गेथाती

कविता : भुसुक्कै बिर्सेछु

भगवती बुढामगर
३० असार २०८१, शनिबार


छोरी मान्छेले छोटा लुगा लगाउनुहुन्न
विकृत मानसिकता भएका मान्छेहरूलाई
सहन गाह्रो हुन्छ भन्ने बिर्सिदा
आफूलाई बाटो हिड्नै अप्ठ्यारो हुनेगरी
छेकछाकमा परेको भुसुक्कै बिर्सेछु ।

आफ्नै साथीभाइहरूसँग पनि
खुलेर हाँसो ठट्टा गर्नुहुँदैन भन्ने बिर्सिदा
साथीभाइले नै मलाई गलत नजरले
हेर्न थालेको भुसुक्कै बिर्सेछु ।

समयले पनि छोरी मान्छेलाई पक्षपात गर्छ
बेलुकाको समय मेरो हैन भन्ने बिर्सिदा
बेलुका कामले घर आउन ढिलो हुँदा
छिमेकीहरूले कुरा काटेको भुसुक्कै बिर्सेछु ।

बाहिर प्रशिद्धि कमाएका र धेरै अनुयायी बनाएका
मान्छेहरू पनि भित्र अपराधी मानसिकताका
हुनसक्छन् भन्ने बिर्सिदा
आफ्नै इज्जत बन्धकी राख्नुपरेको भुसुक्कै बिर्सेछु ।

खै ! यो बिर्सिने बानी पनि कति हो कति
कतिको बलात्कृत भई हत्या भएको
कतिले सहन नसकी आत्महत्या गरेको
कति आँट गरेर बाँच्नेहरू पनि
पटक पटक ज्यूँदै मारिएको
कतिले हिम्मत गरेर न्यायको ढोका
ढक्ढक्याउँदा उल्टै अन्यायमा परेको
यी र यस्ता सब कुरा भुसुक्कै बिर्सेछु
आखिर जीवन बिर्सनलाई त रहेछ ।
०००
रोल्पा