मुक्तक – एक
काम गर्नेहरूको भेला सुन्दर देखिन्छ
पसिना झरिरहेको बेला सुन्दर देखिन्छ
हातमा बुट्टाले कुदिरहेका मेहन्दीभन्दा
परिश्रमले उठेका ठेला सुन्दर देखिन्छ ।
मुक्तक – दुई
भन्न त सायद नभन्लान् कसैले आँखामा राख्छु
तर म भिन्न छु र भन्छु मैले आँखामा राख्छु
प्रेमिका भनी तिमीलाई मुटुमा राख्नुअघि
म परीक्षणको लागि पै’ले आँखामा राख्छु ।
मुक्तक – तीन
आफ्नै साथीभाइ अनि मित्र देखेर
आजकालका केटीको चरित्र देखेर
म नै घरिघरि अचम्ममा पर्ने गर्छु
बाहिर एउटा अनि अर्को भित्र देखेर
मुक्तक – चार
तिमी नहुँदा यो घर घरजस्तो लाग्दैन
तिमीबिनाको रहर रहरजस्तो लाग्दैन
तिम्रो नामको पछाडि झुड्याउन नपाउँदा
यो मनोजको मगर थर थरजस्तो लाग्दैन ।
मुक्तक – पाँच
यो साधा जिन्दगी फेरि रङ्गिनसक्छ भनेर
नसम्झिने मान्छेले पनि सम्झिनसक्छ भनेर
मनको मान्छे बिर्सिदे भन्छ दिमागले
दिलले बिर्सिनै मान्दैन फर्किनसक्छ भनेर ।
मुक्तक – छ
दु:ख पेरेको बेला पीर परेको बेला
तिमी फुल्नू प्रिया म झरेको बेला
जोसँग भए पनि खुसी हुनु सधैँभरि
बिन्ती आँसु नझार्नू म मरेको बेला ।
०००
तुलसीपुर, दाङ
