यमराजले मलाई सोध्यो¸ ‘तिमी जन्मिँदा के लिएर आएको थियौ ?’
मैले भनेँ¸ ‘मृत्यु ।’
फेरि सोध्यो¸ ‘तिमी जन्मिनेबेला वरिपरि को को थिए ?’
मैले भनेँ¸ ‘मृत्यु लिएर आएकाहरू ।’
फेरि सोध्यो¸ ‘तिमी मर्नेबेला तिम्रो वरिपरि को को थिए ?’
मैले भनेँ¸ ‘मृत्यु पर्खेर बसेकाहरु !’
फेरि पनि सोध्यो¸ ‘तिमीले संसार जित्यौ ?’
मैले भनेँ¸ ‘संसार त जितेँ तर म जन्मिँदा लिएर आएको मृत्युसँग हार्नुपर्यो !’
अझै सोध्यो¸ ‘तिमी मर्दा के छोडेर जान्छौ ?’
मैले भनेँ¸ ‘म जन्मिँदा लिएर आएको मृत्युबाहेक सबै छोडेर जान्छु !!’
यमराजले भन्यो¸ ‘तिमी अमर भयौ ।’
०००
रुकुमपूर्व
