गेथाती

नोटबहादुर


९ कार्तिक २०८०, बिहीबार

नोटबहादुरको
नोटको बोराबाट
अलिकति नोट
सुन्दर बिहानीको आशमा
सपनाहरू पोल्दापोल्दै
ऐँठन परेका रातहरूलाई छुट्त्याइदेऊ
रमाउन र कमाउन नसकी
रसाएका आँखा अलिकति पुछिदेऊ।

उमेरसँगै पहेँलिएको जवानीको पत्रपत्रलाई
केही हिसाब गरिदेऊ।

टुटेको साथ,
छुटेको सम्बन्धलाई
अलिकति निसाफ गरिदेऊ।

अरूलाई टाल्दाटाल्दै,
आफै फाटेको नोटबहादुरको
तलबी भरपाई कति हुन्छ ?
कृपया ! कोही त देखाइदेऊ।

जिन्दगी खर्लप्पै निल्दै
आँखामा छपक्कै टाँसिने नोट
नोटबहादुरको मनमा कहिले चेप्किएन
गयो कहाँ ? खस्यो कहाँ ? बस्यो कहाँ ? पस्यो कहाँ ?
लापत्ता भयो, बेपत्ता भयो
सूचना ! सूचना !
नोटबहादुरको मन हराएको छ रे।

गाइँगुइँ हल्ला आउँछ
नोटबहादुरको मन
वृद्द बाबाआमासँगै चाउरिएर सुक्यो रे।

कसैले भन्छन्-
नोटबहादुरको मन
कलिला टुसाका टोतेबोलीसँगै लुक्यो रे।
कसैले भन्छन्-
नोटबहादुरको मन
श्रीमतीको फरियासँगै फाट्यो रे।
कसैले भन्छन-
नोटबहादुरको मन
डाँडाघरे साइलीसँगै नौडाँडा काट्यो रे।
कसैले भन्छन्-
नोटबहादुरको मन
रङ्गिन दुँनियाको मायाजालमा लुक्यो रे।
कसैले भन्छन्
नोटबहादुरको मन
रसैरसको रसातालमा डुब्यो रे।
कसैले भन्छन्-
नोटबहादुरको मन
अभाव नै आभावको खडेरीले सुक्यो रे।
जसले जेभने पनि
नोटबहादुरको सङ्लो मन
चोइटिएको छ
अल्झिदै, बल्झिदै हराएको छ।

अभावको अभागी प्रेम पूर्तिमा
आफैलाई खर्चिरहेको
जो जसलाई
उधारो सपनाको संवेदनामा डुबाएर
छियाछिया भई छिपिएको मनमा
लालची बारुदको मिठाई खुवाउँदै,
चिल्लोचिप्लो मुस्कानमा ममबत्तीको बलिदानको बयान गर्दै
सुन्दर भविष्यको नाममा
वर्तमानको सलाई जीवनको मार्चिसमा
रगटीरगटी घोटिन्छ।
जबसम्म जल्दैन नोटबहादुरको जिन्दगी
कोही प्रीति लगाउँदै
कोही कलेजी कटाउँदै
टिनको डिब्बामा
साट्न मिलेसम्म
गल्लीगल्ली चोकचोक
संसारको सबै कुनामा
नोटबहादुरको सतही गराइन्छ ।

नुनको लागि खुन बेच्दाबेच्दै
सुनमा अल्झिएर जुग हराएको
अध्याँरोमा उज्यालो खोज्दाखोज्दै
बिहानीमा आफ्नै जुन हराएको
कंगाल पूँजीपति नोटबहादुरको
सपनाको घडेरीमा
घर बसाउन नसक्ने
घरै बसाए पनि
बस्न नसक्ने
बस्न सके पनि
भविष्यको पीरमा
निदाउन नसक्ने
कथम कदाचित निदायो भने
कहिलै उठ्न नसक्ने प्राणी नोटबहादुर।

घडीको घण्टाघरमा बसी
समय बिर्सिने।
झ्यालैझ्यालको ऐना झ्यालमा बसी
आफ्नो तस्वीरमा तर्सिने।
पसिनाको लर्को
सम्झनाको सर्को
आँसुको भर्कोमा लुकाउँदै,
जिन्दगीको मोरोमा
मोहोर फेर्दै
चुल्होमा आगो
मझेरीमा दियो बाल्दा
घरदेशी किर्ना जुगाले पठाएको
देश बिर्सुवा तक्मा तल्किँदा पनि
नोटबहादुरको शिर
पैतालाले देश बोकी
हातले माटो चुम्दै
हृदयमा देश फुलाउनेप्रति
नतमस्तक छ।

TAGS: कविता नोटबहादुर याङो श्रो मगर