मूर्ति बन्नुपूर्व कतिपटक खोपिन्छ एक पत्थर ?
शालिग्राम बन्नका लागि कति लछारिन्छ एक शीला ?
औजार बन्नका लागि कतिपटक पोलिन्छ लौह ?
एउटा आगोको झिल्को जोगाइराख्न छातीमा
कति पटक ढड्छ होला खरानी ?
एउटा मोती बनाउन कति कहर सहन्छ एक शङ्खेकीरा ?
त्यस्तै –
एउटा सामान्य बालक कवि बन्न
कति खारिन्छ दुखको आरनमा ?
माथिका भावहरू कवि समीप बैरागीको कवितासङ्ग्रह `साहीमासा´मा रहेको उनले तय गरेको जीवनयात्रा पढेपछि उठेका हुन् । उनका भनाई पढिरहँदा धेरै पटक भक्कानिएँ, धेरै पटक रोकिएँ । कविप्रति असिम श्रद्धा जाग्यो र एकै साँझमा उनको कवितासङ्ग्रह पढेर सकेँ । कविता झ्यास्सै लेखिन्छ र कवि पनि झ्याप्पै भइहालिन्छ भन्ने सोच राख्नेहरूका लागि राम्रो पाठ सिकाउँछ उनको कठोर तपस्याजस्तो कवितायात्राले ।
अन्य सामान्य बालकझैँ मोजाको भकुण्डो खेल्ने रहर नसकिँदै किशोरावस्थामै ग्रिनेड र बारुदसँग खेल्नुपर्ने नियति, पढ्ने रहर हुँदाहुँदै स्कुल छोड्नुपर्दाको पीडा, प्रेम, परिवार र देश छोडेर परदेशीनुको चोट अनि सकसपूर्ण मजदुरको जिन्दगी ।
मलाई अद्भुत लागेको कुराचाहिँ यो हो कि यति विषम परिस्थितिमा पनि खरानीले आगोलाई निभ्नबाट जोगाएझैँ, मरुभूमिले आँतमा जलकुन्ड लुकाएझैँ कसरी लुकाउन सके कविले कविता ?
क्रूर समयले कोर्रा मारिरहँदा कविले कता लुकाइरहन सके होलान् कोमलता ?
युद्ध र जीवनमरणको पौठेजोरी गरिरहँदा कसरी जोगाइरहन सके मानवता ?
यसैले त लाग्छ उनका कविता कागजमा कलमले लेखिएका अक्षर नभएर समुन्द्रबाट पिटिएर बनेका किमती मोतीका दाना हुन् ।
‘घृणा’ शीर्षकको एउटा सानो गहकिलो कविता राख्छु-
देश बेचिन लागेको दु:खद समाचारले
घृणा जागिरहेको छ
प्रिय लाग्ने
आफ्नै औँठाहरूप्रति !
यस्ता छोटा कविताहरूले पनि गहन विषयवस्तुहरू बोकेका छन् । सामाजिक मुद्दाहरू उठाएका छन् । बेथिति र विसंगतिको विरोध गरेका छन् ।
आजभन्दा एकसाल पहिले नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौँको सहकार्यमा ‘स्वर्णिम साहित्य समाज बराहक्षेत्र सुनसरी’ले आयोजना गरेको प्रज्ञा कविता उत्सव २०८० मा कवि समीप बैरागीसँग हामी संगै सहभागी भएका थियौँ । बराहक्षेत्र, नडाहाको एउटा होटलमा यही ´साहीमासा` शिर्षकको कविता सनाएका थिए । त्यसको एकसालपछि साहीमासालाई नै समग्र सङ्ग्रहको नाम राखेर एउटा सशक्त कवितासङ्ग्रह बजारमा ल्याएका छन् ।
कविले कवितामा दिएको शब्दार्थ अनुसार मगर समुदायमा विवाह गर्नुभन्दा पहिले घरका अभिभावकहरूको सहमति वा गोप्यरूपमा केटाले केटीलाई छेकबारको लागि दिने रकम वा कुनै बहुमूल्य वस्तु रहेछ ।
मगर जातिमा आफ्नो मामाको छोरी आफूभन्दा कान्छी भए साली साइनो र आफूभन्दा जेठी ‘मारुम’ (भाउजू) साइनो पर्दोरहेछ । साहीमासा कवितामा मगर समुदायको एक जना केटाले आफूभन्दा जेठी आफ्नो मामाको छोरीलाई साहीमासा दिएका हुन्छन् । पछि केटी अर्को लाहुरे केटासँग विवाह गरेर गएपछिको वियोगान्त कथा छ कवितामा ।
कविले लाहुरेप्रथाले ग्रसित समाजको नम्र र घुमाउरो तरिकाले विरोध गरेका छन् । केही गुनासाहरू पोखेका छन् । कविताको अन्तिम हरफमा नयाँ पुस्ताहरू यसरी प्रेमको मलामी जान तयार होलान् कि सङ्घर्षको पाइला अघि बढाउलान् ? भनेर प्रश्न गरेका छन् ।
सङ्ग्रहका प्रत्येक कविताले मन मस्तिष्क बिथोलेर जान्छ । बिचारले तरङ्ग ल्याइदिनसक्छ ।
रोल्पा र रुकुमको मगर खाम भाषाको बर्चस्व बोकेका कविता पढ्दा यस्तो लाग्यो मगर खाम बाहुल्यता भएका स्थानीय पाठ्यक्रममा यस्ता कविता राख्ने पहल हुन्छ कि हुँदैन ?
प्रकाशक ‘रोल्पा कला साहित्य प्रतिष्ठान’ र मगर समुदायका अगुवाहरूको ध्यान त्ययतातिर पनि जाओस् भन्ने कामनासहित कवि समीप बैरागीलाई बलियो कविता कृति दिएर नेपाली साहित्य धनी गराउनुभएकोमा हार्दिक बधाई छ ।
०००
