पर्ख न हौ पर्ख
ए पर्वहरू !
बुर्कुसी मार्दै – मार्दै नआऊ
कति हतार गर्छौ र
गरिबको बिलौना हेर्न ।
केहीबेर तिमलिनू उतै
आलिसान महलका झुमरहरूमा
केहीबेर आराम गर्नू उतै
शुभकामना आदानप्रदान हुने
पाटी प्यालेसका कुर्सीहरूमा ।
झुल्कने छैन¸ मजदुरको आँखामा
भर्भराउँदो रूमानी दृश्य
बल्ने छैन, हृदयको आँगनमा दिपावली ।
लाउन पाउने छैनन् / खेलौना पाउने छैनन्
आबोध बालबालिकाहरू – नानाचाचा ।
यसपालि पनि
आइपुग्ने छैन परदेशी मजदुर
त्यसै ओइली जानेछ मखमली फूल ।
कालो चस्मा लगाउनेहरूको मुठ्ठीभित्र
एक घुट्की पानी मागिरहेछ खुशी ।
गलत व्याख्या गरेर
श्रम ऐनका दफा र उपदफाहरू
अपमान गरिँदैछ पसिनाको मूल्य ।
पर्ख न हौ पर्ख
ए पर्वहरू !
केहीबेर उतै रुक
कति हतार गर्छौ र
गरिबको बिलौना हेर्न ।
बरू त्यसदिन आउनू
जुनदिन मुस्कानसँग मुस्कान साटौँला
मजदुरहरूको आकृतिमा
छ्यालब्याल्ल खुशीको इन्द्रेणी रङ पोटिएको पल ।
०००
रोल्पा (हालः पोखरा)
हतार नगर गरिबको बिलौना हेर्न
