गेथाती

दाङको घोराहीमा मगर खामको कवि गोष्ठी सम्पन्न


१४ मंसिर २०८२, शनिबार

मङ्सिर १३¸ दाङ । नेपाल मगर लेखक सङ्घ¸ दाङ शाखाको आयोजनामा शनिबार दाङको घोराहीमा ‘मगर खाम भाषाको कविगोष्ठी’ सम्पन्न भएको छ । सो लेखक सङ्घका जिल्ला अध्यक्ष चन्द्रबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न गोष्ठीको प्रमुख अतिथिमा मगर अग्रज साहित्यकार एवम् नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक संस्थानका कार्यकारी निर्देशक डा. टीकाराम उदासी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगर रहनुभएको थियो ।

दाङ शाखाका उपाध्यक्ष केशव स्थापित घर्ती मगरले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। सो गोष्ठीमा खाम भाषा अन्तर्गत विष्णु बुढामगर, श्यामसुन्दर घर्ती मगर, एच.बी. थापामगर र गायत्री थापामगरले खाम भाषामा रचना प्रस्तुत गर्नुभएको थियो भने नेपाली खस भाषाअन्तर्गत पुरण शर्मा, यम रेग्मी, सुरेशकुमार पाण्डे र मिरा घर्तीमगर लगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो ।

दाङ शाखाकी सचिव सरस्वती रोकामगरले सञ्चालन गरेको सो गोष्ठीमा प्रमुख अतिथि टीकाराम उदासी¸ विशिष्ट अतिथि दर्जित रोकामगर¸ राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी, प्रगतिशील लेखक सङ्घ¸ दाङका अध्यक्ष चन्द्रबहादुर थापामगरलगायतले मन्तव्य राख्नुभएको थियो । सो गोष्ठीमा नेपाल मगर सङ्घ केन्द्रीय अनुशासन विभागका संयोजक कर्ण बुढा, नेपाल मगर सङ्घका दाङ जिल्ला इन्चार्ज शीतलाल पुनमगर, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष दिलाराम ओलीलगायत अन्य साहित्यकार र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सो गोष्ठीमा नेपाल मगर लेखक सङ्घ¸ दाङ शाखाले आगामी माघसम्ममा ‘गेमी यम’ पत्रिका प्रकाशन गर्न लागेके जानकारी दिनुका साथै सोका लागि लेखरचना पठाउनु हुनसमेत अनुरोध गरिएको थियो ।

समाचार तथा तस्वीरहरूः केशव स्थापित घर्तीमगरको फेसबुकबाट

TAGS: समाचार