गेथाती

कविता : एउटा बाको आँखामा सन्तान

याम मगर ‘नौलोदीप’
२२ भाद्र २०८३, सोमबार

मेरो युगको समयले आफ्नै छातीमा
निर्मम प्रहार गरेपछि मुलायम फूलहरूले
सहन नसकेर बहुलाए
छुटेपछि जीवनको लय मबाट
गुन्जिदैन कुनै मधुर झन्कार सारङ्गीबाट ।

थिएनन् आफ्ना लागि कुनै उद्देश्यहरू
छैनन् बिहानी बोकेर आउने रुमानी रहर
बनाउनु छैन कुनै नयाँ गन्तव्य ।

विश्वासको पहाड उक्लेर
सुनाएथेँ दुनियाँलाई घाम हुनुको अहम
गर्व थियो कि
जिन्दगी नओइलिन्जेल पर्दैन छायाहरू
मनाएको थिए उत्सव अरूलाई बिझ्ने गरी ।

समयको घुम्तीमा आइपुगेपछि
अपाङ्ग भए जीवनको वैशाखीहरू
भाचिँदै गए सपनाहरूको धरोहर
थिचिए विश्वासका अग्ला पहाडहरू
छुटेको छ मुटुबाट एक चोइटो रगतको निशानी ।

मैले जन्माएको भविष्यको भाग्यरेखामा
लागेको रहेछ छुन नमिल्ने खोलाको दुई किनारमा बसेको मौनहृदय
हुर्काएको रहेछु आफ्नै बाको भरोसा
मेटाउन सक्ने विषवृक्ष ।

अहमका गीतहरू सुनाएर नथाकेको म
उठ्नै नसकिने गरी खसेँ अहमबाट
फर्केर नहेरी हिँडिरहने म
धर्मराएर बिर्सिए आफ्नै जिन्दगीको आयु ।

जति क्रूर यातनाको कोर्राले हिर्काए पनि
बानी परेको छ अञ्जुलीमा माया पोखाउन
कयौँ दुखाइको समयले पछ्याए नि
मुस्कुराहट्को हृदयले छर्दैछु रङ्गीन फूलबारी ।

दुःखका गाउँबाट झरेर मेरो सामुन्ने
मुस्कुराइरहने खुशीका उचाइहरू
खोजेर हिँडिरहेछ भरोसाका मुलखाबा अझै
कुरिरहेछ्न् कुनै दिन फर्किने आश
बोकेर आँखाभरि छटपटी ।

अब एक पटक
सिकाउनु छ जिन्दगीको साधी सिमाना
बोकाउनु छ ईश्वर अटाउन सक्ने छाती
चिनाउनु छ आफ्ना र पराइको अर्थ
बुझाउनु छ समयले टिपेर ल्याएको कथाको अन्त्य ।
०००