गेथाती

मोहनपुर

छविलाल कोपिला
२० कार्तिक २०८०, सोमबार

मोहनपुर1,
एक झम्को निद ब्युझिनु अगावै
जूनसँगै आँगनमा उभिएर
एकजोर आँखाहरू
सुन्दर सपनाका ताराहरू गिनिरहेछन्
आकाङ्क्षाका बगैँचाहरूमा
फुलेका असंख्य फूलहरू हेरिरहेछन्
तर, जब खुल्छन्, निदका पर्दाहरू
मोहनपुरलाई लाग्छ
आकाश त दुरुस्तै शून्य रहेछ
रहरलाग्दा फूलका हाँगाहरू पनि रित्तै रहेछन् ।

मोहनपुर एकतमासले हेरिरहेछ
भविष्यका गोरेटोहरू
केही थान बाँसका तटबन्धनले बनाइएको सम्बन्धहरू
समयक्रमसँगै बन्छन्, भत्किन्छन्
क्रम जारी छ ।

यता,
मोहनपुर ब्युँतियो कि सुतिरहेछ भनेर
सरकार पल्लो ढिकमा उभिएर हेर्छ
बार्दलीबाट चियो गर्छ
गैरसरकारहरू आँखीझ्यालबाट नियाल्छन्
र सहानुभूतिको एक टुक्रा रोटी फ्याँकेर
भाइ–भाइबीचको रणसङ्ग्राम हेर्दै
बेसुर ताली बजाइरहेछन् ।

हरेक वर्ष
मोहनपुरमा
जलमार्ग भएर सुनामीहरू आउँछन्
हवाइमार्ग भएर मीठा आश्वासनहरू आउँछन्
तर भू–मार्ग भएर कहिल्यै विकास आउँदैनन् ।

बरू, सुनामीसँगै आएर फैलिरहेका छन्
त्रासदीपूर्ण विभिन्न झारहरू
र रेलका डिब्बाजस्तै
थपिरहेकाछन् अभावहरू ।

हरेक बिहान उदाउँछ र अस्ताउँछ
तर, मोहनपुरमा कहिल्यै घाम पुग्दैन
बरू दु:खको बिस्कुन हेर्न आइपुग्छ एकछिन जून
र, छिनभरमै घुम्तोभित्र मस्तसँग निदाउँछ ‌औँसी !

मोहनपुर
धेरै समयदेखि हेरिरहेछ
एक थान नागरिकताभित्र आफ्ना छायाँहरू
आफूले टेकेको एक टुक्रा भूगोल
तर, ऊ आफै पनि ठम्याउन सकिरहेको छैन
म नागरिक हुँ या गैरनागरिक भनेर ।

मोहनपुरमा
समयले पटक-पटक चुनाव पठाउँछ
र, पठाउँछ
कहिल्यै गन्तव्य नभेटिने जेरीजस्तै मीठा सपनाहरू ।

उता बार–बार उसलाई खबरदारी गर्छन्
सीमामा ठडिएका जङ्गेपिलरहरू
ऊ सुनेको छ
पिलरहरू रात परेपछि हिँड्दारहेछन्
रात परेपछि वर–वर सर्दोरहेछन्
यसकारण मोहनपुर
एक मुठी जाग्राम ऊसँगै साथी छोडेर
आफू अर्धनिदमै रात काटिरहेछ ।

मोहनपुरसँग
पुतलीजस्तै छिरबिरे रङका
प्राचीन कला, संस्कृतिहरू छन्
उसको ईतिहास छ
ऊसँग एउटा जिन्दगी पनि छ
तर,
ऊ जिन्दगीजस्तो जिन्दगी बाँचिरहेको छैन ।
०००

  1. मोहनपुर कैलाली जिल्लाको कैलारी गाउँपालिका-३ मा पर्ने मोहना नदीपारिको गाउँ हो । ↩︎

TAGS: कविता छविलाल कोपिला