बज्दा-बज्दै आइते सिङको हातबाट
जब भुईँमा खसे
चुपचाप एउटा कुनामा
आफ्नै इतिहासको लोरी गाउँदै बसे ।
शासकहरूको दमनमा परेको दिनदेखि
उद्रिन थालेको रहेछ सुन्दरताको च्यादर
भत्किन थालेको रहेछ
अस्तित्व बचाउन उभिने बत्तीस किल्ला
शीरमा नाचिबस्ने डाँफेचराको
पखेटा र खुट्टा भाँचिएको रहेछ
जसले साँस्कृतिक बाजा डम्फु बजाई नाचे, गाए
उसैको हात काटिएको रहेछ
घाँटी ङ्याकिएको रहेछ ।
निरङ्कुस लात परेको दिनदेखि
आजसम्म आङ तन्काउन पनि सकेको छैन
सायद अस्तित्व जोगाउन प्रतिकार गर्ने बेला
आइते सिङको हातबाट उछिट्टिएर
भुईँमा बजारिएसँगै
छेउछाउबाट अँगालो हालेर बस्ने
प्रिय, जुइनाहरूमा दरार आएको हुनुपर्छ ।
यही धर्तिमा दफन गराउँछु भनेर दुस्मनहरूले
कच्याक-कुच्युक गरे तापनि
झन-झन ठुलो स्वरमा बज्न थालेको छ आजभोलि
बरु सँगै बज्न तम्सेका छन् झ्याली, झ्याम्टा र ढोलक
सँगै नाच्न थालेका छन् लाखे, सोरठी र कौरा
एउटै लयमा गाउँछन् देशको राष्ट्रियगान ।
यो बृहत् आन्दोलनमा
जुर्मुराउँदै जोडजोडले गुन्जिएका छन् सेलोको धुन
आदिमयुगको दोङराप झल्काउँदै
बज्छ ताकधुम-धुम, ताकधुम-धुम
जसले जानीजानी-छानीछानी
नेमिट्यान्न पार्न खोज्यौ
उसैको नजरसामु
मरी नसकेको र मारी नसिद्धिएको प्रमाण देखाउँदै
धर्ना दिइरहेकाछन् डम्फुहरू ।
आओ परिवर्तनको राँको बालेर उठौँ एकपटक
आइते सिङ र पेङदोर्जेका हातहरू
उसैगरी सल्बलाउँदै छ
यो पुरानो डम्फु सुमसुम्याउन
आदिबासी सिङ्हासन ओगट्नुछ हामीलाई
आओ पुन:प्रतिस्थापन गरौँ र
अधिकार प्राप्तिको लागि
जोडजोडले आन्दोलन गरौँ ।
०००
– मरिण-३¸ सिन्धुली
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि रुपकको यो कविता सान्त्वना हुन सफल भएको थियो ।
