गेथाती

कुटिल

भुवन शिवाकोटी चौघरे
८ पुष २०८०, आईतवार

मेरा खुट्टामा ठेस लागेर
जुत्ताको तलुवा नै च्यातिएको देखेपछि हो
मेरो बाटोमा
तिमीले काँडाहरू छरेर
पर्खिएको

मेरा जुत्ताको
तलुवा नै च्यातिएको देखेपछि हो
तिमीले
मेरै सग्लो ऐना फुटाएर
बाटो भरी छरेको

परन्तु
तिमीलाई थाहा थिएन
मलाई चोटहरूले पिरोल्दैनन्
काँडामा टेकेर पनि
म हिँडिदिए

ऐनाका टुक्राहरूमा टेकेर पनि
म नचिप्ली
अनुहार हेरेर नै हिँडिदिएँ

फरक एउटै थियो
चिराचिरा ऐनाका टुक्राटुक्रामा
मेरो अनुहार थियो

तिमी
मेरा अनुहार हेर्दै
मेरै रक्ताम्ये पाइलाहरूमा टेकेर
पछि पछि आयौ

तर
तिम्रो खुट्टामा
तलुवा नफाटेको जुत्ता थियो ।
०००
काठमाडौँ

TAGS: कविता