नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका बहुचर्चित गायक गोपाल पुनमगर ‘सिङरोन’को नयाँ कोसेली ‘हुचिके’आऊ सार्वजनिक भएको छ ।
मगर खाम भाषाबाट गाइएको उक्त गीतको भिडियो अंग्रेजी वर्ष २०२५ जनवरी १ तारिखमा गायक सिङरोनले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
गीत र भिडियोले गाउँ छाडेर सहर बस्ने र देश छाडेर परदेश बस्ने युवायुवतीहरूलाई गाउँ फर्कन आह्वान गरेको छ ।
कोही जीवन निर्वाहका लागि बाध्यताको आँसु खसाउँदै गाउँ छाडेका छन् त कोही सुख र सयलको खोजमा गाउँ छाडेका छन् । जसले जसरी छाडे पनि जुन उद्देश्यले छाडे पनि वर्तमान समय गाउँ रित्तिएको छ, ठाउँ रित्तिएको छ । गाउँमा बस्ने बुढा पाकाहरूको हृदयमा पहिरो गएको छ । मर्दा मलामी पाउन छाडेको छ । विवाह गर्दा जन्ती पाउन छाडेको छ । बेठबाहुरमा बल्लेबाङ्गो मान्छे पाउन छाडेको छ । तीनै एक्लो गाउँहरूको, तीनै कपाल फूलेका आमा बुवाहरूको कथा हो ‘हुचिके’ । गीतको छायाङ्कन रुकुम पूर्वको गर्खै गाउमा गरिएको छ भने गीतमा गोपाल पुन (सिङरोन)का बाबा राजकुमार पुनले जीवन्त अभिनय गरेका छन। उनि रेडियो नेपालको स्वर परीक्षा समेत पास गरेका गाजाबाजा बजाउन निपुण कलाप्रेमी हुन्।
यस अघि पनि गायकले नेपाली भाषा र खाम भाषाबाट थुप्रै गीतहरू गाइसकेका छन् । कवि तथा गीतकार ‘याङो सोरो’ले मगर खाम भाषाबाट रचना गर्नुभएको गीत ‘आओ झिम आओ नाङ्खार’, ‘जोस लेउ होस लेउ ङा धापा ङालिउ बेलाक’, ‘काँचिवाल’ लगायतका गीतहरूमा सिङरोन आफैले सङ्गीत भरेर गाएका छन् ।
पछिल्लो समय गायिका सुमित्रा बुढासँग गाएको गीत ‘मारुम’ र ‘रुकुम बुङखामी’ले पनि यतिबेला नेपाली साङ्गीतिक बजार तताइरहेको छ । रुकुम बुङखामीको अन्तरामा रहेको
‘ताटन रुमाल छेल पारी लुकी हेर्नेले,
भेट्न आउँला दर्शन देऊन छड्के हेर्नेले’
टिकटकमा खुब चलिरहेको छ । यी भिडियोहरू भने गायिका सुमित्रा बुढाको युटुब च्यानलमा छन् ।
