हप्ता दिन भयो घरबेटीहरू झगडा गरेर नबोलेको । बोले पनि झगडाले मात्र । शिक्षक शिक्षिकाको घर । भए पनि सधैँ कलह । कलहको बिज रोप्ने मदिरा नै सेवन गरेपछि त्यस्तो हुने नै भयो । सधैँ झगडा । सधैँ लछारपछार । सधैँ कोलाहल । अशिक्षित र असभ्य घर स्तो । मसानघात नै भनौँ । यसपालि कलहले भने अलि लामै रूप लियो । कहिले बञ्चरो हानाहान । कहिले खुकुरी हानाहान । कहिले खुर्पा । कहिले दाउरा । जे भेटियो त्यसैको प्रहार । बर र मैले छुटाउने र झगडा मिलाउने मै ठिक्क । हाम्रो त नित्यकर्म बनिसकेको थियो । मानौ उनीहरूको लागि हामी दुई न्याय निशाव मिलाउने भद्र भलादमी । अदालतमा मानिएको ठूलो न्यायदेश ।
एउटा शिक्षित घर पढाइमा राम्रै होस् भनेर डेरा बसेको हामी । तर, सोचेकोभन्दा बेग्लै भयो परिवेश । हाम्रो चाहनाविपरीत उभियो हाम्रो चाहनाको पनि चाहना । एक त हाम्रो डेरा माओवादीहरूको हर सामग्रीहरूको गोदाम भइसकेको थियो । भने हरेक दिन माओवादी कार्यकर्ताहरूलाई सुत्न ठाउँ दिनुपर्थ्यौ । इन्द्र घर्तीमगर भन्ने त्यतिखेरको विद्यार्थी जिल्ला सदस्यसँग त फुर्सदको समय ब्यानर लेख्दैमा दिन बित्थ्यो । तर, त्यतिखेरै ब्यानर लेख्ने काम सिक्ने अवसर मिल्यो । माओवादी धेरै नेताहरूसँग सुतियो । उठबस गरियो । व्यवहारले कोही असाध्यै राम्रा थिए । कोही त बोरामा राखेर खोलामा फाल्ने जस्ता थिए ।
आफ्नो गाउँमा विद्यार्थीको एरिया सदस्यलाई अस्वीकार गरेको मान्छे । नचाहेरै कलाकार परिवारमा पनि केही महिना ढौडिएको थिएँ । त्यही कार्यदेखि पन्छिन खोज्ने मलाई त्यही ठाउँको विद्यार्थी मूल समितिको सचिव बेराइदियो । एक घरपेटीहरूको हरेक दिनको झगडा । अर्कोतिर वाध्यताले माओवादी कार्य र गतिविधीहरूमा सरिक हुनुपर्ने अवस्था । दुईतिरको चेपेटाले हामी कति आहात भएका थियौँ भन्ने कुरा त त्यतिखेरै पढाइ छोडेर शहर पढ्न जाने निर्णय गरिसकेको थिएँ ।
हरेक पटकको झगडा मत्थर पार्ने हामी । त्यसपालि भने हारै खाइसकेको थियौँ । कुनै उपाय सुल्झाउन सकिरहेको थिएनौँ । उपाय थियो त लड्दा छुटाउने काम मात्र । त्यसमा पनि साथी अलि चलाख नै थियो । जहिले पनि मास्टरलाई समाउन जान्थ्यो । मेरो भागमा उही मास्टरको मास्टर्नी पर्थ्यो । झगडा थामथुम पारेर कोठा गएपछि साथीले मलाई गिज्याउने र जिस्काउने गर्दथ्यो । मास्टरको जार । मास्टर्नीलाई समाउने । के हो के भनेर । मेरो रिस खुब उठ्थ्यो त्यतिबेला । अनि फेरि हाम्रो अलगै झगडा हुन्थ्यो कोठामा । तर, हरेक समस्याको समाधान सुल्झाउनेमा भने अगाडि नै थियौँ । साथीको कुरामा र्याङको ठ्याङ मिलाउनेमा म पनि सिपालु थिएँ । बहस र झगडा गर्नेमा हामी दुई मिलेपछि सबैभन्दा अब्बल नै हुन्थ्यौँ । समस्याको समाधान गर्न सधैँ उपायहरू खोजिरहन्थ्यौँ । त्यसपालिको हार खानै लागेको झगडा मिलाउने कामको जुक्ति खोज्दै थियौँ । तर, अरु दिनको भन्दा बेग्लै उपाय पो लगाउने भयौँ । मेरो एउटा कलाको सदुपयोगले । जो साथीको नसोचेकै उपाय थियो ।
लाग्छ भदौ महिना थियो । किनकि यमधारा भन्ने ठाउँबाट आलु खनेर आएको थियौँ । एकएक भारीका आलुकासाथ । मास्टर मास्टर्नी आआफ्नै सुरमा थिए । दिउँसो कहाँ गए ? केके गरे ? त्यो त थाहा भएन ? हामी आउँदा मास्टर्नी सुटेकी थिइन । मास्टरले भान्सा बनाउँदै थियो । त्यही दिनको छाक आलु पकाएरै तारियो । र, थाकेको ज्यान सुत्ने तरखरमा लाग्दैथियौँ । फेरि उनीहरूको गाड्याङगुडुङसहितको झगडा सुरु भयो । नजाऊभन्दा मास्टर्नी साह्रै बैमानी । जे पायो त्यसैले हान्ने । जे आयो त्यही बोल्ने । लाजसरमै नभएको । मास्टरले फेरि केही नभन्ने । हामी नहुँदा गर्थ्यो कि ? तर, हाम्रो अगाडि निर्दोष नै हुन्थ्यो । खाली हामी पुग्दा मास्टर्नीले यस्तो गरी हान्यो । यसरी पछार्यो । यसैगरी लटार्यो । यस्तो गर्यो । उस्तो गर्यो भनेर प्रयोगसहित मास्टरलाई जे पायो त्यसैले हान्थ्यो । मास्टर भने अवाक्क भएर बस्थ्यो । केही नगरेको बताउँथ्यो । तर, झगडाको कारण भने छुटाउन सकेका थिएनौँ । सायद दुबैले मदिरा खाने भएर होला ? बाध्यताले गयौँ । जसोतसो झगडा साम्य पार्यौँ । देराभाराका पनि आए । सबैसँग मिलेर मास्टरलाई उपल्लो तालमा लग्यौँ । र, मास्टर्नीलाई उसको छोरासँगै भुँइतलामै सुटायौँ ।
हाम्रो योजना र प्रयास मास्टर र मास्टर्नीलाई जसरी पनि बोल्न पठाउने हो । तर, झगडाबाटै बोले । दिउँसो प्रयोग गर्ने भनेको हाम्रो उपाय प्रयोग गर्न पाएनौँ । सायद नबोलेको भए गर्ने थियौँ ।
कोठामा गएको करिब दश मिनेटपछि बर आयो । मेरो उट्पट्याङ गर्ने बानी । कामेको नाटक गरिरहेको थिएँ । ऊ त फर्केर गयो । मास्टर मास्टर्नीलाई चिच्याई चिच्याई म कामेको खबर गर्यो । छरछिमेकले पनि सुने । एकैछिनमा मास्टर्नी आइन् । छरछिमेकका पनि आए । अब परेन मलाई फसाद ? तिनीहरूको अगाडि काम्नै पर्यो । देख्लान् भनेर सिरक ओडेँ । पिर्कामा आड राखेर काम्न सजिलो पारेँ । भित्रभित्रै हातले पलङको डण्डीमा अडेस लाएर सजिलो पारेँ । जसले गर्दा काम्दा अझै सजिलो भइरहेको थियो । कसैले थाहा नपाओस् भनेर सजकता खुबै अपनाएँ । तिघ्रा पात्यो । घुँडा साह्रै कतकती भयो । जबरजस्ती काम्ने काम कहाँ पो सजिलो होला र ? पसिना पनि कलकल आयो । ज्यान लखरान्न भयो । तर, कामेकै छु । कामेकै छु । साथीको बठ्याइँमा दुःख पाइरहेको थिएँ । उसको नियतै अरुलाई दुःख दिनुथियो । मास्टर मास्टर्नीको कान्छो छोरालाई फकाई फुल्याई सधैँ दुःख दिन्थ्यो मलाई । बच्चाबच्ची र बुढापाकालाई फकाउन जान्ने सीप असाध्यै भएको ऊ । सबैसामू मज्जाले दियो कस्ट । मन मनै खुबै सरापेँ । तर, के गर्नु त्यति मान्छेको अगाडि काम्नै पर्यो ?
सञ्चो हुने तरखर देखेनन् मेरो । मास्टर मास्टर्नी पनि आपसमा बोल्न लागे । कोही झाँक्री बोलाउन गए । कोही आफूले सक्दो तन्तरमन्तर गर्न लागे । सबैले के भयो के भयो भनेर मलाई सोधिरहेका थिए । कोहीले साथीलाई सोधिरहेका थिए । म भने केही नबोलेर आफ्नो कष्ट गरिरहेको हुन्छु । कति कष्ट हुँदैथियो भन्ने त मलाई पो थाहा थियो ? साथीले भने नभएको बाहना कुरा गरेर सबैलाई थामथुम पारिरहेको थियो । सबैले आआफ्नो प्रयास र अड्कलहरू थपिरहेका थिए । म भने साह्रै कष्ट पाए पनि भित्रभित्रै हाँसिरहेको थिएँ ।
मास्टर्नी बैमानी भए पनि दयालु छिन् । अरुको दुःख पीडामा बहकिन्छिन् । अरुको दुःखलाई आफ्नो दुःख सम्झिन्छ । सहयोगी छिन् । परेको बेला सहयोग गर्छिन् अरूलाई । सञ्चो नहुने जस्तो लाग्यो होला उनलाई ? के भयो छोरा ? के भयो तिमीलाई ? भनेर मलाई सुम्सुम्याउँदै रुन पो लागिन् । त्यतिबेला उनको मिठो स्पर्श र रुवाइमा मातृत्व पाएँ । अघाध माया पाएँ । करुणसहित ममता पाएँ । फेरि कमलो मेरो मन । अरु रोए । बहकिए । उनीहरूसँगै बहकिन्छु र रुन्छु । त्यस्तै भयो । मन थाम्न सकेनँ । म पनि रोइदिएँ उनैसँगै । घुक्क । घुक्क । हिक्क । हिक्क । झन् म कामेको सबैले पत्याए । सबैले मन अमिलो पारे । सान्तवना दिन लागे आआफ्नै किसिमले । मन नराम्रो बनाउन लागे मेरो स्थिति हेरेर । तर, रोए पनि काम्न भने छोडेको थिएन ।
काम्नेसँगै रुने काम पनि थपियो । काम्ने नक्कली भए पनि रुने कामचाहिँ सक्कली नै भइरह्यो । झाँक्री पनि आयो । कोही सुनपानी गर्न लागे । कसैले मेरो कपालभरि धजा झुण्डाउन थाले । झाँक्रीले पनि आफ्नो काम गर्न थाल्यो । मन्तर्दैँ खरानी फुक्न थाल्यो । अक्षेता जप्न लाग्यो । मेरो नारी छाम्दै मैलो हेर्यो । अन्तमा निष्कर्ष निकाल्यो । “खोलामा बगेर मरेको झाँक्रीको सेवरे लागेको छ । खरानी फुक्दिन्छु ।” सबैले अनुमान गर्न लागे । “यमधाराबाट आउँदा रुजीखोलामा बगेको झाँक्री लागेको होला ?” सबैले होमा हो थपे । झाँक्रीको निष्कर्षमा सबैले आआफ्नो थम्याइँ प्रस्तुत गरे ।
काम्न कम गर्दै लगेँ । ज्यान साह्रै गलेको थियो । तिर्खा पनि बेस्सरी लागेको थियो । झाँक्रीले अक्षेता मेरो शरीरमा छर्किदियो । खरानी फुक्दै छत् छत् गर्दै मेरो मुखमा पनि राखिदियो । त्यतिबेला ह्यवो चुकिलो भनेर मुख बिगारेँ । तब मेरो अवस्थादेखि चिन्तित सबै जना गललल हाँसे । पानी मागेँ । सुस्तसुस्त कामेको स्वाङ पार्दै पानी पिएँ । अन्तमा कहिले काम्ने कहिले नकाम्ने गरेर सञ्चो भइदिएँ । झाँक्रीको झारफुक लाग्यो । निष्कर्ष सत्य भयो । दिउँसोभरि आलु खनेर । आउँदा आलुकै भारी बोकेर । त्यसमाथि ख्याल गर्दा साथीको कारणले सबैको अगाडि बाध्यताले कामेर थाकेको ज्यान पल्टिएँ । सबै आआफ्नो घर गए । मास्टर र मास्टर्नी पनि मिलेर सुत्न गए ।
बिहान उठ्नै गाह्रो भयो । थला परेको ज्यान । त्यसमाथि साँप्रा साँप्रामा मासु डल्ला परेर साह्रै दुखिरहेको थियो । नशा र जोर्नीहरूको त कुरै नगरौँ । अबेरसम्म सुतेँ । कहिल्यै भान्सा नछुने साथीले खाना पकायो । खाना खान उठेँ । गाली गरेँ साथीलाई । “मुला तैँले गर्दा कत्रो दुःख पाइयो । कस्तो ज्यान दुखेको छ । साँप्रामा डल्ला परेको छ । नशा र जोर्नी साह्रै दुखिरहेको छ ।” उसले झन हाँसेर जिस्काउन लाग्यो । “हा हा हा हो र ? माने बड्डा माने । काम्न त कामिस् नि मज्जाले ? हैन किन रोएको नि फेरि त्यसरी ? कि मास्टर्नी……।” फेरि हाम्रो सधैँ झैँ गोप्य झगडा भयो । र, शान्त भयौँ । तैँ चुप । मै चुप ।
केही नभएको जस्तो गरेर विद्यालय गएँ । बाध्यताले कक्षामा बस्ने भयो । पढ्न जाँगरै लागेन । सबैको नजर मैमाथि भएको जस्तो लाग्यो । बाहिर निस्केर चौरमा सुत्न गएँ । झाँक्री बा । झाँक्री बा । जिस्काउन थाले बाहिर बसेकाहरूले । नसुती फर्केर कक्षाभित्र पसेँ । भित्रबाट पनि जिस्काउन लागे । झाँक्री बा । झाँक्री बा ।
०००
