गेथाती

हराएको नेपाल

भावना बुढामगर
२१ मंसिर २०८०, बिहीबार

नेपाल के हो भनिदेऊ मलाई
बरु एउटा नक्सा बनाएर देऊ सरकार
मलाई हेर्नुछ साँच्चै कस्तो रहेछ मेरो देशको आकार ।

नेपाल कुन हो भनिदेऊ मलाई
एक-एक टुक्राको नाम लेखेर देऊ सरकार
मलाई हेर्नुछ अरु केही पनि छ कि
तिमी देख्छौ मात्र बालुवाटार ।

लिपुलेक कसको हो भनिदेऊ मलाई
भनिदेऊ न ए सरकार !
चासो पनि छ कि छैन तिमीलाई ?
कि मात्र च्यापेर बस्छौ सिंहदरबार ?

रेशमको खोल ओढी नाच्ने पुतलीजस्ती
मेरी नेपालको धागो कति विश्वास गरेर
तिम्रो औँलालाई सुम्पिएकी थिई,
कति जोहो गरेर दिएकी थिएँ,
त्यो धागो कता अल्झ्यौ र सरकार ?
कि अल्झियौ तिमी हात्तीको बितोमा ?

स्वाधीनता के हो भनिदेऊ मलाई
आफ्नो मुलुकलाई अङ्गाल्ने अधिकार देऊ सरकार
मुटु तिम्रो पोल्दैन र मुलुकमा हुँदा अत्याचार ?

न्याय के हो भनिदेऊ मलाई
कानुनको आँखाबाट पहिले कालोपट्टी हटाइदेऊ सरकार !
आँखा तिम्रो रसाउँदैन र चाउरिँदा आमाको अनुहार ?

बढी केही होइन सरकार,
म मेरी आमाको च्यात्तिएको फरियाको
त्यो सानो टुक्रा खोजिरहेको छु
मेरो घरको एउटा कुना खोजिरहेको छु
म खेलेर हुर्किएको रुखको हाङ्गो खोजिरहेको छु ।

‘जय नेपाल’ भन्दा काङ्ग्रेस भइने
र हात उचालेपछि कमरेड हुनेको भीडमा
एउटा नेपाली खोजिरहेको छु ।
०००
रुकुमपूर्व

TAGS: कविता भावना बुढामगर