गेथाती

कविता : मान्छेको सिकाइ

चरीहरू आएर गुनासो पोखे
मान्छेहरूलाई पखेटामा
उडानको सङ्केत देखायौ
उनीहरू उड्न थाले
हामीहरू खुशी हुन नपाउँदै
उनीहरूले हाम्रो आकाश खोसे
हामी पो उड्न बिर्सन थाल्यौ
सधैँका लागि वायुपङ्खीहरू उड्न बिर्से भने ?

माछाहरू छटपटाउँदै फटफटाउँदै
गुनासो पोखे
हामीहरू मान्छेलाई पौडी कला देखायौ
उनीहरू हाम्रा पौडी सिके
हामी खुशी हुन नपाउँदै
उनीहरू हाम्रा जलासय खोसे
हामी पो पौडी बिर्सन थाल्यौ
सधैँको लागि जलचरहरू पौडिन बिर्से भने ?

संसारका
फूलबुट्टे चारखुट्टेहरू
गुनासो पोखे
हामी मान्छेलाई
चारपाउको तालमेल देखायौ
उनीहरू हाम्रो ढाडमा टेकेर
काँधमा चढेर
सयर संरचना रचना रचे
भरणपोषण त ठीकै थियो
मोजमस्तीको लागि
चरण र खर्कहरू खोसेर दौडिन थाले
हामी रमिते हुँदा
सधैँका लागि थलचरहरू हिड्न बिर्से भने ?

हरियालीका ठुटोहरू
जलिरहेको मुटुमा
आँसुको थोपाले निभाउँदैदै गुनासो गरे
रङ्गीचङ्गी फूल चुदिँदा पनि
फूलहरू फुलिरहे
स्वादिला फलहरू निचोरिदा पनि
फलहरू फलिरहे
मान्छे
पातहरू जार्दै
काण्डहरू चिर्दै
जराहरू उखेल्दै
हराभरा हरियाली उजार्दै जाँदा
हाम्रा विउहरू अङ्कुरान बिर्से भने ?

हावा सिरसिराउँदै
गुनासो गरिन
मेरो प्रेममा
हावामा कावा खानेहरू
मेरा स्पर्शमा लहसिदै
सुगन्ध फिजाउँदै नया सृष्टि थप्नेहरू
मान्छेले मबाट खोस्यो
बोझिलो दुर्गन्ध लिएर
स्वच्छताविना
म उड्न सकिनँ भने ?

पानी
सलसलाहतमा
सुकसुकाउँदै
गुनासो गरिन
मेरो आलिङ्गनमा
मस्तमस्त डुबुल्की मार्दै
मसँग लुकामारी खेल्ने
मेरा प्रियसीविना
मेरा खोसिएको निर्मलता सम्झिँदै
कचेरा दलसँग
मृत यात्रा कति दिन पो गरुँला
हो साँच्चै म बग्न बिर्सेँ भने ?

धर्तीले गुनासो गरिन्
लागेन भने रापिलो न्यानो घाम
बगेन भने निर्मल गङ्गा
बहेन भने स्वच्छ हावा
हरायो भने खुल्ला आकाश
उम्रिएन भने कुनै टुसा
घस्रिने उफ्रने दौडिने पौडिने कोही नभई
धर्ती साँच्चिकै बाँझी भयो भने ?

पर्खपर्ख
जल जमिन
आगो आकाश पवन
समस्त जीवजन
कुडो पाउँदा कुहिनो निल्दै
म मातिदैछु झन् झन्
वाउ ! म सर्वश्रेष्ठ
मतिभ्रष्ट
चेतनशील सामाजिक प्राणीको खोलमा
आफैलाई पार्दै खरानी विकाशको तेजाबी झोलमा
उफ !
म थाकेनँ भने
यो अपराध
यो भोग
आफैलाई निलेर मात्र शान्त हुनेछ ।

कुनै एकलाई बिर्सनु
जीवनको समायोजन बिर्सनु
समायोजन बिर्सनु
खरानीलाई सम्झनु हो ।

०००

TAGS: कविता नेपाली कविता