गेथाती

कवि प्रेमप्रकाश र ‘रगतको तर्पण’ कवितासङ्ग्रह

डी.बी. टुहुरो
२२ पुष २०८१, सोमबार

प्रेमप्रकाश वि.सं.२०४२ मङ्सिर १० गते उवा–६ घर्तीबारा, रोल्पामा जन्मिएका हुन् । उनी पिता बहादुर घर्तीमगर र माता तुला घर्तीमगरका सुपत्र हुन् । उनको खास नाम प्रेमप्रकाश घर्तीमगर हो । एम.ए.सम्मको अध्ययन गरेका प्रेमप्रकाश अध्यापन पेसामा संलग्न छन् भने अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन् । सानै उमेरदेखि साहित्यमा अभिरुचि राख्ने प्रेमप्रकाशले आफ्नो मातृभाषा मगर र नेपाली दुबै भाषामा लेखनी अगाडि बढाएका छन् । उनी मातृभाषाबाटै साहित्य यात्रामा प्रवेश गरेका हुन् । मातृभाषा मगरभाषामा लेखिएको ‘युङ्ला रो’ अर्थात ‘मनका कुरा’ कवितासङ्ग्रह(२०६५) उनको पहिलो पुस्तकाकार कृति हो । कविता, गजल, गीत आदि विधाका लेखनीमा सक्रिय देखिएका प्रेमप्रकाश पछिल्लो समयमा छन्दोबद्ध कविता लेखनमा विशेष रुचि राखेका छन् । उनको ‘जीवनपर्यन्त’ नामक छन्दोबद्ध कवितासङ्ग्रह (२०६८), ‘त्रि–सिन्धु’ संयुक्त गजलसङ्ग्रह (२०६८), ‘अनुभूति’ गजलसङ्ग्रह (२०६९), ‘राप्ती’ संयुक्त गजलसङ्ग्रह (२०६९), ‘प्रातिका समय’ निबन्धसङ्ग्रह (२०७३) कृतिहरू प्रकाशित भएका छन् भने ‘मायालु’ नामक आधुनिक गीतिएल्बम (२०७२) पनि बजारमा ल्याएका छन् । त्यस्तै प्रेमप्रकाशले भखैरै ‘रगतको तर्पण’ कवितासङ्ग्रह (२०८१) पाठकसामु पस्केका छन् । उनी ‘सेती विष्ट साहित्य पुरस्कार–२०६९’, राप्ती साहित्य परिषद्‌द्वारा प्रदान गरिने ‘खोबिलाल हुकुमादेवी छन्द पुरस्कार–२०६९’, दीयो नव प्रतिभा पुरस्कार–२०६८ तथा ‘जीबसिम पुरस्कार–२०७२’बाट पुरस्कृत भइसकेका छन् ।
कवि प्रेमप्रकाश नेपाली साहित्यका एक चिरपरिचित कवि व्यक्तित्व हुन् । सिर्जना यात्राको सुरुवातीमा केही समय छन्दोबद्ध कविता लेखनमा सक्रिय भए पनि उनी विशेष गरी पछिल्लो समय गद्य कविता लेखनका क्षेत्रमा प्रसिद्ध छन् । उनका रचनाहरूमा मानवीय संवेदना, सामाजिक यथार्थ र प्रकृतिप्रतिको प्रेमको उत्कृष्ट अभिव्यक्ति पाइन्छ । उनका कविताहरू सरल तर गहिरो छन्, जसले पाठकलाई जीवन र समाजप्रति नयाँ दृष्टिकोण प्रदान गर्छन् । उनको पछिल्लो कृति ‘रगतको तर्पण’ कवितासङ्ग्रह (२०८१)मा विचार प्रवाहका विविध पक्षलाई उजागर गर्ने प्रयत्न गरेमा छन् ।

क) आदिवासी चेतना
रगतको तर्पण कवितासङ्ग्रहमा केही कविताहरूमा आदिवासी जनजातिका चेतना विशेष रूपमा झल्किन्छ । उनका कवितामा आदिवासी जीवनशैली, संस्कृति, परम्परा, र सामाजिक समस्याहरूको मार्मिक चित्रण पाइन्छ । उनी आदिवासी जनजीवनलाई केवल वर्णन गर्ने कवि मात्र होइनन्, उनी तिनका अधिकार, अस्तित्व र पहिचानको लागि संवेदनशील स्वर बोल्ने साहित्यकार हुन्, जसले आदिवासी जनजातिका संवेदनालाई बडो मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।

  1. संवेदनशीलताः आदिवासी जनजीवनका पीडा, शोषण र सङ्घर्षलाई उनले गहिरो संवेदनशीलताका साथ व्यक्त गरेका छन् ।
  2. सांस्कृतिक चेतनाः आदिवासीहरूको मौलिक परम्परा, संस्कृति र धर्मलाई संरक्षण र सम्मान गर्ने भाव व्यक्त गरिएको छ ।
  3. सामाजिक न्यायको मागः उनका कविताहरू शोषणविरुद्धको सङ्घर्ष, समानताका लागि आवाज र न्यायको माग गर्ने माध्यम हुन् ।
  4. आत्मपहिचानको खोजीः आदिवासी जनजातिका मानिसहरूको पहिचान, अस्तित्व र आत्मसम्मानको सवाल उनका कवितामा प्रमुख रूपमा उठान गरेका छन् ।
  5. प्रकृतिप्रतिको मायाः आदिवासी जनजातिका जीवन प्रकृतिसँग गहिरो रूपमा गाँसिएको हुन्छ, जसलाई उनले कवितामा चित्रण गरेका छन् ।

यी बाटाहरू सबैभन्दा पहिले
हाम्रै पैतालाहरूले हिडेका हुन्
हाम्रै विवेकले ठम्याएको हो अन्नको बिउ
हाम्रै आँखाहरू छुट्याएका हुन्
आकाशका इन्द्रेणीका रङहरू
विडम्बना
राज्यले हामीलाई देखेको छैन अहिलेसम्म
र सबैभन्दा पहिले हामीलाई
लागिरहेछ लाज ।

(आदिवासी : चेतनाको एउटा मुहान)

ख) विद्रोहको चेत
कविका केही कविताहरूमा विद्रोहको चेत प्रमुख रूपमा प्रकट भएको छ । उनको कविताले सामाजिक अन्याय, शोषण, दमन र असमानताका विरुद्ध आवाज उठाएका छन् । प्रेमप्रकाशका कविताहरूले प्रायः निम्नलिखित पक्षमा विद्रोहको भाव देखाएका छन्ः

१. सामाजिक अन्याय र शोषणको विरोध
उनका कवितामा शोषित वर्गको पीडा र तिनको अधिकार प्राप्तिका लागि सङ्घर्षको भावना मुखरित हुन्छ । उनले समाजमा रहेको असमानता र अन्यायलाई चुनौती दिने शब्दावली प्रयोग गरेका छन् ।
२. सामन्तवाद र पूँजीवादको आलोचना
उनका कवितामा सामन्ती सोच र पूँजीवादी व्यवस्था प्रति आक्रोश देखिन्छ । यी व्यवस्था मानवलाई विभाजनमा राख्ने र गरिबलाई अझ गरिब बनाउने शक्तिका रूपमा प्रस्तुत भएका छन् ।
३. व्यक्तिगत स्वतन्त्रताको वकालत
प्रेमप्रकाशका कविताले व्यक्ति स्वतन्त्रताको पक्षपोषण गर्छन् । उनले मानवीय अस्तित्वलाई बाध्य गर्ने परम्परागत मान्यताहरूलाई तोड्न आग्रह गरेका छन् ।
४. क्रान्तिको आह्वान
उनका कविताहरूले पाठकलाई विद्रोहको मार्गमा उभिन प्रेरित गर्छन् । उनी परिवर्तनलाई एकमात्र समाधान मान्छन् र समाजमा नयाँ चेतनाको निर्माण गर्न चाहन्छन्। उदाहरणको रूपमा, उनका कविताहरूमा प्रयोग गरिएका प्रतीक र बिम्वहरू विद्रोह र सङ्घर्षलाई जीवन्त बनाउँछन् । उनका शब्दहरूले केवल शोषित वर्गको आवाज बनेका छैनन्, उनीहरूलाई न्यायका लागि लड्न प्रेरित पनि गर्छन् ।
कवि प्रेमप्रकाशका कविताहरू नेपाली साहित्यमा विद्रोहको चेतको सशक्त अभिव्यक्ति हुन् । यसले पाठकलाई सोच्न, बुझ्न र समाज परिवर्तनका लागि खडा हुन उक्साएका छन् ।
निमुखाको निर्दोष आँखा
र नाङ्गो छातीका चिसा सुस्केराहरू
उनीहरूका हैकमवादी बुद्घिले बुझ्दैन
छापामार योद्घाको उध्रिसकेको हरियो कम्ब्याट ड्रेस
र अँधुरो सपनाको कथा
उनीहरूका विचारले समेट्दैन ।

(बाँकी नै छ विजयको फैसला)

कवि प्रेमप्रकाशका कविताहरूमा नेपाली जनयुद्धको स्मरण विशेष रूपले अभिव्यक्त भएको पाइन्छ । उनका कविताहरूमा जनयुद्धको ऐतिहासिकता, त्यसको बलिदान, जनताका पीडा र सङ्घर्षका गहिरा भावहरू समेटिएका छन् । उनले जनयुद्धको दौरान नेपाली समाजमा भएको परिवर्तन र त्यसले ल्याएको सामाजिक तथा राजनीतिक चेतनालाई कवितामार्फत उजागर गरेका छन् । प्रेमप्रकाशका कविताहरूमा जनताको सपना, शोषणविरुद्धको आवाज, सहिदहरूको सम्मान र क्रान्तिको उद्देश्य प्रतिध्वनित हुन्छ ।
जनयुद्ध स्मरणसम्बन्धी उनका कविताहरूले पाठकलाई सङ्घर्षको त्यो कालखण्डमा पुर्याउँछन्, जहाँ जनताका अधिकारका लागि ठुलाठुला त्याग र बलिदान भएका थिए । उनका कविताहरूले एकातर्फ क्रान्तिको सकारात्मक पक्ष उजागर गर्छन् भने अर्कोतर्फ द्वन्द्वको पीडा र त्यसले समाजमा पारेको प्रभावलाई पनि भावुक रूपमा प्रस्तुत गर्छन् ।

ग) महिला सशक्तिकरण
कवि प्रेमप्रकाशका रगतको तर्पणभित्रका केही कविताहरूमा नेपाली जनयुद्धका क्रममा महिलाहरूले भोगेका पीडा, सङ्घर्ष, र सहनशीलताको यथार्थवादी अभिव्यक्ति पाइन्छ । उनका कविताहरूले महिलाहरूले सहन गरेको हिंसा, बिछोड र अन्यायलाई भावनात्मक रूपमा प्रस्तुत गर्दै युद्धको कठोर वास्तविकतालाई उजागर गर्छन् । उदाहरणका लागि, उनका कवितामा महिलाहरूको भूमिकालाई मात्र सहायक पात्रको रूपमा नभई सक्रिय परिवर्तनका संवाहकको रूपमा चित्रण गरिएको छ । महिलाहरूले युद्धकालमा सामना गरेका पारिवारिक विछोड, बलात्कार, मानसिक पीडा र सामाजिक कलङ्कजस्ता विषयलाई मार्मिक रूपमा प्रस्तुत गरेर कविताहरूले नारी सङ्घर्षको गहन चित्रण गरेका छन् ।
आफू एक्लै भएपछि आमाहरूले
एक्लै चलाए घरको सत्ता
खनेर पाखोबारी उमारे आँत भर्ने अन्न
र उनीहरूले बडो मुस्किलले
एक्लै एक्लै मिलेर बनाए
एक विशाल एक्लै
यसरी आमाहरूले जिते
भोकसँगको युद्ध ।

(आमाहरूको सत्ता)

कवि प्रेमप्रकाशका सङ्ग्रहभित्रका केही कवितामा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन बाँकी रहेको सङ्केत प्रकट भएका छन् । उनका कवितामा सामाजिक, आर्थिक र राजनीतिक संरचनाका गहिरो विरोध पाइन्छ, जहाँ व्यवस्थाको परिवर्तनले मात्रै समस्या समाधान गर्न नसक्ने यथार्थलाई उजागर गरिएको छ । उदाहरणका लागिः
१. सामाजिक असमानताः कवितामा समाजमा रहेको जातीय विभेद, लैङ्गिक असमानता र गरिबीजस्ता मुद्दाहरू अझै पनि समाधान हुन नसकेको कुरा देखाइएको छ ।
२. राजनीतिक बेथितिः व्यवस्थाको परिवर्तन भए पनि सत्तामा रहेका व्यक्तिहरूको स्वार्थी प्रवृत्ति, भ्रष्टाचार र जनताको दुःखप्रति बेवास्ता गर्ने चरित्र चित्रण गरिएको छ ।
३. जनताको असन्तोषः कविताले जनताको भावना, आशा र निराशाको बिचको द्वन्द्वलाई मूर्त रूपमा प्रस्तुत गर्दै, व्यवस्था परिवर्तनले मात्रै जनताको वास्तविक जीवनमा परिवर्तन ल्याउन नसक्ने कुरा दर्साइएको छ । जस्तो किः

हाम्रो बाटो एउटै थियो
हाम्रा विचार, यात्रा, सपना र गीतहरू एउटै थिए
तर सँगै हिडेर पनि
हामी कतै पुग्न सकेनौँ
कमरेड ! तपाईजस्तो हामी बदलिन सकेनौँ ।

(रगतको राजधानीबाट)

तसर्थ, प्रेमप्रकाशका कविताहरू केवल साहित्यिक सिर्जना मात्र होइनन्, ती नेपाली समाजको एक महत्त्वपूर्ण कालखण्डको दस्तावेज पनि हुन् । उनका कविता केवल साहित्यिक सौन्दर्यमा सीमित छैनन्, ती चेतना जागृत गर्ने, अन्यायको विरोध गर्ने र समानताको लागि लड्ने प्रेरणादायी रचना पनि हुन् । कवितामा समाजमा व्याप्त विसङ्गतिका विषयहरूलाई स्थायी परिवर्तनका लागि व्यवस्थाको पुनः संरचना मात्र नभई मानसिकता र सामाजिक संरचनाको गहिरो परिवर्तन आवश्यक रहेको सङ्केत गरेका छन् ।

०००

TAGS: डी.बी. टुहुरो नेपाली समालोचना प्रेमप्रकाश