सदियौंदेखि बर्बर शासकहरूले
लखेटिएर पनि नलखेटएको
दबाएर पनि नदबिएको
होच्याएर पनि नहोचिएको
म हुँ आदिवासी ।
मित्रताको धोका साटेर
बालुवामा हतियार गाडेर
जिउँदै छाला काढेर
मासिन्याको स्ट्याम्ले डामेर
छातीमा गोली दागेर नसकिएको
म हुँ आदिवासी ।
पिपा बनाउँदा
पैतालामा गढेको खिल
कुनै दिन मुटुसम्म पुग्यो भने
डम्फुले सेलो मात्र गाउँदैन
इनकलाबको खाँडो जगाएको दिन
तिम्रो मूलघरको अस्तित्व के रहन्छ ?
यो मेरो आदिभूमि
मेरो सर्वस्व, मेरो मुक्तिक्षेत्र
पहिचानको लुङ्दर
जहाँ मेरा पुर्खाहरूको आशीर्वचन फर्फराइरहेका छन्
धम्मपद र त्रिपिटकका ऋचाहरू ध्वनित भइरहेका छन् ।
ओ शासक महोदय !
म शान्ति मार्गी हुँ
म आदिवासी हुँ ।
ओ शासकहरू !
मलाई सुगारटाइ गर्नु छैन
तिम्रा लवज र भाषा पहिऱ्याउनु छैन
तिम्रो वेश
गाउनु छैन
तिम्रो कुटिल गाथा
रट्नु छैन
तिम्रो एक पाखे इतिहास
मसँग छन्
मेरा पुर्खाले दिएका मौलिक लवज र भाषा
मेरै वेश छन्
अनगिन्ती छन्
मेरै पुर्खाका इमान
सिप र संस्कृति छन्
मेरै मलाई मेरै अस्तित्वको आत्मगान मनपर्छ
मलाई मेरै इतिहासको राग मनपर्छ
श्रमको सुगन्धित इतिहास
इमानको इतिहास
भीमफेदी सर्लक्कै बोकेको इतिहास
किनकि, म आदिवासी हुँ ।
०००
काभ्रेपलाञ्चोक
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि आसमानको यो कविता उत्कृष्ट १० कविताभित्र पर्न सफल भएको थियो ।
