सुनेको थिएँ,
हरेक मनमा खुशी रोपेर
ओठहरूमा मुस्कान फुलाउँछ, पोखराले ।
त्यस्तै सुनेकै छु,
आफ्नो रूपरङ्गको चिप्लेटिमा
फेवाताललाई छात्ती खोल्न लगाई
अङ्ग प्रदर्शनसँगै सेचन गर्ने माछापुच्छ्रेले
मनोरोगीहरूको नजरबाट मन खिचेर
आफ्नो फेवातालसँगको गहिरो प्रेममा चुर्लुम्म डुबाई
प्रेमरोगीजस्तो पटकपटक भेट्न बाध्य गराउँछ
सारा पीरव्यथाको भारी बिसाएर, पोखरामै ।
तर,
मलाई त्यस्तो गर्ने सामर्थ्य रहेन, पोखरासँग ।
सुनेको जस्तै,
प्रेमिकासँग क्षणिक पन्छी बन्न
जुराइदिएन सराङकोटसँग ।
मुटु ओकेलेर
मायालुको हातमा थमाइदिने
अवसर दिएन चाइनिज गुम्बासँग ।
प्रेममा भएको पागलपना
प्रदर्शन गर्न दिएन कति
सरू भक्तको पागलबस्तीसँग ।
बरू,
सेतीजस्तै लुकेर हिँड्ने कर पो लगायो, पोखराले त ।
अझ,
सम्बन्ध पनि नौ डाँडै पो बनायो ।
महेन्द्रगुफा, रूपाताल, सिक्लेस, लुम्ले
……….नामका सपनाहरू
उच्चारण गर्नै सकिनँ,
उफ ! त्यो पोखराले ।
सायद,
मलाई नबुझ्ने मेरी प्रेमिका
अनि,
त्यसको मायामा अधिक मेरो पागलपना
सबै देखेर लाज पो मान्यो कि ?
कि उसको मायालुले बुझ्न सकेन… कतै पोखरालाई पनि ?
र,
मेरो मनमा खुशी रोपेर
ओठमा मुस्कान फुलाउन सकेन, पोखराले ।
खाली,
तनावको पछ्यौरीले धाकिएर
प्रतिस्पर्धा गरिरह्यो मैसँगै,
रुन्चे पोखरा…… ।
०००
