गेथाती

कविता : आमा

सन्तानको सामल पिस्दापिस्दै
घिस्रिएर खिस्रिएर फुकालिछिन्
चाँदीझैं टल्किने बत्तीस दन्त
रातो चिल्लो गाला
गाथिएको जवानी
सन्तानलाई दिँदै
आफू खुलित्त हुँदै
डोरीले बाँधेको बोरीको मुखजस्तै
मुर्जिएको उहाँको मुख
कैल्यानहरूको ओडारझैँ
डरलाग्दो उराठलाग्दो र उजाड छ ।

सन्तानको रसिलो जवानी
त्यहीँ मुखले चपाएको चारोको हो भनी
सन्तान सम्झिन घिनाउँछ्न्
छि ! छि ! आमाको जुठो खादैनन् ती
फुस्रिएर लट्टा परी
खुइलिँदै गरेको विरुप कपाल
सन्तानलाई ममतामयी न्यानो काखमा राखी
लिखा जुम्रा मार्दै
बाँसको करेम काइयो चलाउँदै,
जादु परीको कथा सुनाउँदै,
कपाल फुलाउँदै बैँस गुजारिन्
अहिले त्यहीँ कथाकी बोक्सीजस्तै
आँखाको ज्योति मधुरो छ,
सन्तानको भविष्य खोज्दाखोज्दै
कानको सुनाई अधुरो छ,
झिझो कचकच सम्हाल्दासम्हाल्दै
घिनलाग्दो ! थोटी आमा !
एक्ली अपुरो छिन् ।

छोरासँग अडिएकी छोरी
छोरीसँग जोडिएको छोरा
मनमुटुको टुक्राको टुक्राटुक्री
सबैको नजरमा उपेक्षित
घिनलाग्दो ! थोटी आमा !!
बोक्सीआमा हुँदै प्रताडित छिन्
जिन्दगी अरूलाई अर्पिँदाअर्पिँदै
थिलोथिलो भाको
कुपरिएर गुङुरिएर वृद्ध भई थर्थरी काम्ने रोगी ज्यान छ।


असहाय
घिनलाग्दो ! थोटी आमा !!
सन्तानको सानो खोकी रुवाइमा
दिनरात नभनी भोक प्यास नमानी,
अनिँदा भोको रातमा
मुटुको टुक्रा काखीमा राखी
औषधिमुलोमा लाग्दालाग्दै
आफैलाई बिर्सेकी
रुग्ण घिनलाग्दो ! थोटी आमा !!
मुख थुनेर रातभरि खोक्दा
सन्तान सन्किँदै भन्छ-
रातभरको भुकाइले अनिदो पार्‍यो
घिनलाग्दो ! थोटी आमा !!
पुलुक्क अश्रु मिश्रित आँखा
सन्तानलाई हेर्दै
चुपचाप भुइँतिर हेर्दै लामो श्वास फेर्छिन् ।

कठै !!!
रुग्ण जीर्ण
घिनलाग्दो ! थोटी आमा !! देख्दादेख्दै
लाचार सन्तान कोही परदेशिन्छन् त
कोही घरै छोडिदिन्छ्न्
अस्ताइसकेकी, डुब्नै लागेकी
एक्ली निरीह
घिनलाग्दो ! थोटी आमा !!
दुई हात जोडी
धमिलिँदै गरेको स्मृतिको पहिलो पन्नामा
सन्तानको तस्वीर सजाउँदै
आँखाभरि आँसु टिल्पिलाउँदै
आफ्नो मुटुको टुक्रासँग
अर्को जुनीमा भेट्ने आशामा
यो जुनीमा
सन्तानको समृद्धि¸ दीर्घायु र सुखको कामना गर्दै
घिनलाग्दो ! थोटी आमा !! भन्छिन्
‘हे भगवान् !
मेरो सन्तानलाई केही नहोस्
हे भगवान् ! रक्षा गर ।’
०००

TAGS: कविता नेपाली कविता