गेथाती

लिबाङमा ‘साहीमासा’को गृहविमोचन


१८ बैशाख २०८२, बिहीबार

रोल्पा, थबाङ गाउँपालिका–३ मिरुल, दाइपोमा जन्मिएका कवि समीप बैरागीद्वारा लिखित कवितासङ्ग्रह ´साहीमासा` को गृहविमोचन समारोह यही वैशाख १७ गते रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

सहिद स्मृति साहित्य प्रतिष्ठान¸ रोल्पाले आयोजना गरेको उक्त गृहविमोचन कार्यक्रममा प्रमुख अतिथिमा कवि डी.बी. टुहुरो थिए भने वक्ताहरूमा कवि चन्द्र जी.एम., कवि भगवती बुढामगर, कवि डी.बी. मगर ´स्वेद` थिए । अन्य आमन्त्रित अतिथिहरूमा रोल्पा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार, पत्रकार खेम बुढामगर, पत्रकार काशीराम डाँगी, पत्रकार नवीन लोचन मगर, पत्रकार महेश न्यौपाने, साहित्यकार चन्द्रज्योति सुवेदी, साहित्यकार कृष्णप्रसाद न्यौपाने, पत्रकार खुविना सुनारी मगर, पत्रकार देवी गुरुङ, रेडियो मालश्री, रेडियो जलजला रेडियो रोल्पाका प्रतिनिधिहरूलगायत कवि लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गृहविमोचन कार्यक्रममा प्रमुख अतिथि डी.बी. टुहुरोले मन्तव्यको क्रममा बोल्दै मगर खाम भाषाबाट साहित्यिक कृतिहरू प्रकाशन गर्दै आएका कवि समीप बैरागीद्वारा लिखित यस साहीमासा कविता कृतिले नेपाली कविता क्षेत्रमा एउटा अलग खालको पहिचान निर्माण गरेको बताएका थिए । वक्तामा रहेका कवि तथा गजलकार डी.बी. मगर ‘स्वेद’ले कवि समीप बैरागीको व्यक्तित्वमाथि बोलेका थिए भने द्वय वक्ताहरू कवि भगवती बुढामगर र कवि चन्द्र जी.एम.ले साहीमासा कवितासङ्ग्रहको सकारात्मक र नकारात्मक पक्षको चिरफार गर्दै अब रोल्पाले पनि राष्ट्रियस्तरमा साहित्य क्षेत्रबाट आफ्नो सशक्त उपस्थिति जनाएको बताए ।

समारोहमा कवि बैरागीले बोल्दै रोल्पामाथि निर्माण गरिएको गलत भाषालाई अब कवि लेखकहरूले चिर्नुपर्ने बताएका थिए भने पत्रकार खेम बुढामगरले आफ्ना गहकिला भनाइहरूद्वारा बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा नवीन लोचन मगर, देवी गुरुङ, सम्फा घर्ती, शंकर मगरलगायतले साहीमासा कवितासङ्ग्रहबाट कविता वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष गजलकार आभाष बेसहाराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई गजलकार हिमा खड्का ‘मनसुन’ले सञ्चालन गरेकी थिइन्ग भने स्वागत मन्तव्य संस्थाका सल्लाहकार तथा कवि गीता निर्दोषीले दिएका थिए ।