गजल–एक
यादको खण्डहर झन् पुरानो छ
रहरहरूको खबर झन् पुरानो छ
सोच्नेहरूले के सोच्छन् थाहा छैन
डराउनेहरूको यो डर झन् पुरानो छ
नयाँ सफरहरू बन्दै बनेका छैनन्
आखाँले हेर्ने नजर झन् पुरानो छ
मेरो सर्ट पुरानो पुरानो भएछ
सर्टको टाँकघर झन् पुरानो छ
बल्ल दुनियाँले चिन्न थालेछन्
जिन्दगीको बगर झन् पुरानो छ ।
०००
गजल–दुई
एक योजना बनाउनुछ सन्ध्यातिर
नत्र पूरै बस्ती लुटिनसक्छ उषातिर
आउन त आयो, शिर बचाउने कुरा
बढी प्रहार हुनसक्छ फेरि खुट्टातिर
नजिक भएका मान्छे इशारा बुझ्दैनन्
किनकी नहेर्दारहेछन् मेरा आँखातिर
सबथोक चिन्यो त्यहाँ एक पागलले
त्यस्तो नहुँदोरहेछ तिम्रो दुनियाँतिर
आज म निरास हुनुको कारण यो हो
साँच्चै उनी गइन् हेर्दै नहेरी चेहरातिर ।
०००
दाङ (हालः काठमाडौँ)
