साह्रै भोक लाग्यो बिरालोलाई । बाहिर निस्क्यौँ भने उसलाई देखेर खरानेको रुखमा एउटा हुचिल बसिराखेको छ । के गरी जाने मुसो समात्न ? मनमनै सोच्छ ।
बिरालोलाई एउटा उपया आयो । मस्त निद्रामा सुतेको मालिकको मोबाइल टिपेर बाहिरियो । सिकुवाको डिल नाघ्न नभ्याई नै हुचिलले छोपिहाल्यो । बिरालो उत्तानो परेर जम्ले हात पारेर थरथर काम्दै भन्यो – “हे हुचिल महाराज ! यो मोबाइल गोठमा बसेकी कान्छी दिदीलाई पुर्याई दिन भनेर जुँगे बुबाले पठाउनु भा’को । मोबाइल पुर्याएर आउँछु अनि खानोस् ।”
“अहँ अहिल्यै खान्छु । त छट्टु छस् । पोर पनि पाँच मिनेट जान्छु भनेर भागिस् । आज छोडदिनँ ।” – भन्दै हुचिलले छेउकै ढुङ्गामा ठुँर उधाउन थाल्यो ।”ङ्याङ्ग्रे स्वरमा बिरालोले भन्यो – “ठीकै छ खानुहुन्छ भने खानोस् । तर यो मोवायल कान्छी दिदी भाँठ पुगेन भने मलाई खोज्नु हुनेछ जुँगे बुबाले । त्यो पाखामा दसीको रुपमा मेरो भुत्ला र लादी मात्रै भेटेपछि शङ्काको सियो हजुरतिर हुनेछ । अनि तपाईलाई थाहा छैन उहाँसँग राती पनि देखिने दूरदर्शी यन्त्र छ – साइला दाइले अमेरिकाबाट ल्याइदिनुभा । तपाई जुनै खोपको टोट्कोभित्र लुकेर बसे पनि देख्नुहुनेछ । अनि उहाँसँग भएको धनुषकाँध चलेपछि के होला हजुरको हालत ।”
“लुलुलु जा ….। एकदिन रित्तै भेटे भने छोडिदिनँ ।”
“हुन्छ हुन्छ ।” भन्दै बिरालो गोठतिर लाग्यो । गोठमा कान्छी दिदीसँगै जिस्कँदै खुब खायो वनबाट आ‘का मुसाहरू । उज्यालो हुने बेलामा कान्छी दिदीको तातो खास्टोभित्र एकक्षण निदायो ।कान्छी दिदीले उसलाई खुब माया गर्छे । दुई डाडु दूध र एक डल्लो कुराउनी खाएर ड्याम्मै अघायो । खेतलाले खाजा खाने बेलामा घरि अघि घरि पछि गर्दै कान्छीदिदीलाई पछ्याएर घर आइपुग्यो । तीन दिन घरबाट निस्केन गोठको मुसा र दूधले अपच भएर । हुचिल भने तीन दिनदेखि बिरालोलाई नदेखेपछि नेभारोको रुखमा सरेर खोजिरह्यो ।चौथो दिन बिरालोलाई भोक लाग्यो । घरका मुसाहरू कुनैलाई खायो । कुनै भाग्यो उसैको ङयाउँवा सुनेर । दैलोको चेपबाट यसो खरानेको रुखमा हेर्यो छैन हुचिल । बिरालोले लख काट्यो –“मलाई खान कता लुकेर दाउ हेरेको छ । त्यो नेभारोमा त छैन ?” – भन्दै हेरेको ठ्याक्कै हुचिललाई देखिहाल्यो ।भोलिपल्ट ठूलो साँझमा एउटा उपया बोकेर निस्कियो मुसाको सिकार गर्न । तर आँगनको डिल कट्न नपाई नै झ्वाम्मै छोप्यो हुचिलले । सधैँझैँ प्रणाम गर्दै बिरालोले भन्यो – “म माल्दाइको चिठ्ठी लिएर हिँडेको हुँ । यो चिठ्ठी बुझेको पत्र पनि लिएर आउनुपर्छ । मलाई खानु भो भने उहाँको काम हुँदैन । मलाई खोज्दा त्यस्तै मेरो खुइलेको टाउको भेट्ने छन् । अनि शङ्का त हजुरतिरै हुनेछ । अनि उहाँले हजुरलाई समात्न सुपर गम पठाउने छन् । गोप्य शब्दको आदेशले सुपरगम बेगिएर आई तपाईलाई डल्ल्याउने छ । उहाँ पन्छीप्रेमी हुनुहुन्छ तपाईलाई मार्नु त हुन्न तर चिडिया खानामा पठाइदिनु हुनेछ । कुखुराको चल्ला टिप्ने दुईटा बेसारेलाई चिडियाखाना पठासइक्नु भो । हजुर पनि जाने भा खानोस्यो, मम्मीको छोरो तयार छु ।”
“जा जा जा ….।” कोक्याउने उपया मात्रै बोकेर आउँछस् । हेरौलाँ ….। झर्किदै हुचिल करायो । बिरालो मुसमुस हाँस्दै पल्लो टोल हिँड्यो । हुचिल झोक्रिएर सोच्छ – “यो ढाँडेलाई कहिले खानु पाइएला ! मुसा, दूध, दही र मासुको झोलमा मुछेको भात खाने पक्कै स्वादिष्ट हुनुपर्छ यसको मासु । छि कस्तो खिहिर्याउने सिङारी कुकुरको छाउरो त । त्यो घोर्ली बाख्राको पाठी पनि ठिक्कैको थियो ।” बिरालोको मासु सम्झेर हुचिलको मुख रसायो ।
बिरालोले आफ्नो जीउलाई मजाले चाट्यो । अनि पुच्छरले अगाडिको खुट्टोलाई बेरेर टुक्रुक्क बसेर आँखा चिम्लेर सोच्यो – “आज के भनेर बुद्धु बनाउनु त्यो हुचिललाई ?”
साँझ बिरालो निस्कियो बाहिर । ऊखुको पोथ्रानिर पुग्न नपाइनै फेरि हुचिलले आक्रमण गर्यो । सधैँझैँ नमस्ते गर्दै भन्यो – “ए हुचिल महोदय ! आमालाई पेट दुखेको छ । म डाक्टर लिन हिँडेको । डाक्टर लिएर आइनँ भने आमा मसँग धेरै रिसाउनु हुनेछ । अनि मलाई खोज्दा मेरो कङ्काल भेट्ने छिन् आमाले । शङ्का हजुरलाई नै गर्ने छिन् । त्यसपछि नि आमासँग एउटा फुर्केथैली छ उहाँले जसो भन्यो त्यसै मान्ने । फुर्केथैलीले जसको नाम लिएर मुख वाथपछि त्यो नामवाला दगुरेर या उडेर आई त्यई थैलीभित्र पस्छ । अनि थैलीले आफ्नो मुख आ ! गरेपछि थैलीमा बन्द । अहिले पनि त्यो थैलीभित्र तीस वटा झिँगा र एउटा स्याल बन्दी नै छन् । सोच्नोस् के गर्नुहुन्छ ।”
“जाजाजाजा …!” भन्दै रिसाउँदै उड्यो खराने रुखतिर हुचिल । बिरालोले सोच्यो कति दिन यसरी हुचिललाई झुक्याएर बाँच्नु बरु जान्छु बसाइँ भन्दै पल्लो टोलतिर हिड्यो । त्यहाँ पनि उसले चयन पाएन । त्यो गाउँ चाहार्ने अर्काे ढाडेसँग लड्डी गर्न पर्यो, आफ्नो वर्चस्व स्थापित गर्न । तर जित्न सकेन त्यो ढाडेलाई । पश्चात लुकेर हिँड्दै थियो एकदिन आमालाई भेट्यो र आफ्नो दुखेसो भन्यो ।
आमाले भनिन् – “डराएर भाग्ने, बेकारमा मुर्खता गर्ने र अल्छे छोराको केही छैन यो धर्तीमा । बुद्धि खियाएर यति दिनसम्म हुचिलसँग बाँचिस् भने अझै बँच्छस् । जा त्यही आफ्नै ठाउँमा समस्यासँग सहमति गरेर खा । यहाँबाट भागिहाल । नत्र तेरो जन्मभूमिलाई कसैले हडप्ने छ ।”
आमाको कुरो सुनेर बिरालो तुरुन्तै आफ्नै गाउँ फर्कियो । बाटोमा एक्लै मन बोल्दै आउँदा एउटा उपाय फुरिहाल्यो । घरमा पुगेर सबैको खुट्टोमा लेप्सेर माया गर्यो । घरकाहरू पनि खुशी थिए, बिरालो आयो भन्दै ।
ठूलो साँझमा सिकार खोज्न बिरालो निस्कियो बाहिर । एउटा दुलोमा मुसा रुँगिबसेको थियो कता र हो हुचिलले एक्कासी छोप्यो । सधैँझैँ बिरालोले विनम्रपूर्वक बिन्ति गर्यो –“हे काल श्रीमान् ! आज हजुर जस्तै पोथी हुचिललाई देखाउन मन्तरी बहिनीले पठाकी छिन् । भाले हुचिल पाए बिहे गर्दिने अरे ।”
“ए हो र ? म भाले हुचिल नै हुँ । देखा त कस्ती रै‘छे ।”
पटुकामा बोक्ने डब्बे दर्पण देखाउँदै बिरालोले भन्यो – “छिटो हेर्नाेस् ।”
“अहो कति राम्री रै‘छे बिरालो भाइ । एउटा आँखा झिम्काइदे’को त उसले पनि पो झिम्क्याई । मुसुक्क हाँसेको ऊ पनि पो हाँसी । कति माया गरेकी एकै नजरमा । राम्रो हेर्दा भालेकै छाँट पर्या जस्तो पनि छ नि ।”
“अहो ! हुचिल महाशय ! आधुनिक युग हो । भाले पोथी जस्तो, पोथी भाले जस्तो भएर हिड्ने फेशनै चल्या छ नि ।” कुरा बिग्रेला कि भन्ने डरले हतारहतार भन्छ बिरालो ।
“होला होला । मसँगै बिहे गराइदिन भन है मन्तरी बहिनीलाई ।”
“लललल …। भन्दै बिरालो स्वतन्त्र भएर घुम्यो, आफ्नै कालको अगाडि ।” पर्सिपल्ट बिरालो सधैँको लागि हुचिलबाट मुक्ति हुने उपाय लिएर भुन्टे काँल्लामा पुग्यो । टुप्लुक्कै आइपुग्यो हुचिल पनि । आज हुचिलको स्वभावमा सत्रुता थिएन । हुचिल मलिन भएर सोध्यो बिरालोसँग के भनिन् मन्तरी बुनुले ।”
“दिन्न भन्थिन् मैले रिक्वाइस्ट गरेर मानिन् । तर एउटा शर्त छ रे । ”
“कस्तो शर्त……….?” हुचिल आतिन्छ ।
पोथी हुचिलको साटो सुनको मुरली दिनु अरे । त्यो मुरली लगेर पोथी हुचिलको बाउआमालाई दिने अरे । त्यो मुरली बजाउँदा मुसाहरू आउँछन् अरे । र बुढाबुढीले मुसा टिप्दै खाएर बाँच्छन् अरे ।”
“ठीकै हो छोरी मैले ल्याइदेपछि सहारा त चाहियो नी सुनको मुरली । तर बिरालो भाइ त्यो मुरली फल्ने रुखचाहि कहाँ पाइन्छ नि ?”
“नजिकै त्यो घाम झुल्कने ठाममा त हो ।”
“ए ए त्यो डाडाँपारि त रहेछ भोलि नै गएर ल्याउँछु ।”
“ल ल ल भोलिको अग्रिम शुभयात्रा है । तर सुनको मुरली नलिइकन नआउनु । रित्तै आउनु भो भने ती बुढाबुढीको सराप लाग्छ अरे ।” बिरालोले जीउ मर्काउँदै भन्यो ।
अहिले नै जान्छु त्यो डाडाँमा गएर बस्छु । भोलि घाम झुल्कने बित्तिकै मुराली टिपेर उतै बस्छु । रात परेपछि फर्काैला । के गर्नु बिरालो भाइ दिउँसो देख्ने क्षमता छैन ।” हुचिलले मनको कुरो भन्यो आज ।
हुचिल उडेर त्यो थुम्कोमा बस्यो । तर घाम त पल्लो थुम्कोमा पो झुल्क्यो । यसरी हुचिल झुक्ले घामनिर पुग्न सैकडौँ डाँडा काट्दै गयो । गएको गएकै भयो । दिन, महिना वर्ष बित्यो । तर सुनको मुरली लिएर हुचिल फर्केन ।
बिरालो स्वतन्त्रपूर्वक गाउँ घुम्दै बुढो भयो । आज पनि ढुङ्गामाथि बसेर त्यो हुचिललाई सम्झँदै फ्यास्स हाँस्छ त्यो बुढो बिरालो ।
०००
गाईघाट-२, उदयपुर
