पछिल्लो समय म्युजिक भिडियो र चलचित्र सुटिङका लागि आकर्षक गन्तव्य बन्दै गएको रुकुम पूर्वले अर्को उत्कृष्ट सिर्जना पस्किएको छ। पुस १४ गते Narayani Khatri युट्युब च्यानलबाट सार्वजनिक भएको बहुप्रतीक्षित गीत “करीमैले पो के गर्छ काइँला” को म्युजिक भिडियोले सामाजिक कथा र रुकुम पूर्वको सांस्कृतिक सौन्दर्यलाई उजागर गरेको छ।
रुकुम पूर्वमा यसअघि सफल दुई चलचित्र “घरज्वाइँ” तकसेरामा र “खुश्मा” चलचित्र मैकोटमा छायाङ्कन गरिएको थियो। खुश्मा चलचित्रको रुकुम मैकोट बोलको गीत बहुचर्चित बनेर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित भएको थियो। यी प्रोजेक्टहरूले रुकुमलाई कलात्मक स्थानका रूपमा चिनाउन सफल भएकोमा “करीमैले पो के गर्छ काइँला” थप टेवा पुर्याउने विश्वास गरिएको छ।
लोक लयमा आधारित यस गीतमा खेम सेन्चुरी र देवी घर्तीले स्वर दिएका छन्। गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत खेम सेन्चुरीले तयार पारेका छन्। नारायणी खत्रीको प्रस्तुति रहेको यस भिडियोमा चर्चित कलाकार पल शाह र नारायणी खत्रीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।भिडियोको छायाङ्कन तकसेरा र आसपासका रमणीय स्थानहरूमा गरिएको छ। यसले रुकुम पूर्वको भौगोलिक विशेषता, मगर संस्कृति, एकै ठाउँमा चिटिक्क परेका गाउँ र रमणीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
मौसम हिमालीको निर्देशनमा तयार भएको यस भिडियोले सामाजिक अन्याय, पारिवारिक संघर्ष, र महिला कथाहरूलाई प्रभावकारी ढंगले उजागर गरेको छ। भिडियोको छायाङ्कन नवराज उप्रेतिले गरेका हुन् भने सम्पादन करणले गरेका छन्।गीतको कथा, संगीत, र कलाकारहरूको अभिनयले दर्शकहरूको गहिरो प्रशंसा बटुलिरहेको छ। सामाजिक सञ्जालमा यो गीत र भिडियो सकारात्मक रूपमा चर्चा भइरहेको छ।
रुकुम पूर्वले नेपाली कला, संस्कृति, र पर्यटन प्रवर्द्धनमा आफ्नो स्थान थप सुदृढ बनाउँदै गएको छ। यो म्युजिक भिडियोले रुकुम पूर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान गर्ने अपेक्षा गरिएको छ।
