गेथाती

सात मुक्तककारहरूका सात मुक्तकहरू

मुक्तक दिवस–२०८०’ को अवसरमा ‘मुक्तक अध्याय प्रतिष्ठान’मा आबद्ध सातजनाका एक-एक वटा मुक्तकहरू राखेका छौँ । – सम्पा.

थकित बाबुको मुक्तक
चिन्ता नलागोस् यो दुनियाँको डर नलागोस्
दुःख, पीडा, अभावको कत्ति असर नलागोस्
जे-जे लाग्नुछ सबै मलाई लागोस् भगवान्
मेरी आमाको खुसीमा कसैको नजर नलागोस् ।
०००
तलकोट-१ सुनिकोट, बझाङ

विक्रम वली ‘नेपाली बाबु’को मुक्तक
बाटो बदलिने फरक धार आउने यिनै कुरा हुन्
बिस्तारै बेमेलका विचार आउने यिनै कुरा हुन्
जुन कुरा हल्का ठानी अरूसँग हास्छ्यौ, बोल्छ्यौ
याद राखे, सम्बन्धमा दरार आउने यिनै कुरा हुन् ।
०००
घोराही-११, दाङ

नवीन बोहरा ‘भावुक’को मुक्तक
ठूलो मान्छे बन्ने आश खाडीमा काम लाग्यो
पढाइको मेहनत खास खाडीमा काम लाग्यो
मेरो लागि आफ्नो देशमा जागिर नमिलेपछि
मैले गरेको डिग्री पास खाडीमा काम लाग्यो ।
०००
बझाङ (हालः भारत)

अनिल अछामीको मुक्तक
उजाड बनाउने मायाको बारी कुन्नि को थियो
खेल्ने तिम्रो दिलमा लुकामारी कुन्नि को थियो
यति सजिलै उसको अघि आत्मसमर्पण गर्‍यौ
प्रिय हाम्रो प्रेममा आतङ्ककारी कुन्नि को थियो ।
०००
अछाम (हालः भारत)

लाहुरे कमलको मुक्तक
तिमीले जस्तै खेदो खन्न मलाई पनि आउँछ
उल्टासुल्टा कुरा भन्न मलाई पनि आउँछ
तिमीले एक गल्तिमा छोड्ने निर्णय गरिछौ
तिमीजस्तै निष्ठुरी बन्न मलाई पनि आउँछ ।
०००
आदर्श-५ भाडीशैन, लामिखाल¸ डोटी

सौगात पुनमगर ‘समर्पण’को मुक्तक
कुरा छँदैछैन लम्बाइ, चौडाइ फरक यत्ति हो
राखेका छौँ दुबैले मुटुमा सजाई फरक यत्ति हो
माया त तिमीले पनि गर्छ्यौ अनि मैले पनि गर्छु
मैले तिमीलाई तिमीले अर्कैलाई फरक यत्ति हो ।
०००
रोल्पा

सागर विश्‍वकर्माको मुक्तक
गरिरहेछु सोच विचार दोधारमा छु
म पागल भएकोछु यार दोधारमा छु
एकपछि अर्को लगातार आउँछ
तिम्रो मन हो कि बजार दोधारमा छु ।
०००
कैलाली (हालः भारत)

TAGS: नेपाली मुक्तक मुक्तक