गेथाती

यलम्बरको अन्तिम शब्द (सान्त्वना कविता)

विजयीता भण्डारी
१२ जेष्ठ २०८२, आईतवार

कविहरूले काव्यमा
पोटिला बिम्व सजाएजस्तै
हामीले पनि सजाएका हौँ मस्तिष्कमा
स्वर्णिम देश निर्माणको आदिम सपना

फुस्रो भएको धरतीको माटालाई
मेरै पुर्खाहरूले सिन्चेका हुन्
रक्तिम नदीहरूले
र फलाएका हुन् संस्कृतियुक्त सभ्यता
त्यसपछि मैले टिपेकै हुँ खादबारी नजिकैबाट
एक चिम्टी माटो
र दलेको हुँ आफ्नै निधारभरि

म माटामा आदिम युग बाँचेर
विलय हुँदैछु माटामाथि
तिमी सम्झिनूँ- यो माटो सबैको हो

नखोज्नू समानता कुनै जातिसँग
नमाग्नू स्वतन्त्रता कुनै समाजसँग
हामी कोही छैनौँ भिन्न
कोही छैनौँ असमान

उदार छातीमा सजाएर लोकेशलाई
सुम्निमा र पारुहाङका सामुन्ने उभिएर
कामना गर्नू युगौँसम्म लोककल्याणको
बाँच्नु जस्तो विजय रजत
अर्को कुनै छैन संसारमा
परोपकारजस्तो पुण्य
कतै भेटिँदैन त्रिलोकमा

सत्ता सम्हाल वा माटो
बाँच्नु आफ्नै आयु, मर्नु आफ्नै शरीर
बस् बाँच आफ्नै जिन्दगी
सजाऊ आफ्नै इमानदारिता

‘’हामी माटो पुत्र हौँ’
यो मेरो अन्तिम घोषणा हो

यो माटामा नबोल्नू चर्को आवाज
नपड्काउनू कसैको छाती हेरेर बन्दुक
यो माटो मरेकाहरूको हो
जन्मिनेहरूको हो

आऊलान् कुनैदिन माटाका नक्सा कोर्नेहरू
किरातहरूले फेरि कोरून्
मानवता बाँधेर इमानदारिताको नक्सा
र बालून् माटामाथि
कर्तव्यको सुललित दीपक

मेरा पुर्खाहरूको इमानदारिताले
जसरी निर्माण गरियो विशाल राज्य
आउने दिनमा निर्माण होस् फेरि
किरात इमानले आधुनिक प्रेम

चाहन्छु यो अन्तिम श्‍वासमा
एक शब्द बोल्न
किरातहरूसँग इमानदारिताभन्दा
कुनै छैन अर्को धन… ।
०००
झापा (हालः दक्षिण कोरिया)

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि विजयीताको यो कविता सान्त्वना हुन सफल भएको थियो ।