गेथाती

कविता : चाख्सर

रेजीना खालिङ
१६ चैत्र २०८१, आईतवार

कुनैबेला…
‘सोल्ठी ज्यू, चाख्सर1 खाई जाऊ न’ भनेर
निख्खर निगार खुवाई पठायो ।
कुनैबेला…
‘घ्याम्पा पखालेको, आऊ न खाई जाऊ न’ भनेर
कोदोको छिप्पेको जाँड खुवाई पठायो ।
कुनैबेला…
‘पातलो छ हउ !
तिर्खा मेटाई जाऊ न’ भनेर
सिङ्कै अडिने जाँड खुवाई पठायो ।
मातेर,
एकदिन…आफ्नै पो खुट्टामा अल्झिएर
सम्दिनीको अगाडि पछाडिएँ अरे,
एकदिन…
कुलेसोमा उधोमुन्टे भएँ अरे ।
भालिपल्ट…
कान्छी–दिदीले सुनाउँदा पो लाजले राताम्य भएँ ।
अब त, ए होई…सोल्ठीनी
त्यसरी नखुवाउनू हौ भन्नु नि खै ! कसरी ?
घरअगाडि आइपुगेपछि
त्यस्सै–त्यस्सै पो घाँटी खस्खसाएर
कट्मेरो खोकी आउँथ्यो ।

अब त खै ! त्यो सोल्ठीनी
कता भासियो– भासियो ?
उसको हातको चाख्सर खाएर नमात्तिएको धेरै भयो ।
धेरै पो भयो…
चिप्लेझारजस्तै चिप्लो बोली नसुनेको ।

सपनाको ढुङ्ग्रो
विपनामा घोप्टिदिँदा
पोखिन्छन् सबै सपनाहरू
र त !
मनको बुचो लगाउँदै,
ढुङ्गाले मुटु थिच्दै,
कलेजी उन्दै उन्दै तीरमा,
बयेली खेलेझैँं भई हिँड्दा
झन्ड–झन्डै उडाइलान्छ त्यो बतासे हावाले

सपनामा झलास्स देख्छु
झसङ्ग व्यूझेर निन्द्रमै
उखेलेर परेलीहरू
हेर्छु चिङ्गा
आफ्नै हत्केलामा मिसाएर आँसुका थोेपाहरूसँग ।
फटयाङ्ग्राले हात तेर्स्याएझैँं
म मेरो चिउडो तेर्स्याइरहन्छु
सोल्ठीनीको न्यास्रोले
अनि त !
हमेशा पर्खिरहन्छु बर्ख2 को जाँड
स्यालले सिमलको फूल पर्खिरहेझैं ।

जति अग्लिदै गए पनि कलिलो तामा
भुँइतिरै नुहिएझैं
अनि, जति राम ! राम ! गरे पनि
जाँडको कस बसेको मान्छे
पछाडिबाट मर्चाले छर्किदिए पनि लाग्छ भन्छन्
तर हैन रैछ
अचेल त जाँडमा पासो थापे पनि
पर–परै हेलिन्छु ।

घस्रिन छाडे बालुवामा घुँडा
जोतिन छाडे ढुङ्गामा अनुहार
बेलैमा पुग्ने गर्छु मेलापात

अनि पुग्छु
मर्दा–पर्दाको समाजमा ।
न मार्छु गाई–वस्तु भोक प्यासले ।
चाङ् लाउँछु कटेरा भरि–भरि दाउरा
सोल्ठीनीको सम्झनाभन्दा नि अग्लो–अग्लो ।
जम्मा पारेर झिलाङ3 खनजोत गर्छु
खेतबारी अनि पखेराहरू ।
म त साच्चै ! रुचुलुङ4 मा उद्याएको
खुकुरीभन्दा नि बढी काम लाग्ने भएँ ।

उसको मर्चाले म बिग्रेको
देखी नसहेर नै होला सायद
सोल्ठीनीले चटक्कै छाडेको गाउँ ।
जानेबेला
गाउँघर नछोड
बरु… म जाँड छोड्छु भन्न नि पाइनँ
गाउँघर छाड्दा रुन्छन् चुलाहरू
रिसाउँछन् कुलहरू
भन्ने विचार त पक्कै ! गरेको थियो होला ।
तर …उसको हातको जाँडले
म बिग्रेको सम्झेर होला
मन नफर्काएको नि ??
यतिबेला कहाँ पुग्यो होला है ?
पछि–पछि दौडेर गएर
जाँड छोडेँ सोल्ठीनी हउ !
तिम्रो हातको चिया खाएर
मेटाउँछु तिम्रै तिर्सना
भनेर फकाउदै फर्काउन मन छ
मेरी सोल्ठीनीलाई !!!

०००

  1. खालिङ समुदायमा पाहुना पाछालाई जाँड खुवाउँदा प्रयोग गरिने शब्द चाख्सर जसको अर्थ : पातलो, सङ्लो जाँड ↩︎
  2. खालिङहरूको घरको एक साइट हो जहाँ जाँड, जातो, पिठो आदि इत्यादि राखिन्छ । ↩︎
  3. बारीमा छरिएर रहेको कसिङ्गर ↩︎
  4. हतियार उध्याउने ढुङ्गा ↩︎