गेथाती

प्रिय नगरबधु

प्रिय नगरबधु,
तिम्रो नगर राज्यमा
जागिर प्रोमोसन र पुरस्कारको हकदार भएनौ ।
कृतज्ञको नाममा
शरीरलाई सहनशीलताको फलाम बनायौ ।
कमोल मनलाई कसैको गुलाम बनाएनौ ।
तिमी रोएर, दु:ख धोएर, पलपल मरेर
तिम्रो शितलतामा
अरूलाई के छहारी छर्किएकी थियौ,
लुटुपुटु आनन्दमा
स्वर्गीय विश्राम के लुटाएकी थियौ ।
लुकीछिपी तिमीलाई भूइँपातला खोजी गर्दै
चिथोर्दै तिर्खामा तिमीलाई चुस्नेहरू
भोको सिंहझैँ झम्टिँदै
जिब्रो लेपार्दै स्वाद लिनेहरू
तिमीलाई वेस्वादिलो पार्न,
वेश्याको उपहार पठाएका छन् ।

प्रिय नगरबधु,
तिमी रोग, भोक र शोकले
मृत्यु-मार्गमा अल्झिएको बेला पनि
तिम्रो स्पर्शमा
भोग, बोझ अनि निराशाले
आत्महत्याका सोचले थिचिएकाहरू
बौरिदै जिउन सिक्छ्न् ।
अनि तिमीलाई वेश्या भनी
तोतेबोलीमा जीवनको भामे सर्छन् ।

प्रिय नगरबधु
यो मानव सभ्यतामा
तिम्रो प्रियसी
मानसिक रोगीहरूको खुराक हो ।
तिमी महान् चिकित्सक हौ ।
शायद तिमीविना
यो संसार
पागलहरूको दिशाविहीन हुल अनि
कुरुवा बरुवाहरूको बगाल हुन्थ्यो ।

अहो !
प्रिय नगरबधु
तिमी त लाजमर्दा लात सहेर
अश्लिलाताका बात पिएर
तिम्रा कमोल आलिङ्गनमा
सुमसुम्याउँदै, सुस्ताउँदै
आमा बा अनि घर दिँदा पनि तिमीले
पैचो तिर्न
वेश्याको चेक थमाएका छन् ।
प्रिय नगरबधु
तिम्रो मनको बजार,
विचारको पसल,
धर्मको दुकान,
झुठको फसल छैन ।
जिउनुको आश
दुई मुट्ठी स्वास पनि शुभ मङ्गलदिनको कामना गर्दै,
बलिदान गर्छ्यौ ।
बरू, तिम्रो जीवनको रङ्गशालामा
विकेट जार्नेहरू,
गोल छिराउनेहरू,
अनि आँखा कान मन थुनेर कराउनेहरू
न्याय-सभाका अर्थ- न्यायमूर्तिहरू
धर्म-सभाका वर्ग- धर्मगुरुहरूसित
सबै भोग,
सबै थोक छ ।
फेरि पनि
तै पनि
प्रिय नगरबधु
उनीहरू पवित्र, महान् र पुजनीय छ्न् ।
०००

प्रिय नगरबधु सपनाका मूल विपनाका कुल जीवनका फूल यात्राका भुल