपछि मात्रै हुने छ वा कहिल्यै नहुन पनि सक्छ भनेर । त्योबेला मैले कारण जान्नेतिर लागिनँ । आखिर ती सब मेरै लागि, मेरो भन नदुखोस् भनेर त रैछु नि ।

अर्को दिनबाट उसको ड्युटी सुरु भयो । नेपाली समय अनुसार बिहानको ९ देखि साँझको ७ बजेसम्म काम गर्नुपर्ने ।

उताको समयअनुसार ४ बजे उठ्नुपर्छ, खानासाना पकाउने नुहाउने गर्नुपर्छ । ६ बजे कम्पनीको गाडी आइहाल्छ हतारहतारमा उठ्नुपर्छ भन्थी ऊ ।

‘गुड मर्निङ’देखि लिएर ‘म काममा हिँडेथेँ’सम्म अपडेट दिँदै रोमान्टिक स्टिकरहरूको लर्को लगाउँथी । ऊ मेसेन्जरमा अनि कामबाट फर्के लगतै । ‘म कामबाट आए’देखि ‘गुडनाइट’सम्मको अपडेट पनि दिन्थी ऊ । तर अपसोच ऊ ड्‌युटी जाँदा म सुतिरहेको हुन्थे भने ऊ कामबाट फर्किँदा म निदाइरसकेको हुन्थेँ । उताको समय र यताको समय ठ्याक्कै प्रतिकुल भइदियो हाम्रो प्रेममा त्यसमाथि न आफ्नो घरमा नेटको सुविधा छ, न त डाटा किन्न नै सकिन्छ । नेट छन त छ नि तर घरदेखि अलिक हिँडेर जानुपर्छ । अब मध्यराति त्यसमाथि वर्षाको बेला झन त्यसमाथि विस्तारै चिसो मौसम पनि सुरु हुँदैछ । प्रत्यक्ष अडियो, भिडियो कल त सम्झिने मात्रै भो कस्तो विड‌म्बना ।

रातभर मनमा अनेकौँ कुरा खेलाउँदै कहिले भाले बास्ला भन्ने पर्खाइमा हुन्छु म । भालेको पहिलो डाकामै  ब्युँझिन्छु । अनि उठेर दैनिक नित्यकर्म गर्न थाल्छु । १५/२० मिनेट जति ध्यान गर्छु अनि न्यानो न्यानो लुगा लगाएर निस्किन्छु मर्निङवाक । मर्निङवाक त केवल बहाना हो, फर्किदाखेरि बाटोमा कसैको ‘वाइफाइ’ भेटिन्छ कि भनेर ‘सर्च’ गर्दै फर्किने हो । भाग्यले वाइफाइ भेटिएर ‘कनेक्ट’ भो भने हतपत्त उसको मेसेज हेर्ने अनि उसलाई मेसेजको रिप्लाई गरिहाल्ने हो, अडियो रेकर्ड गर्दै सञ्चो बिसञ्चो… तिम्रो धेरै याद आउँछ… तिम्रो धेरै याद आउँछ… यस्तै यस्तै हरेक दिन बिहानीको दिनचर्या नै बनेको छ ।

उसको मेसेज हेर्दा अनि उसलाई जवाफ फर्काउँदा एकछिन त मन शान्त हुन्छ तर रातदिन मनमा औडाहा भइराख्छ, उसकै यादले न राम्रोसँग निद्रा पर्छ, न त भोक नै लाग्छ । बेलाबेलामा झसङ्ग व्यझिन्छु अनि सम्झिन्छु कतै उसलाई अप्ठ्‌यारो पर्‍यो कि उसलाई सन्चो भएन कि भनेर । झनझन तनाव बढेर आउँछ ।

म अझै पनि सकिन्छ उसलाई पहिलोपटक भेट्दाको त्यो पल, ऊसँग बिताएका हरेक मिनेट मेरा लागि याद‌गार र अविस्मरणीय छन् । पहिलेपाक भेट्दा उसले अंगालो हालेर एकटकले मलाई हेरिराखेकी होस् या उसका रेशमी केशले उसको मुहारसम्म झरेर उस‌लाई स्पर्श गर्दा ती केश सुम्सुम्याएर कानको माथिसम्म पुर्‍याएको होस् या हरेकपटक खाना खाँदा एक गाँस मलाई खुवाएर आफूले खाएको किन नहोस्, हरेक क्षण हरेक पल मेरो ख्याल गर्ने गरेकी अभिभावकले जसरी, ऊ सँगसँगै हात समातेर यात्रा गरेको होस् या ऊसँग छुट्टिदा अंगा‌लो हालेर भक्कानो फुट्ने गरी रुँदै उसको निधारमा चुमेको सबै कुरा झलझली सम्झिन्छु । अनि जसोतसो आफूलाई सम्हाल्छु अनि कल्पना गर्छु । दुई वर्षपछि वर्षपछि ऊसँग भेट हुने त्यो मीठो पलको । मनमनै सोच्छु दुई वर्षपछि उसलाई भेट हुनासाथ बेस्सरी अंगालोमा कसेर भक्कानो फुट्नेगरी रुन्छु, उसका हात, निधारमा चुम्छु भनेर यस्तै यस्तै…!

कहिलेकाहीँ मर्निङवाक गर्दागर्दै मौकाले नेट भेटेसी ‘भिडियो कल’मा बोल्ने वातावरण भयो भने म पहिले नै रोइहाल्छु । आँखाबाट बर्बर आँसु झारिहान्छु । जत्ति रोक्छु भने पनि आफूलाई सम्हाल्नै सक्दैन ।

ऊ फेरि सम्झाउँछे– “बल्लबल्ल यतिका दिनपछि भिडियोमा बोल्न पाइएको छ, नरोऊ न साना । तिमी रोयौ भने मलाई झन गाह्रो हुन्छ के । मैले झन तिम्लेभन्दा धेरै याद गर्छु, म तिम्रो आँखामा कहिले पनि आँसु देख्न चाहन्नँ । तिम्लाई म सधैँ खुसी भएको हेर्न चाहन्छु ।” उसने यति भन्दै गर्दा म झन आफूलाई सम्हाल्नै सक्दिनँ झन भक्कानिएर रुन थाल्छु ।

त्यसपछि ऊ भन्छे– “तिमी यसरी रोयौ भने म बोल्दिनँ नि फेरि ।” त्यसपछि म एकछिन चुप हुन्छ ।

“तिमी मध्यरातमा बाहिर निस्केर मलाई भेखेन मेसेज है साना ? चिसोको मौसम छ, तिम्लाई चिसोले समात्यो भने ? दिन आफ्नो हुन्छ, रात अरुको भन्ने थाहा त होला नि ?”

म सुक्कसुक्क गर्दै टाउको हल्लाएर उसको कुरालाई समर्थन गर्छु ।

“यदि तिम्लाई केही भयो भने ?”

“अब एक महिना पर्ख न । त्यसपछि जसोतसो म व्यवस्था गर्छु अनि आफ्नै रुममा बसेर नेट चलाउँदै गफ गर्नुपर्छ ।” भन्दै बेलाबेलामा भावुक हुन्छे ऊ । तर म जत्तिको रुन्चेपारामा चाहिँ है नि ।

“दुई वर्ष कुरेर बस न साना । त्यसपछि त हाम्रा नि खुसीका दिन आउछन आइहाल्छन् ।” यस्तै यस्तै कुराले सम्झाउछे ऊ ।

अचम्मको कुरा मैले उसलाई सम्झाउने हो खासमा तर उसले उल्टो मलाई सम्झाउँछे । परदेशीएकी त ऊ हो नि तर लाग्छ म नै देशबाहिर छु जस्तो । हुन पनि हो ऊबिनाको देश मेरो लागि परदेशसरह नै हो ।

रुन मन त उसलाई पनि पक्कै लाग्छ होला तर ऊ आँसु देखाउन नचाहने केटी हो । उसलाई थाहा छ, ऊ रोई भने मलाई झन् गाह्रो हुन्छ भनेर । त्यही भएर जसोतसो ऊ आफूलाई सम्हाल्छे र मलाई सम्झाउँछे ! यस्तैयस्तैमा दिनहरू बित्दैछ आजभोलि ।

अत्तालिएको अनि अस्थिर मनलाई शान्त पार्नका लागि कहिलेकाहीँ खेतबारीतिर डुल्न जान्छु, कहिले एकान्तमा गएर बन्छु तर अहँ उसको याद ‘बीसको उन्नाइस’ पनि हुन्न । झन बढेर ‘एक्काइस’ हुनपुग्छ । गीत सुनेर हुन्छ कि भनेर ‘फुल भोलुम’मा ‘इयरफोन’ लगाएर बस्छु तर अहँ त्यसरी नि हुन्न । राति बिस्तारामा  पल्टिँदा उसका अडियो मेसेजहरू सुन्छु, ऊसँग भएका रोमान्टिक मीठामीठा सँगै मर्ने सँगै बाँच्ने कसम खाएका मेसेजहरू पढ्छु र एकैछिन भए नि मुस्कुराउँछु । उसका तस्बिरहरू हेर्छु, थाहा छ उसका तस्बिरहरू बोल्दैनन् तैपनि ‘बेबी’ भनेर बोलाउँछु, उसका तस्बिरकहरूलाई स्पर्श गर्छु, चुम्छु अनि लामो सास फेर्दै मनमनै भन्छु– “यी दिनहरू पनि कति ढिला बितेका होलानु है । यदि मसँग अलौकिक शक्ति हुन्थ्यो भने दिन हप्ता, महिना, साल फेरेर अहिलेको अहिले नै २०८३ साल बनाइदिन्थेँ जस्तो लाग्छ तर कहाँ सकिन्छ र विज्ञानका विरुद्धमा जान ?”

कुनैबेला सामाजिक सञ्जाल फेसबुक, टिकटकतिर त्यस्तो सक्रिय हुने, र‌माइला कुराहरू लेख्दै बस्ने म हिजोआज त्यतातिर छाडेर उसको ‘यादञ्जल’मा हराउन थालेको छु । हिजोआज जस्तो लाग्छ उसको याद मेरो लागि यस्तो जागिर हो, जहाँ मलाई शनिबार पनि छुट्टी मिल्दैन ।

भगवान् श्रीकृष्ण भन्नुहुन्छ- ‘जसको यादले तिमीलाई सताउँछ उसको हृदयमा पनि तिमी नै हुनेछौँ ।’

हुन पनि हो भगवान् श्रीकृष्णको त्यो सन्देशलाई प्रमाणित गर्न कतै टाढा जानै पर्दैन । म र मेरो बेबीलाई हेरे पुग्छ । जिन्द‌गीको आफ्नै नियम छ, पर्खे भेटिन्छ सत्य देखिन्छ । हो त्यही दिनको पर्खाइ‌मा छु म– जुनदिन उनलाई भेटेर बेस्सरी अंगालोमा कसेर भक्कानिएर रुँदै उसलाई मभित्रको माया दिन चाहन्छु ।

अचानाक ठूलठूलो आवाजमा ‘ढकढक’को आवाज मेरो कानमा ठोक्किन पुग्छन् । म झल्यास्स ब्युँझिन्छु । ब्युँझिदाखेरि म डराएको जस्तो थरथर काँपेको जस्तो महसुस गर्छु । अनि उठेर यसो बस्छु भनेको त बाहिर घरका मान्छेहरू गज्याङगुजुङ गरेको आवाज सुन्छु । उनीहरू भन्दै हुन्छन् कि ‘यो फलानो (म) आज यतिका बेला भइसक्दा नि किन उठ्‌दैन ? अघिपछि त ५ बजे नै उठेर मर्निङवाक गइहाल्थ्यो । के भएछ आज ।’ यस्तै यस्तै भन्दैथे । म हत्तपत्त उठेर ढोका खोलेँ र फेरि बिस्तारामा आएर पल्टेर सोच्न थालेँ, ‘सपना पनि कस्तो ठ्याक्कै नेपालकै परिवेशमा घटेको वास्तविक घटनाजस्तै देखियो … हे भगवान् ती दुई प्रेमिल जोडीको छिट्टै मिलन होस्’ भन्ने कामना गर्दै आफ्नो कामतिर लागेँ ।

०००

TAGS: कथा नेपाली कथा