गेथाती

पूर्वघोषित अभियानबाट (तृतीय कविता)

बाजेको बिसौनामा रोपिएको
लाँकुरीको छहारीमा बसेर
राखेर ‘सर्जमी’-
जिब्रो काटिमागेका मेरा पुर्खाहरूलाई
देश विचरण गर्नुभन्दा पहिले
पूर्वजानकारीको लागि
सिंहदरबारको ठेगानामा पठाएको छु चिठ्ठी
बादलको पछ्यौरीमा पोको पारी- बतासको हातमा ।

नलेख नभन्नू / नबोल नभन्नू ।

यो सफरमा-
खोज्दै जानेछु, आदिवासीहरूको नामेट इतिहास
लेख्दै जानेछु, गर्भभित्रका कथाहरू कवितामा

ननाच नभन्न्नू / नगाऊ नभन्नू ।

‘पारुहाङ’ र ‘सुम्निमा’को कसम
पूर्वमा गएर-
‘च्याब्रुङ’ र ‘ढोलक’ बजाउँदै
उफ्रिने छन् पैतालाहरू- ‘धाननाच’ र ‘साकेला’मा
अरुण र तमोरको मधुर सङ्गीतसँगै
गाउनेछु- ‘पालम’ र ‘हाक्पारे’ ।

गण्डकमा पुगेर-
डम्फुको तालमा चरीझैँ फन्को मार्नेछु लाफाहरूसँग
‘ङोलो’ ‘ङोलस्यो’हरूसँग ‘कौराहा’को भाकामा
फुकाउनेछु सुखदुःखका व्यथाहरू ।

देशको मुटुदेखि पर हिउँ फुल्ने गाउँतिर
‘च्याङ्बा’ र ‘मैच्याङ’हरूसँग नाच्नेछु- ‘सेलो’ ।

कङ्क्रिटको घनाजङ्गलमा
भाषा खोसिँदै गरेका बालकहरूलाई
बुझाउनेछु, भाषाको महत्त्व ।

लुम्बिनी हुँदै पुग्नेछु- रोल्पा¸ रुकुमको मगरात भूमि
‘बाईस बहिनी बजु’हरूलाई राखेर शिरमाथि
पहाडको आगँनीमा नाच्नेछु- ‘सिङ्गारु’ र ‘पैसेरु’ ।

‘सिमेभूमे’लाई पूजापाठ गरी
देब्रे छातीमा सिउरेर ‘रथबिरथ’ फूलको थुङ्गो
‘न्याहो’ गीतसँगै रमाउनेछु- ‘भूमे’राममा

‘माठ’मा राखिएको जौको ‘छोकरा’ पिउँदै
सुन्नेछु, बुढापाकाहरूको आवाजमा
‘साइँलाबरै’, ‘टुस्टि’मा उत्रा, माघमा ‘स्याम्बो’

हिमालझैँ हाँस्दै-हाँस्दै झर्नेछु तराई
थारु समुदायसँग मान्नेछु- माघ
पुतलीझैँ नाच्नेछु- ‘झुमरा’
बजाउनेछु- झ्याली र ‘मृदङ्ग’

भेरीको किनारैकिनार पुग्नेछु- कर्णाली
रङ्गीन रुमालहरू ‘टप्पा’मा फहराउनेछु
हातले हात समाई खेल्नेछु- ‘देउडा’

यसरी
यो देशमा बस्ने सबै जातजातिहरूको
कला र संस्कृतिमा रमाउँदै-रमाउँदै
पूर्वघोषित अभियानबाट फर्कँदै गर्दा
उक्लनेछु चन्द्रागिरीको टुप्पो
र, भन्ने छु-
ओ… कुण्ठित मानसिक बोकेका
दरबारभित्रका सिंहहरू
मुलुकी ऐनले धर्मनिरपेक्ष देश भनिरहँदा
आदिवासीका धर्म, संस्कार र संस्कृतिहरू
हृदय खोलेर किन स्वीकार गर्न सक्दैनौ ?
०००
रोल्पा

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि समीपको यो कविता तृतीय हुन सफल भएको थियो ।