नेपालमा विभिन्न भौगोलिक क्षेत्र र जातजातिअनुसार भाषा, भेषभूषा र संस्कृतिहरू रहेका छन् । त्यसमा पनि अझ मगर जातिमा तीन किसिमका भाषा, दुई किसिममा भेषभूषा र फरक–फरक संस्कृतिहरू रहेका छन् । भाषाको मात्र भन्ने हो भने ‘मगरढुट’– जो बाह्रमगरात क्षेत्रतिर बोलिने मगरभाषा, ‘मगर खाम/पाङ’– जो अथार मगरात क्षेत्रतिर बोलिने मगरभाषा र विश्वमै लोपोन्मुख अवस्थामा रहेको ‘मगर काइके’ भाषा – जो अथार मगरातकै डोल्पा क्षेत्रतिर बोलिने मगर भाषा ।
मगरात क्षेत्रलगायत नेपालका अधिकांश ठाउँहरूको नामाकरण पनि यिनै मगरभाषा (खाम/ढुट/काइके) बाटै गरिएको हामीहरूले देख्न र सुन्न पाउँछौं । तर यस जानकारीमा अथार मगरात क्षेत्रको भूगोलहरूमा मगर खामबाट नामाङ्कृत भएको ठाउँहरू अपभ्रंश हुँदैछ गइरहेको केही उदाहरणहरू मात्रै प्रस्तुत गर्न खोजिएको छु ।
अठार मगरात क्षेत्रलगायत अन्य मगरहरूले परापूर्वकालदेखि खेलो गरेका ठाउँहरूमा मगर खामबाटै बाङ (चौर), हाङ (भिर), लुङ (ढुङ्गा), री (पानी), थान (पुजागर्ने ठाउँ), कोई (उच्च ठाउँ वा भू-भाग), नेटा (भाङ्याङ), पो (ठाउँ), खार (बीच), गोर (किनारा वा छेउ), तीन (पुच्छार), भारा (तोल) तुङ (बोट), दुङ (मुनि) इत्यादि शब्दहरू जोडेर नामहरू राखिएका ठाउँहरू छन्/भेटिन्छन् भने केही ठाउँहरू मगरभाषामै किटेर भनिएका ठाउँहरू पनि छन् ।
नेपालमा आदिमकालदेखि नै मगरहरू बसोबास गर्दै आएका तथ्य प्रमाणहरू यहाँका ठाउँहरूको नामाकरणले नै प्रमाणित गर्दछ । त्यसमध्ये बाङहरू अत्यधिक मात्रामा देखिन्छन् । तर पछिल्लो समयमा आएर प्रशासकीय क्षेत्रमा काम गर्ने महाजन र भाषाविद् भनाउँदाहरूबाट मगरहरूको सबुत प्रमाणहरूलाई मेटाउन र आफ्नो अस्थित्व तथा प्रभूत्व जमाउनका लागि यहाँ ठाउँहरूलाई अपभ्रंश गर्दै लैजाने क्रम जारी नै छ । प्रशासनिक क्षेत्रका कर्मचारीहरूको विभिन्न अभिलेख र प्रमाणपत्रहरूमा र लेखनमा अगाडि रहेका नाम सुनेको पत्रकार, लेखकहरूले आफ्नो लेखहरूमा जबर्जस्त बाङ (चउर) लेखिनुपर्नेमा ‘बी (B)’ लाई हताई ‘डब्ल्यु (W)’ लाई थपी ‘वाङ’ बनाइएको छ । ‘वाङ’ को अर्थ ‘कम्मर’ भन्ने हुन्छ । कतैकतै व्यर्थमा ‘वाङ्ग’ र ‘वाँग’ लेखिन थालेका छन्, जसको अर्थ नै हुँदैन । बारम्बार सचेत गराउँदा पनि अटेरी गरेर त्यही कुरामा निरन्तरता दिनु सम्बन्धित प्रशासनिक कर्मचारीहरू र लेखकहरूको व्यवहार र नियतप्रति गम्भीर कुराको ख्याल गर्नुपर्ने अवस्था आएको छ । के अब यिनै ‘चउर वा मैदान’हरू प्रशासनिक व्यक्तिहरू र भाषाविद्हरूको ‘कम्मर’ हुन पुग्यो र ?
बाङपछि ‘री’ जोडिएका थुप्रै ठाउँहरू छन् । ‘री’को अर्थ ‘पानी’ भन्ने हुन्छ । जस्तै : रोल्पामा-रीखोला, रीघ, रिरुप, रिमुल, रिकुङ, रिजा, बझेरी¸ जुङरी, सिउरी, लुङरी, खुङरी, हुङरी, लहरी, लुरी, ढुङरीबास, देउखुरी, खुङरी, मारी, तमारी अनि रुकुममा- रिका, कारी (काक्री), तमारी, रिकुङ, भेरी, चौरजहारी, प्यूठानमा-सारी, भिङरी, त्यस्तै दाङमा देउखुरी, सिस्नेरी बिजौरी इत्यादि ठाउँहरू छन् । ‘री’हरूलाई पनि अपभ्रंष बनाइसके, बनाउँदै गइरहेका छन् र हुनेक्रम निरन्तर जारी नै रहेको छ ।
रोल्पाको पूर्वी क्षेत्रबाट बग्ने लुङरी जसको वास्तविक अर्थ लुङ भनेको ढुङ्गा र री भनेको पानी हुन्छ । तर यदाकदा लुंग्री देख्न र सुन्नमा आएको छ । लुङरी साँच्चिकै ढुङ्गैढुङ्गाको नहरबाट बगेको हाम्रै आँखाले देख्न सक्छौं र प्रमाणित गर्न सक्छौं कि ‘लुंग्री’ वास्तविक नाम ‘लुङरी’ हो । त्यस्तै रोल्पाकै प्युठान सिमा र लुङरीकै सेरोफेरोमा रहेको रोल्पाली भूमि ‘खुङरी’ पनि एक हो । खुङको अर्थ गहिरो र री अर्थ पानी पानी भइहाल्यो । ‘खुङरी’लाई पनि ‘खुंग्री’ लेखिएको देखिन्छ । यसो लेख्नु गलत हो । खुङरीको प्रमाण पनि आफ्नै वरपर रहेको लुङरी र माडी (मारी हारेको पानी) ले गर्दछन् ।
मारी र लुङरीको मगर समाजमा दन्त्य कथा पनि प्रचलित छ । मारी दिदी हुने भने लुङरी बहिनी हुन् । यिनीहरूको उत्पति गामा (गिद्ध हराएको) यानकी जलजलामा भएको हो । दिदीको कर्मक्षेत्र पश्चिम र बहिनीको कर्मक्षेत्र पुर्वतिर भयो । त्यसपछि उनीहरूको घर व्यवहार र शृङ्गारका सामग्रीहरू लिन मालमधेशतिर जाने सल्लाह गरेर साइत गरेको दिन लुङरीसँग धोबिनी (खोलामा हिड्ने चरा) चराको भेट भयो । त्यसपछि लुङरीले मालमधेश जान लागेको र आफ्नो दिदी मारीलाई देखे नदेखेको सोध्दा धोबिनीले झुठो कुरा गरिदिन्छ । ‘तिम्रो दिदी त गइसक्यो तिमी छिटो जाऊ’ भनेर । त्यसपछि लुङरी चारपाउँ तेक्दै दगुर्दै जाँदा लुङरी हिँडेको बाटोमा धेरै जसो भिर, पहरा र खोल्साहरू र मारी आरामैसँग गएकोले मारी हिँडेको बाटोमा समथर मैदानहरू भएको हो भन्ने कथा छ । भने प्यूठान (हरियो/पक्का पूजा गर्ने ठाउँ)को माण्डवी नभएर माद (हराएर) भै (नदी) भएको हो । यसको पनि आफ्नै दन्त्य कथा छ ।
अर्को ठाउँ प्युठानकै ‘पिङरी’ जसलाई अचेल ‘भिङरी’ लेखाईमा ‘भिंगृ’का रूपमा देख्न सक्छौं । पिङरीको अर्थ हो हरियो पानी (पिङ+री) अर्थात गहिरो ठाउँमा धेरै पानीको मात्रा भयो भने हरियो देखिने भएकोले नै त्यो ठाउँको नाम पिङरी हो भन्ने दुइमत छैन ।
त्यस्तै बाङलुङ (चउर+ढुङगा) – बाग्लुङ, म्याग्दी र रुकुमको हुँदै बग्ने भेरी (धेरै पानी) अथवा भ्यारी (धेरै+पानी) पनि हो । कारी गाउँलाई ‘काँक्री’ बनाएका छन् ।
त्यस्तै कोई (ज्वङकोई, गजुलकोई, खुङरीकोई, राङकोई, थुनिकोई, तितिरकोई, रुगुमकोई, मसिकोई, बाँफिकोई, मईकोई, ताराकोई, भलकोई, कालिकोई, जुपालकोई, सिमिकोई, बारकोई, नारिकोई, ओखरकोई, भिङरीकोई, माराकोई, मौलाकोई, कोईभारा, कोईगाउँ)हरूलाई कोटहरूमा बदलिसकेका/बनाइसकेका छन् । यी त केही उदाहरण मात्र हुन् ।
यसरी नै मगरभाषाबाट नामाङकृत विभिन्न ठाउँहरूको अपभ्रंश हुँदै अर्थ न व्यर्थ हुँदै जाने र हामीजस्ता शिक्षित युवाहरू, सम्बन्धित अधिकारकर्मी, सरोकारवालाहरू समयमै सचेत नहुने हो भने यिनै ठाउँहरू मात्र हैन कि हाम्रो भाषा संस्कृतिसँगै जातिको पनि पतन नहोला भन्न सकिँदैन ।
किनकी कसैकसै भाषाविद् र विदेशी डलरमा बिकेका मगरहरूले अथार मगरातका खाम/पाङ भाषी मगरहरूलाई उनीहरूको भाषाको नामबाटै खाम जातिमा रुपान्तरण गर्न लागेको थुप्रै प्रयासहरू हामीहरूले प्रशस्त देखेकै थियौँ । त्यसैले यिनै तथ्यहरूलाई मनन गरेर सम्पूर्ण भाषा तथा संस्कृतिविद्, सञ्चारकर्मी, अधिकारकर्मी, सरोकारवाला, राजनैतिक दल र प्रशासनिका क्षेत्रका मित्रहरूले केही भएपनि आ–आफ्नो क्षेत्रबाट केही सोचिदिनुपर्छ कि !
०००
