गेथाती

कविता : रिघाँउ

घामले रापिएर
मेरा रङहरू ओइलिँदै गर्दा
पसिनाका असिनाले
मेरो जोवन खुलिँदै गर्दा
रिघाँउ– मेरो प्रिय इन्द्रेणी
घाम चर्किँदै गर्दा
पानी वर्षिँदै गर्दा
तिमी पनि
मजस्तै
घामले मैलिएका तिम्रा रोगनहरू
पानीमा पखाल्न जान्छ्यौ हौली
जसरी म दर्दहरू आँसुले पखाल्छु ।

तिमी पनि
मजस्तै
पानीले पखालिएका तिम्रा रङहरू
घाममा निकाल्न जान्छ्यौ हौली
जसरी म जीवनको बिस्कुन सु‌काउँछु ।
०००